१० दिनमा किसानको मुहारमा खुशी आउनेछ : मन्त्री अधिकारी
काठमाडौं। कृषिमन्त्री रामनाथ अधिकारीले लगभग ९० करोड रुपैंयाँ दुग्ध विकास संस्थाले कृषकलाई भुक्तानी गर्न बाँकी रहेको भन्दै अवको १० दिनमा समाधान निकाल्ने बताएका छन्।
बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले साढे तीन अर्ब भन्दा धेरै कृषकहरुको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरुले तिर्न बाँकी रहको बताएका हुन्।
उनले भने,‘दुधको समस्या छ। १० दिनपछि केही खुशी अनुहार लिएर आउन सक्छौ होला। १० पछि केही राम्रा कुराहरु लिएर आउन सक्छौ होला। लगभग ९० करोडको हाराहारीमा दुग्ध विकास संस्थाले किसानको पैसा तिर्नुछ। समग्रमा साढे तीन अर्ब भन्दा धेरै कृषकहरुको पैसा सरकारी, निजी, साझेदारी र व्यक्तिगत फर्मवालाहरुले तिर्न बाँकी छ। सत्य कुरा बोल्नुपर्छ।’
उनले उखु किसानको लागि अर्थ मन्त्रालयमार्फत दामासाहीका हिसावले रकम निकासा भएको बताए।
‘उखुको कुरा गर्दा गत वर्षको बजेट सिलिङका अनुसार ३५ रुपैयाँ पुग्यो दामासाहीका हिसावले दिने कुरा छ। ३५ रुपैयाँका हिसावले किसानहरुको खातामा केही दिनमा पुग्छ। अर्थ मन्त्रालयमार्फत निकासा भइसकेको छ। त्यसभन्दा बढि म बोल्दिन,’ उनले भने।
यस्तै बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले सार्वजनिक खरिद नियमावलीको १४ औँ संशोधनले रसायनिक मल सम्बन्धि छुट्टै दफाको व्यवस्था गरेकोले सहजीकरण भएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment