पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शर्मालाई पितृशोक
देउखुरी। पूर्वसञ्चार तथा सूचनामन्त्री रेखा शर्माका पीता घोराही उपमहानगरपालिका–१८ निवासी दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ।
केही समयदेखि भैरहवास्थित निवासमा बसोबास गर्दै आएका शर्माको स्वास्थ्यमा समस्या देखिएपछि उनीलाई आज गौतम बुद्ध मुटु अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा दिउँसो ३ः१५ बजे निधन भएको अस्पतालले जनाएको छ।
शर्माको पार्थिव शरीर आज साँझ घोराही–१८ मसिनास्थित निवासमा पुर्याएर अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। उनको अन्त्येष्टि भोलि बिहान ८ बजे मसिना सतीघाट कटुवाखोलामा गरिने शर्माको परिवारले जनाएको छ।
नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका वरिष्ठ साहित्यकार शर्माका झन्डै एक दर्जन कृति प्रकाशित छन् भने दर्जनौँँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। उनी निवृत्त शिक्षक पनि थिए। उनका चार छोरी र एक छोरा छन्। शर्माकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ साल चैत ९ गते निधन भइसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment