फेरि फुट्यो जसपा, पहिचानवादी मोर्चा घोषणा

डिसी नेपाल
२७ वैशाख २०८१ १८:२०

काठमाडौं। जनता समाजवादी पार्टी, नेपाल फेरि फुटेको छ। संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरुले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेका हुन्।

बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी उनीहरुले जसपा नेपाल परित्याग गरी पहिचानवादी मोर्चा घोषणा गरेको जनाकारी दिएका हुन्। उनीहरुले प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा घोषणा गरेका छन्।

पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरु पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको उनीहरुको आरोप छ। सत्ताको खेलका कारण नै अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको उनीहरुको निष्कर्ष छ।

आगामी दिनमा दलहरूको विकल्प, देशभक्त तथा राष्ट्रवादी, जनताको विकास र समृद्धिको पक्षधर राजनीतिक शक्ति निर्माण, सबै समुदायको पहिचानको स्थापना, वर्गीय मुक्ति, समानुपातिक प्रणाली, धर्मनिरपेक्षता, विधिको शासन स्थापना र भ्रष्टाचार नियन्त्रण गर्दै देशलाई संवृद्धि पथतर्फ डोर्‍याउने मोर्चाको लक्ष्य रहेको छ।

पहिचानका मुद्दालाई सशक्त बनाउन, विभिन्न समूहमा अलग–अलग रही काम गरिरहेका पहिचानवादी दल तथा शक्ति, संगठन, अभियन्ता तथा व्यक्तित्वहरू सबैलाई नयाँ शिराबाट एकताबद्ध भई अघि बढ्न पनि मोर्चाले आह्वान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *