मोहना नदीको कटानले भजनी नगरपालिका जोखिममा

डिसी नेपाल
१४ भदौ २०८१ ९:५५

कैलाली। भजनी नगरपालिका–५ पगियाप्रसारका महेन्द्रसिंह बुढाको घरमा यतिबेला कोही छैन । मोहना नदीले कटान गर्दै घर पूर्ण जोखिममा परेपछि महेन्द्रको घरमा मान्छे बस्न सक्ने स्थिति छैन । बर्सेनि नदीको कटानले घरसँगै जोडिएको सडक आधा कटान गरिसकेको छ ।

सडक कटान भए नदीले धार नै परिवर्तन गर्न सक्ने जोखिम रहेको स्थानीय चन्द्र बोहरा बताउँछन्। मोहना नदीको कटानले बर्सेनि आजित बन्दै आएका उनलाई कुन दिन पूर्ण विस्थापित भएर जानुपर्ने हो भन्ने कुराको चिन्ता छ । बर्सेनि नदी कटान गर्दै बस्ती पस्न थालेपछि चन्द्रजस्तै सयौँ परिवार नदीको कटानले आजित बनेका छन् । उनका अनुसार जीवनलाई हत्केलामा राखेर मोहनाको तटीय क्षेत्रका नागरिकले जीवनयापन गरिरहेका छन् । स्थानीयको हजारौँ बिघा जग्गाधनीपुर्जा भएको जमिन बगर बनिसकेको छ । नदीले बर्सेनि धार परिवर्तन गर्दै आएको छ ।

“नदी हिजो बग्ने ठाउँ देखायो भने आज कसैलाई पत्याउन गाह्रो हुन्छ । बस्तीमा नदी सर्ने हामी नदीबाट बच्नका लागि घर सार्ने गरेका छौँ । हाम्रो हत्केलामा जीवन छ”, उनी भन्छन्, “अब त सर्नका लागि ठाउँ छैन । अन्य ठाउँमा जग्गा छैन ।” त्यस क्षेत्रका नागरिक वर्षा सुरु भएपछि दुःखका दिन सुरु भएको महसुस गर्दै आउनुभएको छ । मोहनाको कटानले कैयौँ परिवार सुकुम्बासी बनेको स्थानीयको भनाइ छ ।

सोही ठाउँका झङ्करबहादुर साउद आकाशमा कालो बादल मडारिएपछि रातभर जाग्राम बस्ने गरेको बताउँछन्। नदी बस्तीसम्मै पुगेपछि नदीको पानीको बहाव हेर्न रातिको समयमा स्थानीय परिचालित गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ । “सुरक्षित स्थानमा जानलाई त्यस्तो ठाउँ छैन । यतै बस्नलाई कतिबेला के हुन्छ त्यसको कुनै जानकारी छैन”, उनले भने, “हाम्र पीडा सुन्ने कोही छैन । जसोतसो भगवान् भरोसा आजसम्म सकुशल छौँ भनौँ भोलि कसले देखेको छ र ?”, उनले नदी नियन्त्रणको आशा गर्दागर्दै दिन व्यतित भएको गुनासो गरे ।

नागरिकहरू बर्सेनि पीडामा जीवन बिताउन बाध्य हुँदा पनि राज्यले बेखबर भएको दुखेसो सिद्धराज जैशीको छ । राहत, उद्धार तथा अनुगमनका लागि बर्सेनि पुग्ने सरकार नदी नियन्त्रण गर्न आउन नसकेको उनको भनाइ छ । “नागरिक पीडामा हुँदा राहत र उद्धारका लागि सबैले पहल गर्छन् । त्यसैगरी नदी नियन्त्रणका लागि पहल गरेको भए सायद भजनीले डुबानबाट छुटकारा पाउथ्यो कि?”, उनी भन्छन्, “हामीलाई राहत चाहिएको छैन । हामीलाई भजनीको डुबानको दीर्घकालीन समाधान चाहिएको छ । हामीलाई त्रासरहित जीवनयापन गर्ने आधार चाहिएको छ ।”

भजनी चारैतिरबाट नदीले घेरिएको नगरपालिका हो । यहाँ कान्द्रा, मोहना, काँढा र पथरैया नदी भजनीसँग जोडिएका छन् । ती नदीको पानीको सहज निकास हुन नसक्दा भजनी डुबानमा पर्दै आएको छ । हजारौँ नागरिक बाढी र डुबानका कारण बर्सेनि विस्थापित हुने गरेका छन् । “बृहत् योजना ल्याएर चारै नदी नियन्त्रण गर्न सकेमात्र भजनीलाई डुबान र कटानको जोखिमबाट बचाउन सकिन्छ ।” स्थानीय सूर्यबहादुर चौधरी भन्छन्, “होइन भने खेतीयोग्य जमिन बगर बन्ने क्रम रोकिने छैन । नागरिकहरूले सहजरूपमा जीवनयापन गर्न सक्ने छैनन् ।”

भजनी नगरपालिका–५ का वडाध्यक्ष केशव बुढाले सङ्घीय सरकारका प्रतिनिधि आएर कैयौँपटक नदी नियन्त्रणका लागि सर्भे गरेर गएको बताउँदै योजनासहित कोही नफर्केको गुनासो गरे। उनले नगरपालिकाको स्रोतसाधनले नदी नियन्त्रण गर्न सक्ने स्थिति नरहेको बताउँदै सङ्घीय सरकारको बृहत् योजनाको आशामा भजनी रहेको बताए । “हामीले हाम्रो स्रोतबाट हुनसक्ने काम गरेका छौँ । त्यो भनेको जैविक तटबन्धमात्रै हो । त्यसका लागि गत वर्ष पनि रु १६ लाख खर्च भएकै हो । तर अहिले त्यो जैविक तटबन्ध कहाँ भएको हो थाहा नपाउने स्थिति छ ।” वडाध्यक्ष बुढाले भने, “यसपटक पनि प्रदेश र सङ्घ सरकारलाई आग्रह गरेका छौँ । आशा गरौँ बजेट आउँछ कि ?”

उनका अनुसार मोहनाको कटानबाट करिब दुई सय ५० परिवार उच्च जोखिममा छन् । नदीले धार परिवर्तन गर्दा बस्तीसँगै हजारौँ खेतीयोग्य जमिन थप बगर बन्ने देखिएको छ ।

अहिले पनि स्थानीय सरकारसँगको समन्वयमा जैविक तटबन्धको काम भइरहेको छ । “जहाँ बढी जोखिम छ, त्यहाँ स्थानीयको जनश्रमदानबाट जैविक तटबन्धको काम भइरहेको छ”, वडाध्यक्ष बुढा भन्छन्, “जसोतसो यो बर्खा कटे त्यसपछि केही विकल्पमा काम गर्न सकिन्थ्यो”, अहिले पनि भजनी त्रासमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *