बाँझिएका बारीमा उखुखेती, पाँच महिनामै एक करोडको कारोबार

डिसी नेपाल
२६ असार २०८२ १३:१३
36
Shares

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका –४ दिगामका कृषकले व्यावसायिक उखुखेती गरेर राम्रो आम्दानी लिइरहेका छन् । सिंचाइका अभावमा बाँझिएका बारीहरूमा यतिबेला उखुखेतीले ढपक्कै बनेका छन्।

छत्रकोट –४, दिगामका कृषक रामकृष्ण न्यौपानेलाई यतिबेला त्यही उखुबाट निस्किएको रसबाट गुड र खुदो उत्पादन गरेर बिक्री गर्न भ्याइनभ्याई छ। बिहान उज्यालो हुनासाथ बेलुकी अबेरसम्म पनि उनको परिवार गुड र खुदो उत्पादन गर्नमा ब्यस्त देखिन्छन्।

गुड र खुदो बिक्री गरेर पाँच महिनाका अवधिमा न्यौपानेले झण्डै एक करोड रुपैयाँको कारोबार गरिकेका छन्। गाउँबाट धेरै युवाहरु रोजगारीको खोजीमा भौतारी रहेको अबस्थामा छत्रकोट –४, दिगामका युवाहरु रामकृष्ण न्यौपाने, किरण न्यौपाने, जगदीश पाण्डे यतिबेला गाउँमै उखु खेतीमा रमाइरहेका हुन्।

उनीहरू तीनै जनाले संयुक्त रुपमा एक करोडको योजना बनाएर आफ्नै लगानीमा गाउँमै तीन वर्षदेखि व्यावसायिक तरिकाबाट उखु उत्पादन गरेर उद्योग स्थापना गरेका छन्। त्यही उद्योगबाट यतिबेला गुड र खुदो उत्पादन गर्दै आएका छन्।

उखुको रसबाट बनेको गुड र खुदो बिक्री गरेर तीन जना युवाहरू आर्थिक संमृद्धिको खोजीमा जुटन थालेका छन्। उनीहरूले तीन सय रोपनी जग्गा भाडमा लिएर उखुखेती गर्न सुरु गरेका हुन्।

गाउँमै उखु उद्योग स्थापना गरेर उहाँहरुले उखुको रसलाई विविधिकरण गर्दै आएका छन्। आधुनिक मेशिनबाट पेलीएको उखुको रसलाई प्रशोधन गरि गुड र खुदोको ब्रान्डिङ् गरिएको छ। उनीहरुले कम्पनी मार्फत गाउँका एक सय २५ भन्दा बढी किसानहरुको उखु खरिद गरेर खुदो र गुड उत्पादन गर्दै आएका छन्।

कृषि ज्ञान केन्द्र गुल्मीले न्यौपालेलाई उखु प्रशोधनका लागि आधुनिक मेशिन र भट्टी निर्माणका लागि ६ लाख ४५ हजार अनुदान रकम उपलब्ध गराएको छ। उक्त अनुदान रकममा थप गरेर उनीहरुले १२ लाख भन्दा बढी लगानिमा उखु प्रशोधनका लागि मेशिन जडान गरेका छन्।

उक्त मेशिनबाट प्रति घण्टा २५ क्वीण्टल उखु पेल्न सक्ने क्षमता रहेको उद्योगका सञ्चालक रामकृष्ण न्यौपानेले बताउनुभयो। कम्पनीमा उखुको रस प्रशोधन गरेर दैनिक खुदो र गुड बनाउने काम भेरहेको छ। यसरी बनाएको गुड प्रतिकिलो तीन सय रुपैयाँ र खुदो प्रतिलिटर एक सय ८० रुपैयाँ मुल्य पर्दछ।

गाउँले ग्रुपको उद्योगमा हाल १५ जना व्यक्तिहरु प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका छन्। गाउँमै उखुबाट समृद्धि खोज्न थाल्नु भएका न्यौपानेले कम्पनी मार्फत पाँच महिनाको अबधिमा एक करोड मुल्य भन्दा बढीको गुड र खुदो बिक्री भैसकेको बताए। उनले भने, ‘बजारमा दिगामको गुड र खुदोको माग धेरै आउने गरेको छ, राम्रो गुणस्तरको भएरहोला उपभोक्ताहरुले पनि खोजी खोजी लैजाने गर्नुहुन्छ, कहिलेकाहीँ काग धेरै भएको समयमा हामीलाई मागल पुराउन पनि धौधौ पर्दछ छ।’

कृषि ज्ञानकेन्द्र गुल्मीका बरिष्ट बालि संरक्षण अधिकृत प्रकाश मरासिनीले अनुसार यस वर्ष जिल्लामा पाँच करोड ७० लाख बराबरको गुडखुदो बिक्री भैसकेको बताए। जसअनुसार जिल्ला भित्र दुई करोड बराबरको खपत भएको छ भने तीन करोड ७० लाखको गुडखुदो बाहिर निर्यात भएको बताइएको छ।

जिल्लाको छत्रकोट र रुरुक्षेत्रमा एक सय ९६ हेक्टर क्षेत्रफलमा कृषकहरुले उखु खेती गर्दै आउनुभएको छ। जिल्लामा यस वर्ष पाँच सय ९४ मेट्रिकटन भन्दा धेरै गुड र खुदो उत्पादन भएको छ। रुरुक्षेत्र र छत्रकोटमा कुल छ सय २५ घरधुरीका कृषकहरु व्यावसायिक रुपमा उखु खेतीमा जोडिएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *