तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने मन्त्री श्रेष्ठको चेतावनी

डिसी नेपाल
१८ वैशाख २०८१ १६:१५

सिन्धुपाल्चोक। बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे नेपाल सरकारविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

मंगलबार सिन्धुपाल्चोकस्थित पाँचपोखरी थाङ्पाल प्रहरी चौकी भवनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्।

नेपालको संविधानले प्रदेशको शान्ति सुरक्षाको जिम्मेवारी स्पष्ट रूपमा प्रदेश सरकारलाई दिएको उल्लेख गर्दै उनले प्रहरी समायोजन हुन नसक्दा प्रदेशको शान्ति, सुरक्षामा समस्या आउनसक्ने बताए। मन्त्री श्रेष्ठले तुरुन्तै प्रहरी समायोजन नगरे संविधान कार्यान्वयन गर्न नेपाल सरकारविरुद्ध सबै प्रदेश एकताबद्ध भएर कानुनी उपचार खोज्ने चेतावनी दिए ।

मन्त्री श्रेष्ठले सेवाग्राहीलाई सेवा प्रवाह गर्दा सकारात्मक विभेदको नीति अनुशरण गर्न नेपाल प्रहरीलाई आग्रह गरे । उनले मातृभाषा प्रयोगकर्ता सेवाग्राहीलाई सकेसम्म सेवाग्राहीकै भाषामा सेवा प्रदान गर्न पनि निर्देशन दिए ।

उनले ‘सय अपराधी छुटोस् तर एकजना पनि निर्दोष व्यक्ति नपरोस्’ भन्ने मान्यतालाई गहिरो रूपमा आत्मसात गर्दै काम गर्न आग्रह गरे । उनले ठोस तथ्य, प्रमाणको आधारमा मानव अधिकारको पूर्ण संरक्षण हुनेगरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले स्रोत, साधन, प्रबिधिको सीमितताको बाबजुद पनि प्रहरी शान्ति, सुरक्षा र विपद्लगायतका आपतकालीन अवस्थामा नागरिकको भरपर्दो साथी बनेको बताए । उनले प्रहरीलाई भविष्यमा सक्षम, सुदृढ, जनमैत्री र प्रविधिमैत्री बनाउन बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले ७२ वटा प्रहरी इकाइ भवन निर्माण सुरु गरेको जानकारी दिए । जसमध्ये ६२ वटा निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको र १० वटा निर्माणाधीन रहेको उनले बताए । उनले प्रहरी इकाई भवन निर्माणमा प्रदेश सरकारले ३ अर्व ४७ करोड २२ लाख लगानी गरेको पनि जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *