मन्त्रिमण्डल पुनर्गठनको तयारीमा प्रधानमन्त्री, परराष्ट्रमा अञ्जान शाक्यको चर्चा!

डिसी नेपाल
९ जेठ २०८१ १२:४७

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेका छन्।उनले सरकारमा रहेका केही मन्त्रीहरुलाई हटाएर नयाँलाई सामेल गराउने गृहकार्य सुरु गरेका हुन्।

गत फागुन २१ गते सत्ता समीकरण बदलिए पछि वर्तमान मन्त्रिपरिषद्मा सहभागी प्रमुख घटक एमालेले महत्वपूर्ण मन्त्रालय नपाएको चर्चा भइरहँदा प्रधानमन्त्री दाहालले एमाललेलाई महत्वपूर्ण मन्त्रालय दिने तयारी गरेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्रीले केही दिनमै परराष्ट्र, खानेपानी र भूमिसुधार मन्त्री परिवर्तन गर्न लागेका हुन्। उक्त मन्त्रालय सम्हालेका मन्त्रीहरुलाई हटाएर मन्त्रिमण्डलमा नयाँलाई सामेल गराउने प्रधानमन्त्री दाहालको तयारी छ।

हाल परराष्ट्र मन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर उनको स्थानमा एमालेकी अञ्जाल शाक्यलाई ल्याउन लागेको स्रोतले जनाएको छ। शाक्य भर्खरै राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत भएकी हुन्। संखुवासभाकी शाक्य यस अघि इजरायलको राजदूत भइसकेकी हुन्।

परराष्ट्र मामिलामा जानकार मानिने शाक्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा प्रधानमन्त्रीले परराष्ट्र मन्त्री श्रेष्ठलाई हटाएर उनको स्थानमा शाक्यलाई ल्याउने तयारीमा लागेका हुन्।

यस्तै एमालेका खानेपानी मन्त्री राजेन्द्र राई र भूमिसुधार मन्त्री बलराम अधिकारीलाई पनि हटाएर उनको स्थानमा अन्यलाई ल्याउने तयारी भइरहेको छ।

भूमिसुधार मन्त्री अधिकारीकोे स्थानमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र खानेपानी मन्त्री राईको स्थानमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह या आम जनता पार्टीका प्रभु साहलाई ल्याउने तयारीमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतको दाबी छ।

सरकारमा सहभागी हुन इच्छुक रहेका सिंह र साहमध्ये एक जनालाई मन्त्रिमण्डलमा सहभागी गराउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेका छन् । यद्यपि दुई जनामध्ये कसलाई सामेल गराउने भन्ने बारेमा अझै निक्र्योल हुन नसकेको स्रोतले बतायो।

तर, प्रधानमन्त्रीका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले मन्त्रिमण्डल पुनर्गठनको विषयमा प्रधानमन्त्रीले कुनै तयारी नगरेको बताउँछन्।

उनले अहिले यसबारेमा प्रधानमन्त्रीले कुनै तयारी नगरेको दाबी गरे। उनले तत्काल सरकारका मन्त्री फेरबदलको तयारीमा प्रधानमन्त्री नरहेको जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *