लालझाडीमा हात्तीको उपद्रो

डिसी नेपाल
३० कार्तिक २०८१ २२:४५
72
Shares

कञ्चनपुर। लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ। साँझ नपर्दै हात्तीको बथान बस्तीमा छिरेर घर भत्काउने, घरभित्र राखेका अन्न, खेतमा लगाएको उखुबाली खाएर नोक्सानी पुर्‍याउन थालेकाले ज्यान जोगाउन समस्या भएको स्थानीयको गुनासो छ।

गाउँपालिकाको वडा नं ३ र ४ मा हात्तीको बथानले उखुबालीमा ठूलो क्षति पुर्याएको छ । एक महिनादेखि लालझाडी संरक्षण क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छुट्टाछुट्टै समूहमा आउने हात्तीले क्षति पुर्याउन थालेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताए। ‘हात्तीको आक्रमणमा परेर एक जनाले ज्यान गुमाइसकेका छन्। स्थानीय बासिन्दाका आधा दर्जन बढी घर भत्काइदिएको छ, घरभित्र राखेको अन्न खाएर बिजोग बनाएको छ’, उनले भने।

केही दिनअघि हात्तीले आक्रमणबाट स्थानीय रामदल रानाको ज्यान लिएपछि स्थानीय बासिन्दा भगाउनका लागि डराउने गरेका हुन्। एक महिनाको अवधिमा हात्तीको बथानले स्थानीय किसानको ८० बिघा बढी क्षेत्रफलमा लगाएको उखुबाली खाएर पूर्ण रूपमा क्षति पुर्‍याएको अध्यक्ष रानाको भनाइ छ। उनका अनुसार सिगलपट्टिमा तीन घर, दुई गोठ, पर्सियामा दुई घर, डुङ्गामा एक घर भत्काएर पूर्ण क्षतिग्रस्त बनाइदिएको छ। किसानले बैंकबाट कर्जा लिएर गरेको उखुबाली हात्ती सखाप पारेको उल्लेख गर्दै अध्यक्ष रानाले स्थानीयलाई जीउज्यान जोगाउन मुस्किल हुन थालेको बताए।

गाउँपालिकाको वडा नं ३ का किसान खडक चौधरीले एक बिघा जग्गामा लगाएको पूरै उखुबाली हात्तीले नोक्सानी गरेपछि सहकारीबाट खेती गर्दा लिएको कर्जा तिर्न समस्या भएको बताए।

हात्तीले लालझाडी संरक्षण क्षेत्रमा भर्खरै छावा (बच्चा) जन्माएकाले त्यो क्षेत्र छाडेर नजाने गरेको वडा नं ३ का अध्यक्ष टीकाराम चौधरीले बताए। उनका अनुसार दिउँसोपख बस्ती नजिकैको वनक्षेत्रमा रहने हात्ती साँझ नपर्दै उखुबारीमा पस्ने गरेका छन्। वडामा हालसम्म हात्तीको बथानले ३५ जना किसानको २० बिघा जग्गाको उखुबालीमा व्यापक नोक्सानी गरेको उनले बताए।

वडा नं ४ का अध्यक्ष बहादुर राना स्थानीय बासिन्दाको घर, उखुबाली, तोरीबाली जोगाउन स्थानीय बासिन्दासँगै रातभर जाग्राम बसेर हात्ती भगाउने कार्यमा सङ्लग्न रहँदै आएको बताए। थप क्षति हुनबाट जोगाउन हात्ती नियन्त्रण गरी जीउधनको सुरक्षा गरिदिनका लागि उनले सुरक्षा निकायसँग अनुरोध गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *