भीमसेन थापाका नीतिहरु अझै सान्दर्भिक : सांसद एकनाथ ढकाल

डिसी नेपाल
९ साउन २०८२ १९:५२
100
Shares

गोरखा। नेपाल परिवार दलका अध्यक्ष, पूर्व मन्त्री तथा संघीय सांसद एकनाथ ढकालले गोरखामा एकै दिनमा पाँच कार्यक्रममा सहभागी भई राष्ट्रिय गौरव, शिक्षा, विकास र स्थानीय सरोकारका विषयमा जनप्रतिनिधिको आफ्नो सक्रियता प्रस्तुत गरेका छन्।

कार्यक्रमको मुख्य आकर्षण बनेको थियो नेपालका प्रथम मुख्तियार तथा राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औं जन्म जयन्तिको अवसरमा आयोजित समारोह।

राष्ट्रिय विभूति भीमसेन थापा बोर्लाङ प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै सांसद ढकालले भीमसेन थापाका नीतिहरु अझै सान्दर्भिक भएको कुरा ब्यक्त गरे।

उनले भने, “नेपालको नक्शांकन गर्ने र त्यसलाई पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने काम सुगौली सन्धीले गरेको हो। त्यो सुगौली सन्धी भीमसेन थापाकै पालामा भएको थियो। त्यसैले, भीमसेन थापा कुनै क्षेत्र विशेषको सम्पति नभई सम्पूर्ण नेपाली राष्ट्रको गौरव हुनुहुन्छ।’

भीमसेन थापाकै जन्मस्थलमा जन्मिएका सांसद ढकालले देशभक्तिको चरितार्थले मात्रै भीमसेन थापाप्रति सच्चा सम्मान हुने विचार ब्यक्त गरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, भीमसेन गाउँपालिकाकी उपाध्यक्ष अमृता देवी वस्ती भट्ट तथा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख भरतबहादुर विकले पनि आ–आफ्ना मन्तव्य राख्दै भीमसेन थापाको योगदान र हालको स्थानीय विकासको अवस्था माथि प्रकाश पारे।

त्यसपछि उनले आफूले अध्ययन गरेको श्री सरस्वती उच्च माध्यमिक विद्यालयको भ्रमण गर्दै विद्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाए। विद्यालय प्राचार्य, शिक्षक-शिक्षिकाहरू तथा व्यवस्थापन समितिका प्रतिनिधिसँग भविष्यको शिक्षण रणनीति र विद्यालयको दिशा निर्धारणबारे खुला संवाद गरे। भ्रमणको क्रममा सांसद ढकालले बोर्लाङमा निर्माणाधीन मस्तिज क्षेत्रको निरीक्षण गर्दै स्थानीय सम्भावनाका बारेमा जानकारी लिए।

त्यसैगरी नेपाल परिवार दल जिल्ला कार्य समिति गोरखाद्वारा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ढकालले गोरखा जिल्लामा देखिएका चुनौतीहरू समाधान गर्न तथा समग्र विकासको पहल गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.