एक सय ६० देशका राष्ट्रगान गाउँदै आएका रामजी नेपाली भारत यात्रामा 

राम थापा /रासस
६ कार्तिक २०८१ १२:३५
32
Shares

गण्डकी। विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित विश्व राष्ट्रगान यात्री रामजी नेपाली भारत यात्रामा निस्किएका छन्। सोमबार पोखरादेखि बुटवल हुँदै उनी भारतको देहरादुनतर्फ लागेका हुन्। नेपालीले एक सय ६० देशका राष्ट्रगान गाउँदै आएका छन् । चन्द्र–सूर्य अङ्कित झन्डासहित देहरादुन, दिल्लीलगायत भारतका विभिन्न सहरको यात्रा गर्ने उहाँले बताउनुभयो ।

“केही समय देशभित्रैका विभिन्न ठाउँ घुमे, अब तीन महिनाजति भारतमा रहन्छु”, नेपालीले भने, “राष्ट्रगानमार्फत शान्ति र विश्वबन्धुत्वको भावना जागृत गराउनु मेरो उद्देश्य हो, नेपालको सांस्कृतिक पर्यटनलाई यो यात्राले टेवा पु¥याउने मेरो विश्वास छ ।” नेपालीले गत वर्ष पोखराको फेवाताल किनारमा दैनिकजसो राष्ट्रगान सुनाएर विदेशी पर्यटकमाझ आफूलाई प्रस्तुत गरेका थिए।

आफ्नो देशको राष्ट्रगान नेपालीको गलाबाट सुन्दा विदेशी पर्यटकहरु टक्क रोकिएर राष्ट्रगानको सम्मान गरेको दृश्य मनछुने खालको देखिन्थ्यो। अन्य दर्शकले पनि नेपालीले अनेक भाषामा सम्बन्धित देशका राष्ट्रगान गाइरहँदा चाखपूर्वक सुन्थे । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर पर्यटकहरु दंग परे।

कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उहाँले पछिल्लो समय पर्यटकीय राजधानी पोखरालाई आधार बनाएर संगीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाउँदै आएका थिए। नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू यात्रामा निस्केको उनले सुनाए ।

सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लीन रहेको नेपालीको भनाइ छ। विश्वयात्राका क्रममा उनले हालसम्म ११ देशको भ्रमण गरिसकेका छन्। नेपाली दुई वर्षअघि संयुक्त अरब इमिरेट्स (युएई) मा तीन महिना बिताएर आएका थिए। कोभिड–१९ महामारीयता उहाँको पहिलो विदेशयात्रा त्यही थियो। उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आएका छन्। इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उनी सफल भएका हुन्।

“शुभेच्छुक संघसंस्था र महानुभावहरुको सहयोगका भरमा म यो यात्रामा छु, मसँग त घुम्नका लागि कुनै स्रोत छैन, सहयोगको याचना गर्दै हिँड्छु, यसरी नै चलेको छ”, उनले भने। नेपालीको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो। बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उहाँले स्मरण गरे।

“आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झिए। उनले चार वर्षअघि पहिलोपटक राष्ट्रगान यात्राका क्रममा भारत पुग्दा चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गरेका थिए।

नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन्। सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका दुई सय ३२ वटै देश पुग्ने उनको लक्ष्य पूरा हुने देखिएको छैन। कोभिड–१९ महामारी, आर्थिक मन्दी आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताए।

जस्तै संकट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान सङ्कलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उनको भनाइ छ। “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भने। बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मिएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ। त्योभन्दा बढी बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने चाहना उनमा छ।

नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोजेर गाउने गर्दै आएका छन्। एक सय ९५ देशका राष्ट्रगान र तिनका धून संकलन गरिसकेको उनको भनाइ छ। अनेक भाषाका राष्ट्रगान सही ढङ्गले गाउनु चुनौतीपूर्ण विषय भएको नेपालीको अनुभव छ। “संगीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउनसक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भने, “सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारेर गाउने गरेका छु ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *