आर्थिक उपार्जनका लागि स्वदेशमा प्रशस्त अवसर छन् : प्रवक्ता महत

डिसी नेपाल
२३ फागुन २०८१ १८:४३
44
Shares

त्रिशूली (नुवाकोट) । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक उपार्जन र सुनिश्चित भविष्यका लागि नेपालमा प्रशस्त अवसर रहेका बताएका छन्।

नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको ३९औं वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले श्रम गर्ने उमेरका युवालाई रोजगारको खोजीमा विदेश जानुको विकल्पमा स्वदेशमा स्वरोजगार र आर्थिक उपार्जनका अवसर खोज्न आग्रह गरे। उनले नेपालमा आर्थिक उपार्जनका प्रशस्त सम्भावना रहेकाले विदेश जान लाग्ने खर्चको लगानी र त्यहाँ गर्ने श्रम यहीँ (स्वदेशमा) गर्न आग्रह गरे।

‘नेपालका विश्वविद्यालयमा शिक्षाको गुणस्तर प्रभावकारी र अब्बल छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्छ भन्ने मानसिकता त्यागेर त्यो लगानी यहीँ गरेर उद्यमी बन्नुपर्छ’, पूर्वअर्थमन्त्रीसमेत रहनुभएका महतले भने, ‘विदेशमा गर्ने श्रम र दिने समय नेपालमा दिन सकेमा त्यहाँ हुनेभन्दा कम आम्दानी यहाँ हुँदैन । मेहेनत र श्रम गर्नेको भविष्य स्वदेशमा नै सुनिश्चित छ।’

देशको राजनीतिक अस्थिरता अन्त्य गर्दै स्वदेशमा लगानीमैत्री वातावरण तयार हुँदै आएको प्रवक्ता महतको भनाइ छ। सामाजिक सञ्जालमा आउने सन्देश समाजमा भ्रम फैलाउने र भड्काउने शैलीमा केन्द्रित हुँदै आएकाले यथार्थ सूचना प्राप्तिका लागि मूलधारका सञ्चारमाध्यमको प्रयोग गर्न उनले सबेलाई आग्रह गरे।

‘देशमा केही हुन्न, केही भएको छैन भन्नेहरूले समाज भड्काइरहेका छन्’, उनले भने, ‘यहीँ केही गर्छु भन्ने जोशसहित योजना भएकालाई सम्भावनाको प्रशस्त अवसर छन्। देशको विकास र आर्थिक समृद्धिका लागि अहिलेका युवाले जिम्मेवारी लिनुपर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *