ठूला काण्डको छानबिन गर्न खोज्दा माओवादी नेतृत्वको सरकार ढलेको हो : माधव सापकोटा
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरण अपवित्र भएको बताएका छन्। डिसी नेपालको ‘द ब्रिज टक’ संवादमा आफ्नो धारणा राख्दै उनले रातारात कुनै एक जना व्यापारीको घरमा बसेर गरिएको गठबन्धन स्वार्थ केन्द्रित भएको बताएका हुन्।
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको प्रस्ट मार्ग सुशासन, आर्थिक समृद्धि र समाजवाद थियो। भ्रष्टाचारविरुद्धको अभियान थालेको थियो। ठूला काण्डको छानबिन गर्न खोज्दै थियो। खासगरि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्न खोज्दा ठूलो राजनीतिक कनेक्सन फेला पर्यो। उक्त प्रकरणमा के गर्ने भनेर छलफलमा जुट्दा सरकार ढल्ने अवस्था बन्यो,’ उनले भने।
नक्कली भुटानी शरणार्थी र बेचन झा प्रकरणको अनुसन्धान चल्ने भएपछि कांग्रेस-एमालेको अपवित्र गठबन्धन बनेको उनको आरोप छ। ‘यो प्रकरणलाई विषयान्तर गर्न उहाँहरू एक ठाउँमा आउनु भएको हो। स्थिरता र संविधान संशोधन उहाँहरूको नक्कली नारा थियो। त्यो अहिले पुष्टि हुँदै गएको छ,’ सापकोटाले भने।
सरकार बनेको लामो समय बित्दा संविधान संशोधन केमा गर्ने भन्ने छलफल अनौपचारिक रूपमा समेत छलफल हुन नसक्नु दुखद विषय भएको उनले बताए। यति बेला सरकार दिनकै ढल्छ भन्ने विषयले चर्चा पाउनुले स्थिरता समेत नदेखिएको उनको भनाइ छ।
सरकार राजनीतिक समझदारीमा भन्दा पनि बिचौलियाले आफ्नो स्वार्थशिद्ध गर्नका लागि खडा गरिदिएको बुख्याचा भएको सापकोटाको टिप्पणी छ। पछिल्ला राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको उनले आरोप लगाए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment