नेपालमा गभिएका राजा र राज्यहरुको विवरण

खगेन्द्रराज सिटौला
१५ माघ २०८१ ७:३०

केही मान्छेहरु यसरी प्रचार गर्छन् कि मानो नेपालमा पृथ्वीनारायण शाह भन्दा अगाडि कुनै राजतन्त्र नै थिएन। पृथ्वीनारायण शाह नै राजतन्त्रका संस्थापक हुन् झैं गरेर प्रचारमा उत्रेका छन्। त्यति मात्र होइन अरुका राज्यहरु बलप्रयोग गरेर आफ्नो राज्यमा गाभ्ने पृथ्वीनारायण नै पहिलो राजा हुन् भने झैं गरेर कुप्रचारमा उत्रेको पनि पाइन्छ।

अझ उनीहरु अघि बढेर नेपालमा मात्र होइन नेपालदेखि बाहिर पनि बल प्रयोग गरेर खडा भएका कुनै राज्य नै नभएको झैं गरेर बल र हिंसाको भरमा राज्य खडा गर्ने पृथ्वीनारयण शाह बाहेक संसारमा न कुनै राजाको न कुनै राज्यको नै अस्तित्व नै पाइन्छ भन्ने अर्थ लाग्ने गरी लेख्छन् बोल्छन् र प्रत्यक्ष पृथ्वीनारायण शाह माथि र अप्रत्यक्ष उनले एकीकरण गरेको नेपाल माथि प्रहार गर्दछन्।

उनीहरु यो कहिले पनि भन्दैनन् कि हाम्रा पुर्खाले पनि बल प्रयोग गरेर कसैको राज्य पृथ्वीनारायण शाहले जस्तै लिएका वा बढाएका थिए। त्यसो मात्र होइन हाम्रा भाषा, संस्कृति सबै पृथ्वीनारयण शाहले बलपूर्वक मासे र आफ्नो भाषा संस्कृति लादे।

यस्ता तथ्यमा आधारित भएर नबोलेका वा नलेखेका मनगढन्ते प्रचारले केही मान्छेमा भ्रम पैदा गराउन सफल पनि भएका छन् अनेक नामका आवरणधारीहरु। तर तथ्यले यी सबै कुप्रचारहरु खण्डित भएका छन्।

यो त साँचै हो कतै मनले जिते कतै बलले जिते कतै छलले पनि जिते। तर यो सबै जित उनको थिएन नेपालको थियो। किनभने अहिले पृथ्वीनारायणको वंशको शासन छैन तर नेपालको आसन भने निरन्तर छ। त्यसैले यो पृथ्वीनारायण शाहको जित थिएन नेपालको जित थियो।

नेपालको जितलाई दिगो र चीरस्थायी बनाउन भनेर नै पृथ्वीनारायण शाहले आफ्नो विजयी राज्य गोर्खालाई नेपालमा विलय गराएका थिए। विजेता गोर्खाली राजालाई विनम्रतापूर्वक नेपालसँग समर्पण गराएर नेपाल एकीकरणको आधार बलियो बनाएका थिए पृथ्वीनारायण शाहले।

त्यसैले त उनी राष्ट्रनिर्माता भए र नै उनले नेपालको सर्वोच्च पद अर्थात राष्ट्रनिर्माताको पगरी पहिरिन योग्य भए नेपाली जनताको समर्थनमा। पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानले तोडेका र नेपालमा जोडेका राजा र राज्यहरु बारेको जानकारीले पृथ्वीनारायण शाहको अभियान कुनै जाति, भाषा, सांस्कृति वा धर्मको विरुद्धमा थिएन भन्ने प्रमाणित हुन्छ। यस्ता तथ्यमा प्रवेश गरौं।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान १८०१ नुवाकोटबाट सुरुवात गरेर टिष्टा सम्म पुर्‍याएर बलियो नेपालको आधार खडा गरेका थिए। गोरखाबाट पश्चिमतिरका राज्यहरुलाई एकीकृत नेपालको अंगालोमा बाँध्ने योजना बनाउन लाग्दा लाग्दै १८३१मा पृथ्वीनारायणको निधन भयो।

तर नेपाल एीककरण अभियान रोकिएन। पृथ्वीनारायण शाहको उत्तराधिकारीहरु खाशगरी उनका जेठी बुहारी राजेन्द्रलक्षी र खाशमा माइला छोरा बहादुर शाहको नायवी नेतृत्वकालमा यसले पश्चिमतिरको एकीकरण अभियानलाई चरम उचाइमा पु¥याएका थिए। यही नै साँच्चै विशाल नेपाल थियो, साँचै गौरवशाली नेपालको गौरवको पनि गौरव थियो। अब तथ्यगत विवरणमा प्रवेश गरौं।

गोरखाबाट अघि बढेको पृथ्वीनारायणको गोर्खाली फौजले नुवाकोटबाट अघि बढाएको विजयी एकीकरण अभियानले १८३१ सम्ममा मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, चौदण्डी र विजयपुर राज्यहरुलाई एउटै मालामा जोडेर बलियो नेपालको आधार खडा गर्न सफल भएका थिए।

काठमाडौं, ललितपुर, भक्तपुरमा मल्ल राजाहरुले शासन गरेका थिए। मल्लराजाहरु हिन्दुधर्मका अनुयायी थिए। त्यस्तै मकवानपुर, चौदण्डी र विजयपुरमा सेन वंशका राजाहरुले शासन गरेका राज्यहरु थिए।

हिन्दुधर्मका अनुयायी सेनराजाहरुले आफूलाई हिन्दुपति भन्दथे। यहाँ देखिन्छ कि पृथ्वीनारायणको प्रत्यक्ष नेतृत्वमा विस्थापित भएका राजा र राज्यहरु हिन्दु थिए भने यी सबैलाई विस्थपित गराएर एउटै नेपालमा स्थापित गराउने राजा पनि हिन्दु नै थिए।

मल्लराजाहरु बाहेक सेनराजाहरु र पृथ्वीनारायणको भाषा पनि एकै थियो। यसबाट देखिन्छ यो फरक भाषा, धर्म संस्कृति वा जाति माथि अधिपत्य जमाउने आक्रमण थिएन। थियो एउटै राज्य र नेतृत्वले काम चल्ने हुुँदाहुँदै अनेक राज्य र राजा वा नेतृत्वको आवश्यकता होइन भन्ने प्रमाणित गर्नु पनि थियो।

विसं १६१०मा स्थापना भएको सूर्यवंशी मकवानपूरको सेनराजाले शासन गरेको राज्य १८१९मा, १७१९मा स्थापना भएको उहीवंशको सेनहरुको दोस्रो राज्य चौदण्डी १८३० र तेस्रो १६४१ म स्थापना भएको सेनहरुकौ विजयपुर राज्य १८३१ मा पृथ्वीनारायणको नेपाल एकीकरण अभियानमा गाभिएका थिए।

पृथ्वीनारायण शाहको निधनपछि राजा भएका उनका छोरा प्रतापसिंह शाहको पनि छिटै निधन भएपछि बालक राजा रणबहादुर शाहको नायवी भएर काम गरकी उनकाी माता राजेन्द्र लक्ष्मी देवी शाह र काका बहादुर शाहको नेतृत्वकालमा नेपाल एकीकरणमा समाहित गरेका राजवंश र राज्यहरुको विवरणतिर प्रवेश गरौं। नेपाल एकीकरणमा समाहित भएका पश्चिम नेपालको गण्डकी प्रदेश चौबीसी राज्यहरु राजवंश स्थापनाकाल एकीकृतकालको तथ्यांकमा प्रवेश गरौं।

विक्रम सम्वत १४९३ मा स्थापना भएको चन्द्रवंशी मल्ल राजाले शासन गरेको पर्वत राज्य १८४२ मा नेपालमा समाहित गरिएको थियो। त्यस्तै उही वंशको १६३१मा स्थापना भएको मल्लाराजाले शासन गरेको गलकोट १८४२मा नेपालमा जोडिएको थियो। त्यस्तै विसं १८४३ मा नेपालमा गाभिएका चारवटा राज्यको विवरण निम्नअनुसार छ।

१४६५ मा स्थापित धुर्कोट राज्यमा सूर्यवंशी मल्ल राजा थिए भने १४९० मा स्थापित अर्धा राज्य र १४९२ मा स्थापित खाँची राज्यमा उही वंशका शाही थरका राजा थिए। १४९३ मा स्थापित गुल्मी राज्यमा शाह थरका राजाले शासन गरेका थिए।

सेनराजाले १५५०मा स्थापना गरेको पाल्पा १८६३ मा नेपालमा गाभियो। त्यसरी नै सूर्यावंशी शेनराजाहरुले एउटै मिति विसं १६१० मा स्थापना गरेको तनहु राज्य १८४१ मा र रिसिङ राज्य १८४२मा नेपालमा गाभिए।

एउटै चन्द्रवंशी सिंह थरका राजाले १५५०मा स्थापना गरेका मुसीकोट (वल्लो) र इस्मा राज्य नेपालमा गाभिएका थिए १८४३ विसंमा। १८४२ विसंमा नेपालमा एकीकृत हनु अघि १५६० देखि चन्द्रवंशी चन्द थरका राजाले प्यूठानमा शासन गरिरहेका थिए। ढोर विसं १५१०मा, भीरकोट १५००मा,नुवाकोट १५१०मा,कास्की १५२४मा, चन्द्रवंशी खानथरका राजाहरुले स्थापना गरेका थिए र यिनीहरु सबै १८४२मा नेपालमा एकीकृत गरिए।

उही चन्द्रवंशीय खान शाही थर भएका राजाले १५५०मा लमजुङ राज्यको स्थापना गरेका थिए। लमजुङ १८४२ मा नेपालमा एकीकृत भयो। १५१० मा स्थापित भएका १८४२मा नेपालमा समाहित भएका सतहुँ (सतौंकोट) र गर्‍हौं (गर्‍हौंकोट) मा शाही र खानशाही थरका चन्द्रवंशी राजा थिए।

विसं ८०० देखि १३००को अन्तरालमा स्थापित मुस्ताङ राज्यमा विष्टराजा थिए। यो राज्य नेपालमा १८४६मा एकीकृत भयो। १५०२मा स्थापित पैयौं, सेनराजा, १६१०मा स्थापित दर्हाै रामपुर,सेनराजा, १६०० मा स्थापित धिरिङ,शाह राजा,सबै राज्यहरु १८४२ मा नेपालमा एकीकृत गरिएका थिए।

सेनराजाले १६१०मा स्थापना गरेको बुटवल राज्य १८४४ मा नेपाला समाहित भएको थियो। विसं १६१६मा स्थापित भएको यी सबै चौबीसी राज्यको कान्छो राज्य गोरखाले नेपाल एकीकरण अभियानको नेतृत्व गरेको सर्वविदितै छ।

अब हामी पश्चिम नेपालको कर्णाली प्रदेशका बाईसी राज्यहरु र राजाहरुको वंशहरुको चर्चा गराैं जो नेपालमा एकीकृत हुनुभन्दा अधि अस्तित्वमा थिए। विसं १४६१ देखि चन्द्रवंशी शाही थरका राजाले शासन गर्दै आएको जुम्ला राज्य १८४६मा नेपालमा समाहित भएको थियो। डोटीराज्य १४०९मा स्थापना भएको थियो।

यहाँ सूर्यवंशी मल्ल शाही राजाहरुले शासन गरेका थिए। यो नेपालमा १८४७ मा गभियो। १७५० विसंमा स्थापित खुम्री राज्यमा सैनराजाको शासन थियो। यो १८४३मा नेपालमा गभियो। विसं १४७५मा स्थापित दैलेख राज्यमा शाही थरका राजाहरुले शासन गरेका थिए।

यो राज्य १८४७मा नेपालमा एकीकृत भयो। दुल्लु राज्यमा पनि शाही थरका नै राजाहरुको शासन थियो। यो शाही राजाहरुले १४५३ देखि नेपालमा समाहित नभए सम्म यहाँ शासन गरे। यो राज्य पनि १८४७ मा नै नेपालमा गभियो।

१४८५मा स्थापित आछाम राज्य १८४७मा नेपालमा एकीकृत भएको हो। यहाँ शाही थरका राजाले शासन गरेका थिए। दर्ना राज्यमा शाही थरका राजाहरुको शासन थियो। यो राज्यमा उनीहरुले १४८५ देखि शासन गरेका थिए। १८४७ मा यो राज्य नेपालमा गभियो।

सल्यानमा शाह राजाको शासन थियो। उनीहरुले १४७५ देखि शासन गरेका थिए। यो राज्य नेपालमा विसं १८६५मा एकिकृत भयो। माल्नेटा राज्यमा शाह राजाको शासन थियो। यो राज्यमा उनीहरुले १७९० देखि शासन गरेका थिए। माल्नेटा १८४६मा नेपालमा गाभियो।

जाजरकोटमा १४६१ देखि शाही राजाहरुको शासन थियो। यो राज्य १८४३मा नेपालमा गभियो। १४७५मा स्थपित जहारी राज्य १८४३मा नेपालमा गाभियो। जहारीमा शाही थरका राजाहरुको शासन थियो। बझाङमा चन्द्रवंशी सिंह थरका राजाको शासन थियो। यो राज्य विसं १५०३मा स्थापित भएर १८४८मा नेपालमा गभियो।

अरु थप राज्यहरुको विवरण निम्नअनुसार छ। १५०३ विसंमा सिंह थरका राजाले स्थापना गरेको थालारा राज्य १८४८मा नेपालको एकीकरण अभियानमा समाहित भयो। पाल थरका राजाले १५५५मा स्थापना गरेको बाजुरा राज्य १८४८ मा नेपाल एकीकरणमा समाहित भयो।

त्यस्तै सिंहथरका राजाले १५५० मा स्थापना गरेको दाङ राज्य १८४३मा नेपालमा एकीकृत भयो। शाही थरका राजाले १४६१ मा स्थापना गरेको रुकुम राज्य १८४३ मा नेपालमा एकीकृत भयो। शान्नी राज्यमा शाह थरका राजा थिए। यो राज्य १८४८मा नेुपालमा एकीकृत भयो।

यो राज्य १४४६ मा स्थापना भएको थियो। गजुल( रोल्पा) राज्य नेपालमा १८४६ मा एकिकृत भएको थियो। सैन राजाले गजुल राज्यको १५५० मा स्थापना गरेका थिए। मुसीकोट राज्यका(पल्लो) १७४५ मा शाही राजाले स्थापना गरेका थिए।

यो नेपालमा १८४३मा गभियो। विसं १४५३ मा शाही राजाले गोताम राज्यको स्थापना गरेका थिए। यो राज्य १८४७ मा नेपालमा एकीकृत भयो। छिल्ली राज्य पनि शाही राजाले स्थापना गरेका थिए। यो १७३०मा स्थापित भएर १८४३मा नेपालमा एकीकृत भएर विस्थापित भयो।

फ्लवाङ राज्यमा शाही राजा थिए। यसको स्थापना काल र नेपालमा एकिकृत काल थाहा पाउन सकिएन। शाही राजाले १६२५ मा स्थापना गरेको धुलिकोट राज्य १८४७मा नेपालमा गभियो। बाँफी राज्य नेपालमा १८४३मा एकीकृत भएको हो।

यो राज्य १४७५मा शाही थरका राजाले स्थापना गरेका थिए। दार्मा र थुनी वा बीसकोट राज्य १५०७ मा स्थापना भएका थिए र दुबै एउटै साल १८४६मा नेपालमा एकीकृत भएका थिए। दुबैमा चन्द थरका राजा थिए। बाइसी र चौबीसी भने पनि यी राज्यहरु पछि फुटेर २५ र २६ वटा पनि भएका थिए।

माथिका राजवंश र राज्यका तथ्याँकले नेपाल एकीकरणको ऐतिहासिक आवश्यकता थियो भन्ने सबै किसिमले पुष्टि हुन्छ। र पृथ्वीनारायणको नेपाल एकीकरण अघि बढाउने निर्णय र दूरदर्शी साहसिक कदम सबै किसिमले सहि र ऐतिहासिक राष्ट्रिय आवश्यकता थियो भन्ने सबै किसिमले प्रमाणित हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *