सिराहामा बोलबम श्रद्धालु चढेको ट्याक्टर दुर्घटना: १५ घाइते, एकको अवस्था गम्भीर
सिराहा। सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि सोमबार बोलबम श्रद्धालु सवार ट्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उतरवाहिनीबाट बन्दीपुरतर्फ महेन्द्र राजमार्ग हुँदै जाँदै गरेको ज १ त ४८०८ नम्बरको ट्याक्टर उकालोमा नियन्त्रण गुमाएर ट्रेलरसहित पल्टिएको थियो। दुर्घटनामा परी धनुषाको जनकपुर उपमहानगरपालिका–१५ रामपुर टोलका १३ वर्षीय अनुराग मण्डल गम्भीर घाइते भएका छन्।
दुर्घटनामा अन्य घाइते हुनेहरूमा सोही ठाउँका १७ वर्षीय कृष्णा मण्डल, ४० वर्षीया गंगिया मण्डल, १८ वर्षीय राहुल दास, १३ वर्षीय प्रिन्स दास, १८ वर्षीय गोपाल यादव, ३३ वर्षीया मोना कुमारी मण्डल, ५० वर्षीया चन्द्र कुमारी दास, ६० वर्षीया रामदुलारी दास, ४४ वर्षीया राम कुमारी दास, १७ वर्षीय पंचा मण्डल, १७ वर्षीय आसिस कुमार यादव, १२ वर्षीय बिकी मण्डल, १३ वर्षीय कृष्णा कुमार यादव र बिना कुमारी मण्डल रहेका छन्।
घटनालगत्तै स्थानीय र प्रहरीको टोलीले घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नजिकैको फुलकुमारी महतो मेमोरियल अस्पताल, कर्जन्हा पठाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय बन्दीपुरले ट्याक्टरलाई नियन्त्रणमा लिएको छ। यद्यपि, धनुषाको जनकपुर–१५ का करिब ३५ वर्षीय चालक रामबिहारी मण्डल भने फरार रहेका छन्। प्रहरीले फरार चालकको खोजी तीव्र बनाउनुका साथै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment