संसदमा कांग्रेसको अवरोध कायमै, नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

डिसी नेपाल
८ जेठ २०८१ १३:१५

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाही अघि बढ्न नसक्ने जनाउँदै संसद् बैठक अवरोध गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसद बद्री पाण्डेले सहकारी ठगीको छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा सहमति भएर समिति नबनेसम्म संसद् चल्न नसक्ने बताए। “कांग्रेस आफ्नो अडानमा कायम छ। बचतकर्ताको रकम फिर्ता नभएसम्म यो अडान कायम रहन्छ”, उनले भने।

सांसद पाण्डेले सहकारी ठगीसम्बन्धमा सञ्चारमाध्यममा थप नयाँ विषय सार्वजनिक भइरहेका उल्लेख गर्दै गोरखा मिडियाको प्रबन्ध निर्देशक रहेका बेला वर्तमान गृहमन्त्री रवि लामिछानेलगायत अन्य व्यक्तिले विभिन्न सहकारीबाट ठूलो रकम ऋण लिएका र विभिन्न तहबाट त्यसबारेमा छानबिन भइरहेको बताए।

यसैबीच गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाले धन्यवाद प्रस्ताव पारित गरेको छ।

प्रतिनिधि सभाको बैठकमा मर्यादापालकको धकेलाधकेलबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइएको थियो। त्यसपछि कांग्रेस सांसदहरुले अवरोध गर्न खोजेका थिए।

कडा सुरक्षाका बीचमा कांग्रेस सांसदहरुलाई मर्यादापालकले धकेलाधकेल गराउँदै प्रधानमन्त्री दाहाललाई रोष्ट्रममा पुर्‍याएका थिए । प्रधानमन्त्रीले टेबुल गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *