बेलायतको राहदानी त्यागेर किबीखेतीमा रमाउँदै म्याग्दीका लालबहादुर

डिसी नेपाल
५ भदौ २०८१ १२:२१
300
Shares

म्याग्दी। किबी खेतीमा संलग्न हुनुहुन्थेन भने बेनी नगरपालिका–३ भकिम्लीका ४१ वर्षीय लालबहादुर पुन यतिबेला युरोप, अमेरिका र खाडीका कुनै देशमा श्रम र पसिना बगाइरहेका हुन्थे।

विस. २०७५ मा बेलायत जाने तयारी गरेका लालबहादुरको योजना वडा कार्यालयले सञ्चालन गरेको किवी खेती सम्बन्धी तालिममा सहभागी भएपछि स्थगित भयो।

“दुई वर्ष मलेसीया र एक वर्ष बहराईनमा काम गरेर आएपछि आफन्त मार्फत बेलायत जाने भिसा पनि लागेको थियो,” उनले भने, “बेलायतको राहदानी त्यागेर शुरु गरेको किबी खेतीले सफलता मिल्न थालेको छ । घरपरिवारसँगै बसेर रोजगार र आत्मनिर्भर हुन पाएकोमा सुखी र सन्तुष्ट छु ।”

सचिन्द्रा कृषि तथा पशुपंक्षी फार्म खोलेर मकै र कोदोको विकल्पमा करिब १७ रोपनी पाखोबारीमा लगाएको २५० बोट किबीले आम्दानी दिन थालेको छ।

गत वर्ष प्रतिकिलो रु। दुई सय ५० का दरले दश क्विन्टल किवी बेचेका पुन यसपाली राम्रो फल लागेकाले उत्पादन र आमदानी बढ्ने आशामा छन्।

किबी खेतीसँगै फर्निचर उद्योग पनि सञ्चालन गरेका पुनले आफू र श्रीमती बाहेक तीन जनालाई रोजगारी दिएका छन्।। बाख्रापालन पनि सहायक पेशाको रुपमा रहेको छ।

कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा र वडा कार्यालय मार्फत प्राबिधिक तालिम, निशूल्क र अनुदानमा किबीका बिरुवाका साथै सिंचाइका लागि ड्रम सहयोग गरेका छन् । बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनका अनुसार भकिम्लीका २० जना भन्दा बढीले व्यवसायिक किबी खेती गरेका छन् ।

“हावापानी र भूगोल अनुकुल भएकाले भकिम्लीको माथिल्लो क्षेत्रमा किवी र तल्लो भेगमा सुन्तला खेती प्रर्वद्धनमा जोड दिएका छौ,” उनले भने, “किवी र सुन्तला खेती गरेका मध्य धेरैजसो विदेशबाट फर्किएका युवाहरु छन् । ब्यवसायिक कृषिमा आवद्ध गराएर युवाहरुलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने प्रयास गरेका छौ ।”

लछु पुनले दश वर्षअघि भकिम्लीमा किवी खेती भित्र्याएका थिए। अनुकुल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले उच्च पहाडी भूगोलमा अवस्थित भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यवसायिक किवी खेती विस्तार गरेका छन्।

लगाएको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ। समुद्री सतहदेखि १ हजार ५०० देखि २ हजार मिटरको उचाइमा किबी खेति गर्न सकिने बेनी नगरपालिकाको कृषि अधिकृत आकृति ढुंगानाले बताए। पाचन प्रक्रियालाई सहयोग गर्ने किबीबाट जाम र वाइन बनाउन सकिन्छ।

अमिलो र गुलीयो स्वाद पाइने किबीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किबी चिनमा विकास भएको फलफूल हो। न्युजील्याडले किबीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा रु। एक सय छ । निजी नर्सरीबाट रु। तीन सय सम्ममा बिक्री हुन्छ।

प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किबीका बिरुवा लगाउनुपर्छ। लहरा भएर फैलिने किबी एक रोपनीमा १५ सम्म किबीका बिरुवा लगाउन सकिन्छ । फुल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौति हो । किबीलाई बजारीकरण र सुरक्षित भण्डारण गरेर बेमौसममा बजारमा लैजानका लागि चिस्यानगृह स्थापनाका लागि पहल गरेको वडा अध्यक्ष पुनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *