एमाले संसदीय दलको बैठक बस्दै
काठमाडौं। कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने तयारीमा रहेको नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। बैठक अहिले बिहान १० बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो।
बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम तथा कांग्रेससँगको सत्ता समीकरणको सहमतिबारे सांसदहरुलाई जानकारी गराउने र सोही निर्णयलाई अनुमोदन गर्ने तयारी रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
गत सोमबार राति कांग्रेससँग सत्ता समीकरणको सहमतिसँगै एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिसकेको छ। नेकपा माओवादी केन्द्रसँगको गठबन्धन लत्याउँदै एमालेले यही असार १७ गते मध्यराति नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्ने सहमति गरेको हो।
यस क्रममा उसले असार १९ गते वर्तमान सरकारबाट आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाई समर्थनसमेत फिर्ता लिइसकेको छ।
यसैबीच अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही शुक्रबार संसद्बाट विश्वासको मत लिने तयारीमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment