निबन्ध

समय सपना र अस्तित्व

सरिता जोशी
२४ साउन २०८२ ७:०५

स्नातकोत्तर दोस्रो वर्षको परीक्षाफल प्रकाशित भएको प्रिय त्यो दिन, स्मरणीय त्यो पल, बा आमाले सन्तानको उज्यालो भविष्यका लागि गरेको संघर्षले न्याय पाएको दिन। कठोर मेहनतले प्रथम श्रेणीमा उत्तीर्ण हुँदाको त्यो खुसीले मन फुरुङ भएर उडेको थियो सिमलको भुँवाजस्तै सपनाको गगनचुम्बी आकाश छुन।

सिंगो संसार आफ्नै पक्षमा उभिएको आभाष भएको थियो मनकुमारीलाई। भविष्यमा कुशल शिक्षिका बनेर भोलिका देशका कर्णाधारहरुलाई असल शिक्षा, संस्कार दिने र समाजमा दबाइएकाहरुको आवाज बनेर न्यायका लागि लडिरहने।

त्यसका निम्ति निरन्तर प्रयत्न पनि गरिरहेकी थिइन्। एकबिसी पाँच वर्ष उमेर पुगेकी छोरी नाता गोता आफन्त सबैले करियरभन्दा विवाहलाई प्राथमिकतामा राखे। अग्रज र मान्यजन सबैको आग्रहलाई शिरोपर गर्दै सुनौला सपना र सुन्दर भविष्य बोकेर क्षणभर मात्र भेटेको आँखाले अघाउन्जेल नियालेर हेर्न पनि नसकेको युवकको हातबाट सिउँदो रङ्गियो र सुरु भयो जीवनको नयाँ अध्याय, फरक अध्याय।

जन्मिएर हुर्किएको घर माइती घरमा बदलियो पलभरमै। थर बदलियो, गोत्र बदलियो, आफन्त र साइनो सब बदलिए। तर उसले देखेको सपना र बोकेको लक्ष्य बदलिने पक्षमा थिएन कुनै सर्तमा पनि। पाँचजना दाजुभाइहरुमा आफूमात्र अटाउन नसकेको जन्मघरको याद भने आइरहन्थ्यो बेस्सरी।

कर्म घरका हरेक सदस्यसँग भिज्न निकै सकस भो उनलाई। एउटै आमाका गर्भबाट जन्मेका सहोदर सन्तानको विचार, व्यवहार, रुची र चाहना त फरक हुन्छन्। फरक पारिवारिक वातावरण, फरक भूगोल, फरक सामाजिक परिवेशमा हुर्किएका व्यक्तिहरुसँग वैचारिक बेमेल हुनु सामान्य लाग्यो मनकुमारीलाई।

बिहेकै दिनदेखि अर्काकी छोरी त हो भन्ने व्यवहार र जुठ्यान देखाइदिएका अग्रजको माया कस्तो हुन्छ आभास छैन उनलाई। चेतना शून्य भएको ग्रामीण परिवेशको भात भान्छा मै बिते केही वर्ष।

पुरातन सोचका पुरुष शासकले शासन चलाएको परिवारमा महिलाको निर्णायक भूमिका जिरो हुनु कुनै नौलो विषय रहेन, त्यसैमा झन् आँखाको कसिङ्गर बनिन् मनकुमारी बिहेको चार वर्षसम्म आमा बन्न नचाहदाँ÷नसक्दा। कारण जेसुकै होस्, मनकुमारी शारीरिक, मानसिक यातनाको सिकार भइरहिन्। बाँझीको उपमाबाट मुक्तिका लागि उनले अनेकन उपचार, धर्मकर्म, झारफुक जानेको, सकेको सब गरिन्।

केही वर्ष अगाडि सुन्दर सन्तानकी आमा बनेकी मनकुमारीले सन्तानको मुख हेरेर सारा दुःख, कष्ट, अभाव, पीडा बिर्सिइन्। सन्तानको हुर्काइकै लागि नबिर्सिनु पर्ने करियर बिर्सिन्, आफ्नो सुनौलो भविष्य बिर्सिन् र चाहेर नचाहेर बाधिइन् काँडेतारको पर्खालभित्र।

देख्नेहरुले खुसी देखेपनि विक्षिप्त बनेकी छिन् मनकुमारी, बेला बेला झस्किन्छिन् मोहरझैँ दराजको कुनामा सम्हालेर राखेका सर्टिफिकेटहरुको मौनता बुझेर, बेवारिसे छोडेकोमा गुनासो होला पक्कै पनि ती सम्पतिको।

पुरुषसत्ताको वर्चश्व भएको परिवारमा आफूले देखेको सपना पूरा गर्न महिलामा संघर्ष, साहस, अडान र वात्सल्यताका सीमाहरु हुनु जरुरी छ भन्ने नबुझेकी पनि त होइन मनकुमारीले। लक्ष्मण रेखा नाघ्न सजिलो छैन उनलाई मूलगेट नाघेर स्वतन्त्र हिँडे फर्केर आउने अनुमति छैन अरुको स्वामित्वको घरमा।

पुरुषको तुलनामा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक, धार्मिक क्षेत्रमा उत्पीडन र विभेदको सिकार भइरहन्छन् महिलाहरु। महिलाहरुको आवाज कति हदसम्म दबाइएको छ भन्ने महसुस गरेको छ उसको चेतनशील मस्तिष्कले। पहाडका कुना कन्दरादेखि तराईका समथर फाँटसम्मको हजारौँ माइलको यात्रामा कुन खोँच र घुम्तीहरुमा कता कता विलिन भए मनकुमारीका सपनाहरु।

बिस्तारै मेटिँदै गएका छन् उमेरका रंगीन रङहरु बन्धनका पिँजडाभित्र। न जलाउन सजिलो छ न त सपना कुर्न नै सहज। अत्यासलाग्दो छ समय। आफ्नै अस्तित्व र पहिचान गुम्न नदिन दौँडिनु छ खाली खुट्टा र पुग्नुछ गन्तव्यको त्यो उचाईमा। जहाँबाट हिँडेको बाटो, तय गरेका सपना र कोरेका रेखाहरु मधुरा होइनन् स्पष्ट देखिउन्। आफ्ना पराई सबै सामु। बितेको दशकमा हजारौँ उतारचढाव, महिला हुनुले मात्र भोगेका कैँयौ भोगाई, असमानता र पीडाका घाउहरुले चिमोटीरहन्छन् बेला बेला।

जित्न नदिने भाग्य, भावना नै नबुझिदिने आफ्नाहरु र हार्न नचाहने मनकुमारीबीचको लडाईको टुङ्गो लागेको छैन अझैपनि। मौनतालाई समेत बुझोस् भन्ने अपेक्षा राखेको व्यक्तिबाट चिच्याउँदा, कराउँदा पनि वेवास्ता गर्दा दुख्ने मुटु बेस्सरी दुखिदिन्छ औषधि खानेगरी।

मनको मौन रुवाईलाई ओठको फिक्का झुटो मुस्कानले दबाइदिएको छ। उदास, थकित, निराशाको धमिलो बादल चिरेर खुसी, उमंग र सफलताको गाथा रच्ने प्रण आफ्नै लागि भारी बन्दै गएको छ बोक्नै नसक्ने गरी। जीवनमा पाएका अनगिन्ति चोटहरु, झिसमिसेदेखि मध्यरातसम्म सास फेर्न नपाउने गरी टाउकोमा थोपरिएको पारिवारिक जिम्मेवारी, सामाजिक प्राणीको खोक्राे आवरणभित्र बाँच्नुपर्ने नियति र पटक पटकको बिफलताले मनको कुना कुनामा अल्सर हुने गरी गहिरो घाउ बनेको छ।

दुःख, सुख, संघर्ष, असफलता जीवनका अभिन्न पाटा हुन् भन्ने ज्ञात हुँदा पनि असफलताले हद नाघ्दा घाम उदाइरहे पनि अन्धकार देखिदोरहेछ जिन्दगी साउनको चुक घोप्ट्याएको कालो रातजस्तै।

आफ्नै भावुक बनिदिने स्वभाव आफैँलाई घातक लाग्छ। डर लाग्छ, रोकिँदै नरोकिने समयसित, गोमन सर्पजस्तै विषालु समाजसँग र आफ्नै सर्वप्रिय सपनासँग। पहिचान र स्वाभिमानको यात्रामा सपना देख्नु, पूरा गर्ने हरसम्भव प्रयास गर्नु, बन्धनका वाहियात सीमाभन्दा माथि उठ्ने साहस गर्नुले हराएका खुसीहरु प्राप्त गर्न बल मिल्ने झिनो आशाको किरण छ मनकुमारीको हृदयभित्र।

दायित्व, जिम्मेवारी, टिपिकल बुहारी, टिपिकल श्रीमतीभन्दा माथि उठेर आशा, सपना र अस्तित्वको समीप पुग्नुछ मनकुमारीलाई। पीडामा पनि मुस्कुराउनुपर्ने अभिनयले उनलाई प्राप्तिको बदला विनास गरेको छ।

हरेक रात निद्रा बिथोलिएको छ, कहीँ पुग्ने गन्तव्य छैन, बस् उही चुलो, चौको, बुहार्तन, बेतलबी घरेलु मजदुर तर पनि मन हतारिएको हुन्छ, आत्मा रोएको हुन्छ, मुटु हल्लिएको हुन्छ आठ रेक्टर स्केलको भूकम्पको पराकम्पन जसरी। संघर्षको लडाई जारी छ, संघर्षले सौन्दर्य बोक्ने पक्षमा विश्वस्त मनकुमारी सपनाले न्याय पाउने मधुर आशामा गन्तव्यहीन यात्रा गरिरहेकी छिन् गुमनाम।

अरुलाई अघाएर उब्रेको भातका गाँससँगै निलेका कैँयौ आँसुका थोपाले गहिरो दर्शन बोकेका छन्, हजारौंको भीडमा आफ्नै मानसिक द्वन्द्वमा बिेतेको छ उर्जावान समय, त्यसैले त उनलाई एक्लो हुनु आफैंलाई बुझ्नु पनि त रहेछ भन्ने बोध भएको छ।

असल हजारौँ गुण बिर्सेर पिठ्युमाथि छुरा रोप्ने, खुट्टा तान्ने र गन्तव्यमा पुग्न काँडा विछ्र्याइदिने मास्टर माइन्ड भएका सुकिलाहरुसँग डर छ उनलाई। मनकुमारीकै पिठ्यु चढेर गन्तव्य भेट्टाएकाहरुको, आफ्नो पहिचानसहितको प्रोफाइल बनाएकाहरुको भीडबाट मुक्त भएर अस्तित्वको लडाई लड्नुछ उनले नत्र भने आफ्नै सपनाको आगोको रापमा जलेर खरानी बन्नुपर्नेछ समय अगावै। यो हुन नदिन मनकुमारीले निर्दोष नयन विछ्र्याएर परपरसम्म देखिरहनुपर्ने छ सपना, गर्नुपर्नेछ कठोर मेहनत र लड्नुपर्नेछ आत्मनिर्भताको विजय उत्सव मनाउने त्यो लडाई।

सुमधुर बालापन, हरियाली वनपाखा, आफ्नै सालनाल गाडिएको प्रिय माटोको सुगन्ध, निस्वार्थ गाँसिएका आत्मिय सम्बन्धहरु भन्दा पर आइपुगेको छ समय, जहाँ आमाको पछ्यौरीमा लुकामारी खेल्ने, बाबाको बलियो काँधलाई घोडा बनाएर रमाउने समयले बिट मारेर आफ्नै सन्तानले देख्छन् र प्रश्न गर्छन् की भनेर मध्यरातको एकान्तमा रुने वर्तमानसम्म आइपुगेको छ जीवन।

सूर्य अस्ताउन मात्र आइपुग्ने पश्चिमको एउटा विकट गाँउको अग्ला पहाडका खोँचबाट पर क्षितिजसम्म पुग्ने बाटो देखाइदिने बा आमाको काँध कमजोर भइसकेको छ, जिम्मेवारीका पहाडले, उमेरको पावन्दीले र बुढ्यौलीको एक्लोपनले। आफ्नै शरीरको धुलो टकटक्याउन र पसिना पुछ्न बिरलै पाइने समयले लखेटेको उहाँहरुलाई।

थकित अनुहार, आँखाभित्र सन्दुकझैँ लुकाइएको उज्यालो सपना मनकुमारीजस्ता आम महिलाका हुन्। दशक अगाडि आँखामा देखिने विद्रोहभन्दा अब वर्तमान र भविष्य प्रिय देखिन थालेको छ, गुनासो कसैसँग रहेन, अरुसँग अपेक्षा गर्ने त झन् परको कुरा।

अब ठूलो सपना पनि त छैन भत्किएको विगतको लय छोडेर आँउदो भविष्य सुन्दर र हराभरा बनाउनु छ मनकुमारीलाई तब त उनले आज बिहान सबेरै उठेर जलाएकी छिन् दियो घरको पूजा कोठामा, घर उज्यालो पार्न होइन मन उज्यालो पार्न, उज्यालो आगतको स्वागत गर्न।

समय र सपनाले मनभित्रको कथा, व्यथाको कसिलो गाँठो सजिलै अरु कसैसँग फुकाउन इजाजत दिँदैन आत्मसम्मान नामको इगोले। क्षितिजपारि इन्द्रेणीको रङ सुन्दर भए जत्तिकै कुरुप छ मनभित्रको असफलताको रङ।

मौन बस्नु भनेको हार्नु होइन, हराउनु पनि त हुँदै होइन, वाचाल समयको स्वागत गर्नु हो अन्तर्मनको गहिराइबाट। मनकुमारीले खुला र बन्द दुवै आँखाले देखेको सपना हो पहिचान र स्वःअस्तित्व तर पितृसत्ताको लडाईमा एक महिलाले देखेको सपना पूरा गर्न कति सेकेन्ड, कति मिनेट, कति घन्टा, कति दिन, कति महिना, कति वर्ष,र कति दशक कुर्नुपर्ने हो खै ।

बा आमाको आफूमाथिको लगानी बालुवामा पानी खन्याएजस्तो लाग्न थालेको छ मनकुमारीलाई। आगोमा घ्यु थप्नेहरुले देख्ने गरी जिन्दगीका जति परीक्षामा अनुर्त्तीण भए पनि सपना पूरा गर्न दौडने पैतलाहरुलाई थाक्न र रोकिन अनुमति दिएकी छैन मनकुमारीले। जिन्दगीको सिकाइ, बुझाई र भोगाईसँग बहुत प्यार छ उनलाई।

जसले मनकुमारी हुनुुको अस्तित्व बचाई राखेका छन् उनकै निम्ति या अरु कसैका निम्ति। हाँसोको मुनि दबिएका पीडा, आखाँको डिलभित्र लुकाएर राखेका प्रिय आँसुका थोपाहरु, अप्ठ्यारोमा साथ नदिएका साथीहरु, सधैँ होच्याएर मजाक बनाइराख्ने आफन्तहरु मनकुमारीका धावनमार्गका बलिया हतियार हुन्।

जीन्दगीको असफलता सपना पूरा नहुनु मात्रै हुदैँ होइन, निकट मानिएकाहरुले भरोषा, विश्वास, माया र माथि उक्लिन सिँढी चढ्न नदिनु पनि हो। समयसँगै हरेक व्यक्तिले आफुले हासिल गर्न सक्ने जति सपना देख्छ, कसैका सपना अग्ला होलान् कसैका होचा।

सम्बन्ध र समय आफूअनुकूल भएन भने आफूले देखेको सपना र तय गरेको गोरेटोले मात्र गन्तव्यको उचाई नभेटिँदो रहेछ भन्ने लागेको छ मनकुमारीलाई। दशकअघि लैंगिक समानता, महिला अधिकार, स्वःअस्तित्व र पहिचानका लागि बिगुल फुक्ने मनकुमारी बितेको क्रुर र दशकलाई बिर्सेर अनुकुल समयको स्वागतमा हिँडेकी छिन् शिखर छुने अनौठो, रोचक र अविराम यात्रामा।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *