प्रेरणाका स्रोत भेलुबाजे

कपिल लोहनी
१२ जेठ २०८१ ७:२९
252
Shares

जीवनमा असल व्यक्तित्व भएर बाँच्ने प्रेरणा पाउन ठूला तथा विद्वान मानिसहरूको अनुशरण गर्नै पर्ने भन्ने पनि कुनै नियम रहेनछ। यदाकदा भेटिने साधारण तथा समाजबाट बहिस्कृत व्यक्तिहरू पनि हाम्रा लागि प्रेरणाका स्रोत हुन सक्दा रहेछन्।

तर प्रेरणाका स्रोतहरू मात्र भएर पनि पुग्दैन। हामीमा हर प्रकारले ज्ञान प्राप्त गर्न सक्ने गुणको विकास हुनुका साथै अहम्कार, क्रोध तथा डाहा गर्ने बानीबाट हामी टाढा रहनु पर्दछ। समग्रमा हामी शान्त, शील तथा चिन्तनशील स्वभावको हुनु जरुरी छ।

हामी साना छँदा हाम्रो टोल हुँदै एक ‘हाँडीघोप्टे’ भनेर चिनिने निकै रिसाहा तथा दिमागी बिरामी जस्तो देखिने तर अति फुर्तिलो मानिस दिनहुँ जसो कतै जाने गर्दथ्यो।

शरीरमा अनेकन प्रकारका झुत्रा र फोहर लुगा र माला लगाएको तथा लामो कपाल भएको र टाउकोमा खाना पकाउने डेक्चीको टोपी लगाएको उसलाई युवा तथा बच्चाहरूले ‘ए हाँडीघोप्टे!’ भनेर सम्बोधन गर्दै जिस्काएर भागेपछि उ रिसले बहुला भएर ती व्यक्तिहरूको पछि पछि दौडन्थ्यो र पक्रन नसकेपछि आफूले लगाएका कपडा फुकालेर फ्याँक्नुका साथै टोप रूपी डेक्ची मिल्काएर लडिबुडी गर्दै आफ्नै हातको मासु टोकेर लुछ्न खोज्दथ्यो।

टोलका बुढापाकाले उसको यत्रतत्र फालिएका वस्तु एकत्रित गरेर अगाडि राखि दिएर युवा तथा बच्चाहरूलाई गाली गर्दै उसलाई सम्झाए पछि उ बल्ल शान्त हुन्थ्यो। केही समय पछि त त्यस्तो दुर्वासा जस्तो रिसाहाले पनि एउटी उ जस्तै अलिक सिरफिरा मंगोल ढपककी हँसिली र त्यसरी नै भए भरको लुगा लगाएर हिँड्ने महिलासँग प्रेम गरेछ र उसलाई अङ्गालो मार्दै निकै फुर्तिका साथ तिनै युवा तथा बच्चाहरूको अगाडि बडो रवाफका साथ हिँड्ने गर्दथ्यो।

एकजना ‘भालु’ भनेर चिनिने निकै शान्त स्वभावको सडक मानव पनि काठमाडौँको डिल्लीबजारतिर घुमिरहन्थ्यो। उसको शिर सधैँ जमिनतिर नै हुन्थ्यो र विशेषगरी डेरीको दूध बिक्री गर्ने डिपो र मन्दिरतिर देखिन्थ्यो। ‘उसलाई के गरिरहेको भालु?’ भनेर सोध्दा मुस्कुराउँदै ‘पैसा खोजेको’ भन्थ्यो।

हाम्रै अगाडि उसले चानचुन पैसाहरू पाएको पनि हामीले धेरै पटक देखेका थियौँ। उसले नमागे पनि धेरै मानिसहरूले उसलाई पैसा दिइरहन्थे। उ पनि मुसुक्क हाँसेर खल्तीमा हाल्थ्यो। पैसाको उपयोग भने उ रक्सी पिउन र खाना खानमा गर्दथ्यो। बासस्थान टोलका मन्दिरहरू।

अर्को ‘ठकुरी बाबुसाहेब’ भन्ने बडो शालिन प्रकृतिको अग्लो र ओभरकोट लगाएर डिल्लीबजार, ज्ञानेश्वरतिर हिँड्ने दिमागी बिरामी थियो।

सुन्नमा आए अनुसार कूलघरानामा नै जन्मेको उसको कुनै दरवारिया राजकुमारीसँग प्रेम हुँदा पनि उसँग ती राजकुमारीको बिहे नगरिदिए पछि उसको दिमागी हालत बिस्तारै बिग्रँदै गएर उ त्यस्तो भएको थियो रे। उ जस्तै अर्काे व्यक्ति पनि नेपाली टोपी र ओभरकोटमा सजिएर चुपचाप नयाँ सडक, इन्द्रचोक इलाकामा हातमा अखबार बोकेर घुमिरहेको भेट्टिन्थ्यो।

यस्ता व्यक्तिहरू जुनसुकै गाउँशहरमा पनि भेटिन्छन् र धेरैजसा स्थानीय जनताको खिसी र हेयका पात्र बन्दछन्। तर यस्ता व्यक्तिले पनि समाजलाई केही न केही शिक्षा दिएकै हुन्छन्। समाजको दृष्टिमा हाँडीघोप्टे एक रिसाहा पागल भए पनि वास्तविकतामा एक निडर तथा निर्भिक मानिस थियो।

कसैको केही पनि नबिगारेको र कहिल्यै केही नबिराएको उसको मनमा पनि प्रेमले ठाउँ लिएको रहेछ र पो उसले पनि एक हसिली प्रेमिका पायो। त्यस्तै भालुले मुस्कुराउँदै पैसा खोजेर हिँडे पनि उसले दयाको भिखको रूपमा कहिल्यै हात पैmलाएन। केही नहुँदा पनि यी र यस्ता व्यक्तिहरू खुशी नै देखिन्थे।

हालै यो धर्ती छोडेका भेलुबाजे त्यस्तै एक व्यक्ति हुन पुगेका छन्। प्युठानको झुम्रीकाँडामा आजभन्दा ६३ वर्ष अगाडि जन्मेका मिनबहादुर बुढाको पुरै जीवन मजदूरी र किसानी गर्दा नै बित्यो। केही युट्युबरहरू उनको गाउँमा पुग्दा अरुभन्दा भिन्न किसिमका व्यक्ति देखेर उनीहरूले मिनबहादुरसँग अन्तर्वार्ता लिएछन्।

थेट मगर भाषा बोल्ने उनको जिब्रोबाट काठमाडौँका पुरातन नेवार जातिले बोलेको नेपाली जस्तै बोली निस्कने तथा बोले पिच्छे रमाइलो लाग्दा थेगाहरू र केही अश्लिल शव्द पनि बोल्ने भएकोले उनको कुरामा एक प्रकारको अर्कै आकर्षण भेटेर युट्युबरहरूले उनको अन्तर्वार्ता लिएर पोष्ट गर्दा एक रातमा नै भाइरल भएर विश्वभरका १० लाख भन्दा बढी दर्शकले हेरेका थिए।

उनी आफ्ना अन्तर्वार्ताको दौरान दर्शकहरूलाई निकै हँसाउँथे। दर्शकहरूलाई अझ बढी आकर्षण गर्न नै भनेर उनको नाम पनि ‘भेलुबाजे’ राखियो। सामाजिक सञ्जालमा भ्यू बढेर रकम आर्जन गर्न थालेपछि अन्य युट्युबरहरूको पनि बाढी नै लाग्न थाल्यो उनीसँग अन्तर्वार्ता लिने। नेपाली मात्र नभई दक्षिण एशियाका विभिन्न भाषाभाषी पनि उनको हाउभाउ हेरेर नै उनका प्रशंसक भएका थिए।

मजदूरी र किसानी गरेर विकट गाउँमा बसेका भेलुबाजे रातारात प्रख्यात व्यक्ति बन्न पुगे। आज सामाजिक सञ्जालमा रमाउने सबै उमेरका मानिसहरू मध्ये उनलाई नचिन्ने बिरलै होलान्। भेलुबाजेले टेलिफिल्ममा पनि खेल्ने मौका पाएका थिए भने एकाध गीत समेत उनको स्वरमा रेकर्ड गरिएको थियो।

यो सब कामबाट उनले केही पैसा पनि कमाए। खुकुरी र नेपालको झण्डा बुनेको नेपाली टोपी तथा कोटमा सजिएर हिँड्ने भेलुबाजे पछिल्लो समय गगल्स पनि लगाएर ठाँटिँदै हिँड्दथे। रक्स्याहा र कामुक स्वभावका उनी युवतीहरूलाई देख्ने वित्तिकै निकै आकर्षित भएर टाँसिन नै पुगीहाल्थे।

उनका जस्ता हर्कत र फोहरी भाषा अरुले प्रयोग गरेको भए उनीहरू माथि कडा नै कानुनी कार्वाही हुन सक्दथ्यो। तर उनको सोझोपन देखेर सबैले उनलाई ‘त्यसो गर्न हुँदैन भेलुबाजे!’ मात्र भनेर सम्झाउँथे। उनका कामुक हर्कतहरूले गर्दा उनलाई मानिसहरू ‘रण्डो बाजे’ र ‘भालु बाजे’ पनि भन्ने गर्दथे।

३ वर्षको दौरान उनी कहाँबाट कहाँ पुग्न गए। तर जब उनीभन्दा पनि आकर्षक अन्य पात्र भेटिन थाले, त्यसपछि भने उनको भाउ घट्दै गयो र उनी बिस्तारै ओझेलमा पर्न थाले।

क्षणिक रूपमा आउन थालेको आम्दानी सुक्यो र पहिले गर्ने गरेको काम पनि उनी गर्न नसक्ने भए। आफ्नो व्यक्तिगत स्वार्थको निम्ति सोझा मानिसको उपयोग गर्ने परिपाटी नेपालमा नयाँ होइन। भेलुबाजे पनि यस्तै मानिसहरूको सिकार बन्न पुगे।

गाउँमा निम्न मजदूरी र किसानी गरेर खुशी रहेका भेलुबाजेलाई राजधानीमा ल्याएर केही समयको लागी निकै उँचाईको उडानमा लगेपछि उनका पुराना साधारण आनीबानीमा परिवर्तन आयो। उनी क्षणिक सपना र आनन्दमा डुब्न पुगे।

घरमा जीवनभर मायाप्रेम गरेकी पत्नीलाई अर्की शहरिया स्वास्नी ल्याउँछु भनेर तर्साउन थाले। सधैँ यस्तै विलासी जीवन बिताउन पाइन्छ भन्ने कुरामा उनी ढुक्क थिए। उनको नराम्रो आदतको फाइदा उठाएर उनलाई बिहानैदेखि चुरोट र रक्सी पिलाएर आफूले भनेको मान्ने बनाइयो।

चुरोट र रक्सीको खपत पनि ह्वात्तै बढ्न थाल्यो। आखिर युट्युबरहरूको नजर उनीभन्दा आकर्षक नयाँ मानिसहरूमा परेपछि भेलुबाजे ओझेलमा पर्न गए। गत वर्ष दशैँताका उनकी पत्नीको पनि निधन भयो।

पत्नीको निधन हुँदा उनी निकै भक्कानिएर रोएका थिए। आर्थिक संकट र एक्लोपनाले गर्दा उनको रक्सीसेवन झनै बढ्न थाल्यो। अभावले गर्दा उनी ज्यादै निम्न कोटीका रक्सी पिउन वाध्य भए। स्वास्थ्य निकै नै बिग्रियो।

उपचारको लागि सहयोग पाउन कठीन भइरहेको बेलामा एकजना भोजराज थापा नामका दयालु युट्युबरले उनी माथि निकै ठूलो गुन लगाएर काठमाडौँको गल्फुटारस्थित ग्रीनसिटी अस्पतालमा पु¥याएर औषधोपचार गराइदिए। अस्पतालले पनि उपचार खर्च मिनाहा गरिदियो भन्ने कुरा सुन्नमा आएको थियो।

अस्पताल पुग्दासम्म पनि उनी चुरोट पिउने मन गर्दै नै थिए। अस्पतालमा भर्ना हुन आउने बेलामा मोटरगाडीमा भेलुबाजेले रुँदै ‘म अब धेरै बाँच्दिन होला’ भनेको र भोजराजले थम्थम्याएका दृश्य युट्युबमा हेर्दा निकै दुख लागेको थियो।

आखिर यो पटक उनी स्वस्थ भएर घर फर्कन सफल भए। तर उनी आफ्नो चुरोट र रक्सीको अम्मलले गर्दा स्वस्थ रहन सकेनन्। फेरि बिरामी हुँदै आखिर उनको प्युठान अस्पतालमा विश्व मजदूर दिवस कै दिन यानी बैसाख १९ गते (मई १) कलेजो र मृगौलामा विषम् खराबी आएको कारण मृत्यु भयो। उनको अन्तिम संस्कारमा हजारौँ मानिसको उपस्थिति थियो।

खासगरी राजनीतिमा हामीले धेरै व्यक्तिहरूको अकस्मात उदय भएको देखेका छौँ। पञ्चायती कालमा नानीमैया दाहाल र गोल्छे सार्की जस्ता भुई मान्छेहरूलाई पञ्चायतको हँस्सी उडाउने नै अभिप्रायले चुनावमा उठाएर विजयी गराइएको थियो।

हाल पुराना राजनैतिक पार्टी र तिनका नेताले जनताको भन्दा पनि आफू र आफ्नो परिवारको नै हितमा बढी केन्द्रित हुने गर्नाले र मुलुक वेरोजगारी र अराजकताको बन्दी हुँदै गएकोले जनताले नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरूबाट केही राम्रो परिणाम आउला कि भन्ने आशाका साथ धेरै यस्ता मानिसहरूलाई जिताएर स्थानीय निकाय, प्रदेश र संघमा पुर्‍याएका छन्। उनीहरूको कामको लेखाजोखा हुनै बाँकी छ।

भेलुबाजे, भालु, ठकुरी बाबुसाहेब, हाँडिघोप्टे वा नेपालको कुनाकन्दरामा भेटिने यस्तै धेरै पात्रहरूले भने नेता बन्ने सपना नदेखेका वा अवसर नपाएका भए पनि वा एउटा सीमित दायरामा नजानिँदो तवरले आफ्नो प्रभाव जमाउन सकेका भए पनि उनीहरूका राम्रा वा नराम्रा बानी र कृत्यबाट हामीले धेरै कुरा सिक्न सक्दछौँ।

हाँडीघोप्टेको रिस ज्यादै कडा भएकोले उसले आफ्नै सामान फ्याँक्ने तथा शरीरलाई टोकेर रगताम्य बनाउने गरेर ‘रिस सबैको शत्रु हो, यसले सर्वनाश निम्त्याउँछ’ भन्ने पाठ सिकायो भने उनैको प्रेमको केही झलकले भने रिसाहामा पनि प्रेमको भावना जाग्दो रहेछ भनेर पनि देखायो।

भालुले मागेर खानुमा भन्दा खसेका र मन्दिरमा चढाइएका पैसा खोजेरै भएपनि जीवन निर्वाह गर्ने स्वाभिमान देखायो। त्यस्तै अति धनी परिवारको ठकुरी बाबुसाहेबले चोखो प्रेम कति मूल्यवान हुन्छ भन्ने शिक्षा दिएको थियो।

भेलुबाजेबाट हामीले धेरै कुरा सिकेका छौँ। सबैभन्दा पहिलो त आफ्नो स्वास्थ्यको ख्याल हामीले कसरी राख्नु पर्दछ भन्ने कुरा सिक्यौँ भने अर्को महत्वपूर्ण कुरा यदी हामीमा कुनै गुण छ र त्यसबाट कसैलाई निकै फाइदा पुग्दछ भने समाजका त्यस्ता स्वार्थी तत्वहरूले हर प्रयास गरेर हामीलाई उनीहरूको वशमा पार्ने कोशिश गर्दछन् र काम सकिएपछि चटक्कै बिर्सिदिन्छन् भन्ने कुरा पनि सिकियो।

त्यस्तै आफूसँग कुनै असामान्य खुबी छ भने मानिसले औपचारिक शिक्षा नपाएको भए पनि उ एक लोकप्रिय र महत्वपुर्ण व्यक्ति बन्न सक्दो रहेछ। तर यसको साथसाथै उसले औपचारिक ज्ञान प्राप्त गर्ने उपायहरूको अवलम्बन गर्दै आफ्ना कमी–कमजोरीहरूलाई कम गर्दै लग्नु समेत पर्दो रहेछ र बढ्दै गएको स्तर र लोकप्रियतालाई कायम राख्ने उपायहरू पनि अपनाउनु पर्दो रहेछ।

आआफ्ना ठाउँ र परिवेशका सानातिना कुराबाट हामीले धेरै कुरा सिकौँ र आफूले आर्जन गरेका अनुभवहरू अरूलाई पनि बाँडौँ।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *