एनआईसी एशिया लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो आधारभूत बाख्रापालन तालिम

डिसी नेपाल
१ चैत २०८१ १५:५३

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशको शाखा कार्यालय क्यामिनमा सञ्चालित ३ दिने आधारभूत बाख्रापालन तालिम बुधवार सम्पन्न गरेको छ।

तालिममा संस्थाका ३६ जना महिला सदस्य प्रशिक्षार्थीका रूपमा सहभागी थिए। उक्त तालिम संस्थाका आन्तरिक प्रशिक्षक तीर्थराज रानाभाटले दिएका थिए।

सो अवसरमा आयोजित कार्यक्रममा तनहुँको व्यास नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपाने र भानु नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, संस्थाको गण्डकी प्रदेश अनुगमन अधिकृत प्रभात किरण पौडेललगायत उपस्थित थिए।

वडाअध्यक्षद्वय न्यौपाने र अधिकारीले किसानलाई यस्तो तालिम बेलाबेला दिनुपर्ने आवश्यकता रहेको औंल्याए। यस्ता तालिम निरन्तर सञ्चालन गरिनुपर्ने वडाअध्यक्षद्वयको भनाइ छ।

तालिमका प्रशिक्षक रानाभाटले बाख्राको आहार तयार पार्ने तरिका, बाख्राका लागि उपयुक्त डाले घाँस, भुइँ घाँस लगायतको बारेमा चर्चा गरे। उनले अन्य ठाउँका महिला व्यावसायिक बाख्रापालनबाट घरखर्च चलाउन र बाल बच्चालाई उच्च शिक्षा दिलाउन सफल भएको बताए।

त्यस्तै, संस्थाका गण्डकी प्रदेश अनुगमन अधिकृत पौडेलले तालिममा सहभागी महिलालाई बाख्रापालनसँगै अन्य व्यवसायका लागि ऋण दिन आवश्यक सहयोग गर्ने बताए।

तालिमको समापनमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै एकआपसमा होलीको शुभकामनासमेत आदानप्रदान गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *