सदन र सडक आन्दोलनलाई प्रभावकारी बनाउने कांग्रेसको तयारी

केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज

डिसी नेपाल
९ जेठ २०८१ ७:०१

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राससलाई जानकारी दिए।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलगायत हिनामिनामा संलग्न अन्यलाई संसदीय छानबिन समिति गठन गरेर कारबाही गर्नुपर्ने मागका साथ संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

कांग्रेसले देशभरका सहकारी पीडितलाई न्याय दिन संसद्मा जारी संघर्षलाई जनस्तरमा लैजाने तयारी गरेकाे छ। कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितसँगको सहकार्यमा सडक केन्द्रित कार्यक्रम सञ्चालन गर्नेबारे ठोस निर्णय लिनेछ।

प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले देशभरका सहकारीबाट लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना भएको र त्यसमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको आरोप लगाउँदै सदनमा अवरोध गर्दै आएको छ।

कांग्रेसको मागमा विपक्षी दलहरूले समेत ऐक्यबद्धता जनाइसकेका छन्। संसद्मा सत्तापक्ष र सभामुखले पेलेर जाने संकेत गरेपछि कांग्रेसले सहकारी ठगीविरुद्ध पार्टीलाई जनस्तरमा परिचालन गर्न लागेको हो।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेगरी केन्द्रीय पदाधिकारी, सदस्यहरू, प्रदेश सभापति, प्रदेश संसदीय दलका नेता र संघीय संसद्का सदस्यहरूलाई बोलाइएको छ।

कांग्रेसमा सामान्यतः संयुक्त बैठकको अभ्यास नभए पनि सभापति शेरबहादुर देउवाले रणनीतिक रूपमा यस्तो बैठक बोलाएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *