स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामा खटिन तरुण दलसँग अपिल

डिसी नेपाल
२५ असार २०८२ १०:४२
12
Shares

काठमाडौं। नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्राकृतिक विपत्तिबाट अझै ठूलो क्षति हुन नदिन स्थानीय प्रशासनसँग समन्वय गर्दै स्वयंसेवकहरूको सक्रिय भूमिकामार्फत उद्धार र राहत कार्यमा खटिन तरुणहरूसँग अपील गरेका छन्।

रसुवा जिल्लाको नेपाल-चीन सिमानास्थित लेन्देखोलामा आएको भीषण बाढीका कारण मितेरी पुल पूर्णरुपमा बगेको तथा जनधनको ठूलो क्षति भएकोमा स्तब्ध भएको अध्यक्ष गुरुङले जनाएका छन्।

गुरुङले मंगलबार विज्ञप्ति जारी गरेर भने, ‘नेपाल तरुण दल केन्द्रीय समितिले प्राकृतिक विपत्तिको यस कठिन समयमा रसुवा र नुवाकोट जिल्लाका जनसमुदायलाई खोला किनारबाट सुरक्षित स्थानमा बस्न आग्रह गर्दै यस विपत्तिको घडीमा नेपाल तरुण दल केन्द्रीय समिति निरन्तर जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछ।’

सोमबार राति आएको वर्षात् र भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति भएको छ। रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनरहरू तथा विभिन्न सवारी साधनहरू बाढीले बगाएको छ। नुवाकोट जिल्लाका केही स्थानमा बाढीले सर्वसाधारणहरूलाई कठिनाइ परेको तरुण दलले जनाएको छ।

तरुण दलका अध्यक्ष गुरुङले बेपत्ता भएकाहरूको खोजी र उद्धार तथा राहतको कार्यमा खटिन स्थानीय तरुणहरूसँग आग्रह गरेका छन्। उनले विपत्तिको घडीमा सुरक्षाकर्मी र स्थानीयले बाढी र पहिरोमा परेकाहरूको उद्धारमा गरेको कार्यको प्रशंसा गर्दै नेपाल सरकारलाई धन्यवाद दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *