काशी जानु कुतीको बाटो

कृष्ण बोहरा
६ जेठ २०८१ ७:२९

कुनै जमाना यस्तो थियो जुन बेला मानिसहरू मदन भण्डारीको भाषण सुन्न एकदमै आतुर हुन्थे। जुनसुकै विचार राख्ने मानिसहरू पनि उनको भाषणप्रति आकर्षित थिए। उनको भाषणमा निरंकुशताप्रति लक्षित व्यंग्यवाण थियो।

देश र जनताप्रति सन्तुलित र सौम्य वाणीहरूले भरिएको हुन्थ्यो। यसैले लाखौ मानिसहरूलाई एकैपटक कन्भिन्स गर्नसक्ने ताकत उनको भाषणले राख्दथ्यो। बहुदलीय जनवाद उनको मौलिक दर्शन हो भने उनको भाषण शैली यसको गहना थियो। निजी वा सार्वजनिक जुनसुकै गाडीमा पनि गीतको सट्टा मदनको भाषणको चक्का सुन्न पाइन्थ्यो।

बहुदलीय जनवाद नेपालको सन्दर्भमा एउटा मौलिक दर्शन हो। जसरी लेनिनले पुँजीवादको उच्चतम रूप साम्राज्यवाद हो भनी व्याख्या गरे। विश्वका केही देशहरू र कुनै एउटा मात्र देशमा पनि समाजवाद स्थापित गर्न सकिन्छ भनी मार्क्सवादको नयाँ व्याख्या दिए। त्यतिखेरको समयमा लेनिनले सोभियत संंघमा आफ्नो नेतृत्वमा समाजवाद स्थापना गरेर देखाएका थिए।

यसभन्दा अघि संसारको एउटा मात्र देशमा समाजवाद स्थापना हुँदैन भन्ने मान्यता थियो। यसको कारण पेरिस कम्यून ७२ दिनभन्दा बढी टिक्न नसकेको विगतको अनुभव नै हो। यसैगरी अर्ध सामन्ती र अर्धऔपनिबेसिक सामाजिक अवस्था भएका देशहरूमा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओले क्रान्तिको नयाँ मोडेल अगाडि सारे।

अध्यक्ष माओले दीर्घकालीन जनयुद्धको माध्यमबाट राष्ट्रिय पुँजीपति वर्ग, किसान र मजदुरको सत्ताको रूपमा सत्ता स्थापना गरेर नौलो जनवादको नाम दिए। यो माक्र्सवादी क्रान्तिको चिनियाँ मोडेल थियो। विकासोन्मुख देशहरूमा क्रान्तिको नयाँ नमुनाका रूपमा नौलो जनवादी मोडेल स्थापित पनि भएको हो।

संंसार परिवर्तनशील छ। यो विज्ञानले स्वीकारेको तथ्य हो। मार्क्सवादले पनि यो कुरालाई आत्मसात गरेको छ। संसारमा बस्तु तथा घटनाहरू सधैँ परिवर्तन भइरहन्छन्।

सन् १९८० को दशकदेखि नै कम्युनिस्ट शासन ओरालो लाग्न सुरु भइरहेको थियो। सोभियत संघ र पूर्वी युरोपका देशहरूमा जनताहरू कम्युनिस्ट शासकहरूबाट आजित भइरहेका थिए। कारण थियो एक दलीयता र शासकको निरंकुशता।

कम्युनिस्ट शासकहरूमा पनि घमण्डता बढेको थियो। एउटै व्यक्तिको लामो शासन। जनताका मौलिक हकहरूमा संकट। निरंकुशता हाबी भएको थियो। सारा सम्पत्ति राज्यको नाममा थियो। राज्य सञ्चालकहरू सधैँ शासकीय ठाँटबाँटमा हुन्थे।

जनता शासितको रूपमा लत्रिएका थिए। सोभियत संघमा एक पाउन्ड पाउरोटी किन्न घण्टौँ लाइनमा बस्नु पर्दथ्यो। शासकहरू युद्ध सामग्री र हेबी मेसिनहरू बनाउन व्यस्त रहन्थे। यसैले सोभियत संघमा र पूर्वी युरोपका देशहरूमा समाजवादी सत्ता एकपछि अर्को गरेर ढलिरहेको थियो।

यसबखत संसारमा कम्युनिज्मप्रति वितृष्णा छाइरहेको थियो। संसारभरी कम्युनिस्ट सत्ता संकटमा रहेको बेला नेपालमा मदन भण्डारीको नेतृत्वमा नेकपा एमाले उदाउँदो सूर्यको रूपमा स्थापित भइरहेको थियो।

सिंगो पश्चिमा जगत र भारतीय शासकको यसैले निदहराम भएकै थियो। मदन भण्डारीको एउटै कुरा ‘साम्राज्यवादी शोषण, दलाल नोकरसाही पुँजीवाद र सामन्तवाद रहिरह्यो भने एक जना राजा रहने र नरहने कुराले नेपाली जनताको भाग्य र भविष्यमा केही फरक पर्दैन।’

यो कुराले अहिले पनि हाम्रो मनमनमा छोएको छ। राजा फालिए तर शोषण जिउँकातिउँ रह्यो। एउटा राजाको ठाउँमा संघीयताको नाममा नयाँ छोटे राजाहरूको जन्म भएको छ। महँगी, भ्रष्टाचार र घुसखोरीले जनता अक्रान्त छन्। यसले जनतामा वितृष्णताको जन्म भएको छ।

यति धेरै जनतालाई आकर्षित गर्ने, संसारलाई तत्कालीन समयमा प्रभाव पार्नसक्ने मदन भण्डारीको बहुदलीय जनवादमा आखिर के तत्व थियो त्यस्तो? बहुदलीयता र प्रजातन्त्र जस्ता शब्द पश्चिमा जगतमा लोकप्रिय बनिरहेको थियो।

पूर्वी युरोप र सोभियत संघमा देखिएका कम्युनिस्टप्रतिको वितृष्णा र गलत पक्षलाई सच्याउन मदनले बहुदलीय शब्द राखे। माओले प्रयोग गरेको जनवाद शब्द पनि समावेश गर्दा बहुदलीय जनवाद हुन गयो। यो सिर्फ शब्दहरूको संयोजन मात्र थिएन।

यसभित्र सारभूत कुराहरू थिए र छन्। जनवाद नै बहुदलीय जनवादको गुदी हो। जनवाद शब्दले यकातिर लोकतन्त्रलाई बुझाउँछ भने जनताका मौलिक हक र अधिकारहरू यसभित्रै सुरक्षित हुन्छन्। बहुदलीय शब्दले कम्युनिस्टहरू निरंकुश हुन्छन् भन्ने अफवालाई चिर्न सफल भएको छ।

हुन त बहुदलीय जनवादको जन्मकालमै यसको केहीले विरोध गरेकै थिए। जति विरोध गरे पनि मदन भण्डारीको देहावसान भइसकेपछि पनि विरोध गर्नेले कम्युनिस्ट आन्दोलनलाई थप ऊर्जा दिन नसकेको कुरा घामजतिकै प्रष्ट छ।

बहुदलीय जनवादका केही गुदी तत्वहरू

-१ बहुदलीय जनवादले साम्राज्यवादी शोषण उत्पीडन र दलाल नोकरशाही पुँजीवादी शोषणलाई समाप्त पार्ने भनेको छ। तर हाम्रा कामरेडहरूको उठबस तस्करहरू, देशका संरचनाहरू बिगारी नाफा निकाल्ने बदमास ठेकेदारहरूसँग बढी हुन्छ।

भ्रष्टाचारी र घुसखोरीमा बदनामी कमाएका कर्मचारीसँग शीर्ष नेतृत्वको सौहार्दपूर्ण सम्बन्ध रहेको हुन्छ । आफ्नो सरकार हुदा यस्ता बेइमानहरूलाई कहिल्यै पनि कार्यबाही भएको जानकारीमा छैन।

कसरी बहुदलीय जनवाद व्यवहारमा आयो त? यो सिद्धान्त अनुसारको व्यवस्था कहिले आउने हो? के स्व.मदन भण्डारीले बहुदलीय जनवादको प्रतिवादन आजका नेताहरूलाई मागी खाने भाँडो बनाएर छोडेका हुन्? सोचनीय विषय छ।

-२ बहुदलीय जनवादले पुँजीवादी औद्योगिक क्रान्ति गर्नै बाँकी छ भनेको छ। देशको औद्योगीकरण र समाजको प्रर्याप्त भौतिक विकासविना योग्यता अनुसार काम र काम अनुसारको दाम दिने समाजवादी समाज निर्माण गर्न सकिन्न।

त्यसकारण अहिले राष्ट्रिय पुँजी र औद्योगिक विकास सुनिश्चित गर्ने पहिलो र अनिवार्य काम हो भनेको छ। भएका उद्योगहरू विपक्षले बेचेर भ्याइसकिएको छ। अब उद्योगहरू कहिलेबाट खोल्न थाल्ने त?  कुनै कार्ययोजना छ?

-३ अन्तर्राष्ट्रिय सम्बन्धहरू पञ्चशीलको सिद्धान्तको आधारमा पारस्पारिक लाभको आधारमा गरिने भनिएको छ। सम्बन्धहरू राष्ट्रिय स्वार्थलाई समेत ध्यान नदिई हुन थालेका छन् । खै त यसमा प्रतिक्रिया ? पुनः सत्तामा जाने मात्रको नियत राखी गरिने तछाडमछाडले राष्ट्रको हितको प्रवर्धन गर्दैन ।

-४ नेपालको क्रान्ति र निर्माणलाई बाटो देखाउने सिद्धान्त मार्क्सवाद लेनिनवाद हो। नेकपा एमाले माक्र्सवाद लेनिनवादको वैज्ञानिक विचार प्रणालीलाई मागदर्शक सिद्धान्त मान्छ भनेको छ। खोई कहाँ देखिन्छ यस्तो विचार मूल्य मान्यता?

हाम्रा माथिदेखि तलसम्मका कामरेडहरूमा। मन्त्री, प्रधानमन्त्री हुने काठमाडौंमा विना व्यापार उद्योगधन्दा, विना परिश्रम महल ठड्याउने। आराम र मोजमस्तीको जीवन जीउने । देशका लागि मुस्किलैले केही गर्ने मात्र त माक्र्सवादी मूल्य मान्यता त पक्कै होइन होला नि?

हुन त समय मदन भण्डारीपछि निकै अगाडि बढिसकेको छ। विज्ञान प्रविधिले फड्को मारेको छ। संसारमा उत्पादक शक्ति र उत्पादन सम्बन्धमा नै फेरबदल आइरहेको छ। अझै माक्र्सवादमा नयाँ आयाम थपेर जानुपर्ने अवस्था छ।

तैपनि पार्टी मदन भण्डारीले अगाडि सारेको बाटोमा पनि हिँड्न नसकेको देखिन्छ। यदि यी बहुदलीय जनवादका गुदी तत्वलाई नमान्ने हो भने सोभियत संघ र पूर्वी युरोपमा कम्युनिस्ट सत्ता र सरकारहरूको पतन भएजस्तै नेपालमा पनि कम्युनिस्टप्रति जनतामा अनास्था आउने पक्का छ। त्यो देखिँदै पनि छ।

पछुताएर मात्र हुँदैन। मूर्धन्य राजनेता मनमोहन अधिकारीले बनाइदिएको बिरासत गाएर मात्र त सधैँ पक्कै नपुग्ला नि ? समयसँगै जनताका मागहरू पनि पक्कै बढेर जानेछ। सिद्धान्त विपरीत, पार्टी विधान विपरीत, देशको संविधान ऐनकानुन विपरीत नेतृत्वबाट नै भइरहेको गलत संस्कार र व्यक्तिको गलत रबैयाको विरोध गर्नु आवश्यक छ।

यसो गर्नु पार्टीको विरोध गर्नु, वा विधानको विरोध गर्नु वा देशको संविधान ऐनकानुनको विरोध गर्नु होइन। यो त सही काम गरेको मानिनुपर्ने हो । तर यसो गर्दा उपल्ला नेताको स्वार्थमा धक्का लाग्ने भएकाले यो कुरा मान्न शीर्ष नेतृत्व तयार नहुने पक्का छ। किनकी बुढी मरेको मात्र होइन। काल पल्किसकेको छ। चिन्ता यसैमा छ।

यदि यस्तै स्थिति कायम रहिरह्यो भने समय हामीभन्दा बलवान छ। समयले कसैलाई पर्खेर बस्ने छैन। वैकल्पिक अवस्थाहरू पनि धमाधम विकास भइरहेकै छ। विस्थापित हुनेको ठाउँ लिन नयाँ बस्तुको आगमन हुने नै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *