रास्वपा गण्डकी प्रदेश : युवाहरूलाई पार्टीमा जोडिन आग्रह

डिसी नेपाल
८ फागुन २०८१ १०:२३
116
Shares

कास्की। राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशको पर्यटन र संस्कृतिको लागि काम गर्न इच्छुक युवाहरूलाई पार्टीमा एकीकृत हुन आव्हान गरेको छ।

बुधबार रास्वपाका गण्डकी प्रदेशस्तरीय ‘पर्यटन तथा सांस्कृतिक विभाग’का प्रमुख महेश भण्डारीले एक विज्ञप्ति जारी गर्दै केन्द्र र प्रदेश स्तरीय समितिसँगै विभिन्न विभागहरू पनि बिस्तार हुने क्रममा रहेको बताउँदै गण्डकी प्रदेशमा रहेका एघार वटै जिल्लालाई समेट्ने गरी विभागलाई पूर्णता दिने बताएका छन्।

‘पार्टी सभापति रवि लामिछानेमाथि झुटा मुद्दाहरू लगाएर पार्टीमाथि प्रतिशोध साँधेको छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘ साथसाथै प्रदेशभित्रका सबै जिल्लाका साथीहरूसँग भेटघाट, छलफल र सल्लाह-सुझाव आदानप्रदानको लागि स्थलगत यात्रामा निस्कने तयारी छ। हामी गण्डकी प्रदेशका प्रत्येक जिल्ला सदरमुकाममा चाँडै पुग्नेछौँ।’

प्रमुख भण्डारीले अपार पर्यटकीय र सांस्कृतिक संभावना रहेको गण्डकी प्रदेशको समग्र राजनीतिक, सामाजिक, आर्थिक र भौगोलिक विकासका लागि पर्यटन तथा संस्कृति विभागमार्फत पार्टीले धेरै कामहरू गर्न सक्ने विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

‘युवा सोचसहितका योजनाहरू मार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र संस्कृति जगेर्ना गर्नका लागि योगदान गर्न चाहने साथीहरू हामीसँग जोडिन सक्नुहुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि साथीले हामीलाई फोन गर्न, इमेल गर्न सङ्कोच नमान्नुहोला। जिल्लास्तरीय यात्राको क्रममा सबै जिल्लाका साथीहरूमा खुल्ला संवाद र भेटघाटको अपेक्षा गर्दछौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *