तीजका गहिरा कुरा, जुन कहिल्यै बताइएन

नारायण घिमिरे
१६ भदौ २०८१ ७:२५
108
Shares

वैदिक दर्शन अनुसार, तीज पर्व परम चेतना रुपी शिवको दिव्य ऊर्जा रुपी शक्ति पार्वती बीचको आध्यात्मिक र ब्रह्माण्डीय एकता भएकोले सृष्टि सम्भव बनेको यथार्थता महसुस गर्दै, त्यस प्रति कृतज्ञ भई सामाजिक उत्सवको रूपमा मनाउने उद्देश्यले स्थापित भएको देखिन्छ।

परम चेतनाको बीज निर्माण गर्ने पिताको भूमिकामा देखिने पुरुष शक्ति र उक्त चेतना रुपी बीजलाई प्राप्त गरी मलजल गरेर जीवको रूपमा विकास गर्न सक्षम दिव्य ऊर्जा बोकेकी मातृरूपी देवी नारी बीचको आपसी मिलन, सहकार्य, सन्तुलन तथा सद्भाव जीवन र सृष्टि दुवैको निरन्तरताका लागि अनिवार्य रहेकोले यस कर्मलाई हरेक नर-नारीले आफ्नो अनिवार्य कर्तव्यको रूपमा लिएर अहिंसा प्रेमी, नैतिक र आयुर्वेदिक सद्भावमार्फत स्वीकार्न अभिप्रेरित गर्ने चाडबाडको रूपमा तीज मनाइन्छ।

पुरुष (भाले) र प्रकृति (पोथी) ऊर्जाबीचको सन्तुलन र सद्भावले मात्र जीव मात्र नभएर ब्रह्माण्डको समेत सृष्टि, पालन-पोषण र नियमितता सम्भव भएको यथार्थ समाजमा पुनः स्मरण गराउन वैदिक यज्ञको रूपमा पुरुष (आत्मा) र प्रकृति (प्रकृति) बीचको अन्तरसम्बन्धको भूमिका तीजको उत्सवको रूपमा मनाइन्छ।

व्यवहारिक रूपमा, दुई शब्द, शिव र शक्ति (पार्वती), ब्रह्माण्डीय सन्तुलन र एकताको अवधारणा राख्न प्रयोग गरिन्छ, जहाँ दुवैको मिलनबाट निर्माण हुने शुद्ध चेतना रुपी अद्वैत दिव्य सत्ता नै जीवको जीवन, हरेक घटनाको, र हरेक कर्मको साक्षी मात्र होइन, पुरुष र महिला दुवै ऊर्जाहरू समावेश भएको एक नयाँ जीवनको सार पनि बनेको छ।

वैदिक दर्शनमा तसर्थ, तीज पर्व वा त्योहारको रूपमा मनाउनका लागि ऋषि-मुनीहरूले श्वेताश्वतर उपनिषद, अध्याय ४, श्लोक ५ मा भेटिने सन्देश सम्प्रेषण गर्ने नियत राखेका छन्।

एको देवः सर्वभूतेषु गूढः
सर्वव्यापी सर्वभूतान्तरात्मा।
कर्माध्यक्षः सर्वभूताधिवासः
साक्षी चेता केवलो निर्गुणश्च॥
(श्वेताश्वतर उपनिषद, अध्याय ४, श्लोक ५)

अर्थ: हरेक जीवको अन्तर्मनमा सम्पूर्ण कर्महरूको साक्षीको रूपमा गुणहरू भन्दा परको सर्वव्यापी निर्गुण शुद्ध चेतना रुपी अद्वैत दिव्य सत्ताले वास गरेको हुन्छ।

व्याख्या: सबै प्राणीहरूभित्र एक मात्र सर्वव्यापी दिव्य शक्तिको उपस्थिति हुन्छ, जुन जीवनको परम सत्यको रूप हो। अद्वैत प्रकृतिको एक दिव्य (एको देवः) ब्रह्माण्डीय चेतना, सबै द्वैत गुणहरू जस्तै पुरुष र स्त्री गुण भन्दा परको दिव्य सत्ता हो।

ब्रह्माण्डमा सर्वत्र अस्तित्वमा रहेको उक्त दिव्य तत्त्व सबै प्राणीहरूमा आत्माको भूमिकामा उसका सम्पूर्ण कर्महरूको निष्पक्ष साक्षीको रुपमा अस्तित्वमा रहन्छ, जसले सम्पूर्ण अस्तित्वको सन्तुलन गर्दै एकबद्धता गर्छ।

आफ्नो जीवनको उद्देश्य प्राप्त गरी आनन्दित बन्नका लागि भक्ति मार्ग, अर्थात् समर्पण नै व्यक्तिलाई उपलब्ध सबैभन्दा उत्तम सशक्तीकरणको उपाय हो भन्ने कुरा वैदिक ग्रन्थहरू जस्तै भगवद गीता र भक्ति सूत्रहरूमा भेटिन्छ, जुन ऋग्वेदको मण्डल १, सूक्त १, ऋचा १ मा आधारित रहेको देखिन्छ।

ॐ अग्निमीळे पुरोहितं यज्ञस्य देवमृत्विजम्।
होतारं रत्नधातमम्॥
(ऋग्वेदको मण्डल १, सूक्त १, ऋचा १)

अर्थ: ॐ, म यज्ञको (हरेक कर्मको) नेतृत्व गर्ने पुरोहितको (प्रमुख सञ्चालकको) रूपमा अग्निको प्रशंसा गर्दछु। जो यज्ञका ऋत्विज पुरोहित (सही समयमा सही कर्म सम्पन्न गर्न सहजिकरण गर्ने मुख्य उत्प्रेरक दिव्य शक्ति) पनि हुनुहुन्छ।

साथै उहाँ होतार (दिव्य शक्तिलाई एक रूपबाट अर्को रूपमा परिवर्तन सम्भव गर्ने) रत्न (जरुरतको भौतिक, मानसिक र आध्यात्मिक ऊर्जा) आह्वान गर्ने पुरोहित (उपलब्धताको सम्भव गरिदिने मुख्य कारक) समेत हुनुहुन्छ।

व्याख्या: ऋग्वेदको यो श्लोकमा अग्नि ऊर्जा (प्राकृतिक शक्ति देवता) लाई मानव ऊर्जा (जीवन्त ऊर्जा) र देवताहरू (प्रकृतिको सम्पूर्ण शक्ति) बीचको मध्यस्थकर्ताको रूपमा मानिन्छ र त्यसको लागि अग्नि प्रति धन्य रहेर प्रार्थना गरिन्छ।

आफू अनुग्रहित बनेको चिजको पूजा र त्यसमाथि जनाइने समर्पण भाव उल्लेख गर्न वैदिक साहित्यमा भक्ति शब्द प्रयोग हुन्छ। अग्निलाई जैविक ऊर्जा र प्राकृतिक ऊर्जा बीचको समन्वय गर्ने सर्वोत्तम रत्नको रूपमा लिइन्छ।

विज्ञानले पनि अग्नि अर्थात् ऊर्जा एक रूपबाट अर्को रूपमा परिवर्तन हुने प्रकृतिको हुने कुरा स्विकार्दछ। ब्रह्माण्ड ऊर्जाको रूप अग्नि आफै दिव्य जीव ऊर्जा र दिव्य प्रकृति ऊर्जा बीचको मध्यस्थकर्ता र करेन्सी (Currency or Exchange Media) हुने गर्दछ।

जीवको भौतिक अस्तित्व कायम गर्न पुरुष वीज र नारी डिम्ब बीचको संयोजनकारी भूमिका आपसी आकर्षण, प्रेम र समर्पण भाव पैदा गर्ने सम्पूर्ण जैविक केमिकल, हर्मोन, इन्जाइम आदिलाई आयुर्वेदले अग्नि अन्तर्गत राख्दछ।

उनीहरू बीचको आपसी भक्ति (माया, प्रेम, समर्पण र त्याग भावना) र आपसी स्तुति अर्थात् पवित्र पूजा कर्मको दिव्य कृपा संसारमा जीवको अस्तित्वलाई निरन्तरता दिन सशक्तीकरण दिने भूमिका खेल्दछ।

जसले भक्तिको सारको निरन्तर अभिव्यक्ति कायम गर्ने आध्यात्मिक तथा भौतिक सशक्तीकरण तथा समर्पणको थप बाटो पैदा गरी सन्तान सुखानुभूतिको अनुभव दिलाउने गर्दछ।

वैदिक परम्पराको तीज पर्व, आध्यात्मिक अनुशासन र भक्तिद्वारा सशक्तीकरण सम्भव हुन्छ भन्ने कुरा समाजलाई स्पष्ट गर्ने चाड समेत हो। तीजको समयमा व्रत बस्नु केवल शारीरिक उपवास मात्र होइन, त्यो एक तपस्यारूपी संयम पनि हो, जसले मन र शरीरलाई शुद्ध बनाउँछ।

वैदिक तपस्याको अभ्याससँग मेल खाने तीजको व्रत, व्यक्तिमा आत्म-अनुशासन र भक्ति, आध्यात्मिक पूर्णतामा थप्न सहयोग गर्दछ। वैज्ञानिक रूपमा समेत, तीज जस्ता चाडमा गरिने उपवास, प्रार्थना क्रियाले कोशिकाको स्तरमा शरीरको सफाइ गर्ने, आत्म-नियन्त्रणको दिव्य अभ्यास मार्फत आशीर्वादको रूपमा आध्यात्मिक प्रतिबद्धता र वृद्धिको आकांक्षा पूरा गर्ने पुष्टि गरेको छ।

जीव अनुशासन विज्ञानको अनुभव मार्फत पुष्टि भएको यथार्थ के हो भने भक्ति वा समर्पण एक शक्तिशाली आध्यात्मिक मार्ग मात्र होइन, आफ्नो भित्री मनदेखि अर्को प्रति सम्मान र विश्वास जागृत गर्ने र आफ्नो जीवनमा आफ्नो प्रेमीको उपस्थितिले थपेको सहजताको पक्षमा मात्र केन्द्रित रहेर, मनमा नकारात्मकता हटाएर कृतज्ञता अभिव्यक्त गर्ने सुन्दर उपाय पनि हो।

जहाँ महिलाहरूले देवी पार्वतीको पति भक्ति र त्यसले दिएको मानसिक समृद्धता र प्रकृति मैत्री सुन्दर पारिवारिक जीवनको स्मरण गर्दै आफूमा रहेको कपटविहीन माया, करुणा, दृढता र शालीनताको शक्ति र सत्कर्म मार्फत सम्भव हुने आशीर्वादको अवसर महसुस गर्छन्।

यो पर्वले महिलाहरूलाई सामूहिक र आध्यात्मिक अनुभव मार्फत सशक्त बनाउँदै, समाजमा निष्ठा, बलिदान, र आध्यात्मिक शक्तिका मूल्यहरूलाई सुदृढ गर्न सहयोग गर्दछ। साथै, सृष्टिको निरन्तरता कायम राख्न आफ्नो जिम्मेवारी पूरा गर्न, आफूमा निहित माया, दया, करुणा, मातृवात्सल्य, र धैर्यताको शक्ति महसुस गराउँछ।

मानव रहनु र सदैव मानवीय कर्ममा रहनुलाई मानव धर्म भनिन्छ। वैदिक मान्यता अनुरूपका तीज पर्व, मानव कर्तव्य र धार्मिकता बारे सम्झाउने पर्व पनि हो। विशेष गरी गृहस्थी धर्ममा रहन, सफल र सुखी तथा खुसी परिवारको निर्माणमा महिलाहरूमा आफ्नो भूमिका पुनः स्मरण गर्ने अवसरको रूपमा तीजलाई लिने गरिन्छ।

आफ्नो परिवार र पति प्रतिको कर्तव्य र जिम्मेवारी आफूले कसरी सकारात्मक रूपमा पालन गर्न सक्छ र त्यसले अन्ततः आफैंलाई कसरी असल प्रतिफल दिने वातावरण निर्माण गर्दछ भन्ने आध्यात्मिक मनोवैज्ञानिक गहनता तीजको चाड मनाउने प्रक्रिया संग सामाजिक इञ्जिनियरिङ्ग गरिएको छ।

वैदिक सिद्धान्तहरू अनुसार, अहिंसा युक्त, नैतिक र प्रकृति मैत्री आयुर्वेदिक प्रेम नै धार्मिक रूपको पारिवारिक जीवन हो भन्ने मान्यता छ। जसमा परिवार र समाजप्रतिको आफ्नो कर्तव्य पूरा गर्न सुझाइएको पारिवारिक, व्यवहारिक, र आध्यात्मिक उपाय प्रति विश्वास जागृत र सुदृढ गरिन्छ।

एक उत्साहपूर्ण र अर्थपूर्ण पर्व तीजका सांस्कृतिक अभ्यासहरू वैदिक परम्पराका गहिरा आध्यात्मिक र दार्शनिक शिक्षासँग जोडिएको छ, जस अन्तर्गत पृष्ठभूमिमा रहेको व्यक्तिगत र ब्रह्माण्डीय स्तरको भक्ति, सन्तुलन, र सद्भावको महत्वको स्मरण गराउँदै पारिवारिक र आध्यात्मिक सुखको पक्ष स्मरण गराउने सुन्दर नियत निहित छ।

समग्रमा, वेदको आधारमा सामाजिक संस्कारको रूपमा सामाजिक इञ्जिनियरिङ्ग भएको तीजको पर्वले समाजमा दिन खोजेको सन्देश ऋग्वेदको मण्डल १०, सूक्त ८५, ऋचा ४७ को सन्देश हो।

समञ्जन्तु विश्वे देवाः समापो ह्रदः समतिः।
सम्यञ्चो अग्निमिन्द्रिया वचसामसि वि द्युम्नमुत्तमम्॥
(ऋग्वेद, मण्डल १०, सूक्त ८५, ऋचा ४७)

अर्थ: व्यक्तिगत र ब्रह्माण्डीय स्तरको भक्ति, सन्तुलन, र सद्भाव कायम गर्न सक्रिय रहने सम्पूर्ण ऊर्जाहरू (सबै देवताहरू) हाम्रो दुवैको इच्छा, आकांक्षा  र रहरहरूलाई (मनलाई) प्रकृति मैत्री हुने गरी एकअर्कासँग परिपूरक हुने विचार मार्फत एकत्रित गर्ने दिशामा सक्रिय रहून् ताकि त्यसले दिने पारिवारिक सम्बन्ध मैत्री तरलताले हामीलाई एकताको सूत्रमा बाँध्न सकोस्।

हामीले विकास गर्न सकिएको आकाशले (अहंकारविहीन आपसी प्रिय समझदारीको परिस्थिति) हामीलाई सहकार्य मैत्री वातावरण देओस्। प्रभामय अग्निदेवले (आपसी आशा, विश्वास, भरोसाको किरणले पैदा समर्पण र त्यागको आत्मबल रुपी शक्ति) हाम्रो सम्बन्धलाई पवित्र राखोस्।

हाम्रा मनहरूलाई हामी आफूबीचको विकास भएको सर्वोच्च समझदारीको अवस्थाले एकत्रित गरून्। एकलाई अर्को प्रति समर्पित गर्न सहयोगी बनोस्।

व्याख्या: ऋग्वेदको यो श्लोकले आपसी एकता र सद्भावको बारेमा बोल्दछ, जुन श्रीमान् र श्रीमती बीचको विना भेदभावको निष्पक्ष र सन्तुलित सम्बन्धको आधारमा मात्र निर्माण हुन्छ भनी स्पष्ट गर्दछ।

जीवनसाथीको सम्बन्धमा बाँधिन चाहने दुवै व्यक्तिले आफ्नो मन र आत्मा एकजुट गराउनको लागि दुवैले आफ्नो व्यवहार अर्काप्रति सम्मानपूर्वक समर्पित गर्ने र जीवनको सह-अस्तित्व मूल्य र जरुरत महसुस गर्ने र व्यवहारमा लागु गर्न भन्दछ।

मानसिक तथा मनोवैज्ञानिक (पानी) र आध्यात्मिक, नैतिक, र अहिंसा रुपी (आकाश) जस्ता प्राकृतिक रूपमै अनिवार्य मानवीय वृत्ति रुपी तत्वहरू पहिचान गर्ने, आफ्नो जीवनसाथीको सुख र आनन्द आफ्नो सुख र आनन्दको जग रहेको गहिरो मनन (अग्निदेव शक्ति) सफल वैवाहिक सम्बन्ध निर्माणमा जिम्मेवार रहेको पक्ष हो भनी स्पष्ट गर्ने गर्दछ।

एकता केवल शारीरिक मात्र होइन, बौद्धिक र आध्यात्मिक पनि हो भन्दै, त्यसका लागि दुवै पक्षको समान र सन्तुलित साझेदारीको समझदारी अनिवार्य हुन्छ भन्ने सम्झाउँछ।

यस श्लोकले निष्पक्ष सम्बन्ध भनेको त्यस्तो सम्बन्ध हो, जहाँ दुवै साथीले पारस्परिक सम्मान र एकीकृत उद्देश्य आपसमा समझदारीमा बाँडिएको हुन्छ। एकले अर्कोले हरेक कार्यमा एकअर्काको परिपूरक भएर साथ र समर्थन गर्ने गर्दछ। (अथर्ववेदाचार्य; खाद्य तथा औषधि वैज्ञानिक।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.