सरकारको नीति तथा कार्यक्रममाथि जेठ ११ गते छलफल हुने

डिसी नेपाल
८ जेठ २०८१ १४:१९

काठमाडाैं। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जेठ ११ गते छलफल हुने भएको छ।

कांग्रेसको विरोधकाबीच बसेको प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न र प्रधानमन्त्रीबाट जवाफ दिनका लागि यही जेठ ११ गतेको दिन तोकेको जानकारी गराएका हुन्।

त्यस्तै बैठकबाट राजनीतिक दलसम्बन्धी संशोधन विधेयक-२०८० लाई फिर्ता गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पेस गर्नुभएको सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा लगानी सहजीकरण सम्बन्धी अध्यादेश पेश गरिएको छ।

यस्तै कांग्रेसको नाराबाजीकै बीच प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद प्रस्ताव पारित गरेको छ। कांग्रेस सांसदले वेलमा नाराबाजी गरिरहेका बेला सभामुख देवराज घिमिरेले राष्ट्रपति पौडेललाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए।

राष्ट्रपतिको सम्बोधनपछि प्रतिनिधिसभाबाट धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण निरन्तर प्रभावित भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक जेठ ११ गते बोलाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *