झोलुङ्गे पुन बनेपछि आवतजावतमा सहज

डिसी नेपाल
५ असार २०८२ ७:३८
24
Shares

दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलगायतलाई आवतजावत गर्न सहज भएको छ।

बर्खाको समयमा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो। राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो।

‘खोला तर्न नसक्दा पढाइ छुट्थ्यो। अहिले पुल बनेपछि ढुक्कसँग विद्यालय जान सकिने भएको छ,’ कक्षा ६ मा अध्ययनरत सुस्मिता राना मगरले भनिन्।

मसरी डाँडाका ५० भन्दा बढी विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत छन्। पुल बनेपछि बर्खामा पनि विद्यार्थी नियमित रुपमा पढ्न जाने गरेका कक्षा ६ मा अध्ययनरत भीमबहादुर गाहा मगरले बताए।

विद्यार्थीलाई मात्रै होइन, त्यहाँका स्थानीयलाई पनि पुल बनेपछि सहज भएको छ। त्यहाँ करिब १९५ घरधुरीको बसोबास रहेको छ। कोही बिरामी पर्दा पनि पुल नहुँदा बाढीले छेक्ने गरेको राप्ती गाउँपालिका–९ का वडाध्यक्ष रिमबहादुर सुनारीले बताए।

अहिले त्यहाँ ११२ मिटर लामो पुल निर्माण भएको छ। सङ्घीय सरकारको ४३ लाख ४८ हजार र राप्ती गाउँपालिकाको १८ लाख तथा स्थानीयको एक लाख २५ हजार रुपैयाँ बराबरको श्रमदानबाट उक्त पुल निर्माण भएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *