सपनाको उडान र जीवन संघर्ष

गणेश भट्ट
१७ साउन २०८२ ७:०३
168
Shares

जीवन सुन्दर, सरल र सहज छ। तर, मनमा पलाउने रहर र थुप्रै सपनाले यसलाई बोझिलो बनाइदिन्छन्। त्यसैले कयौं घुम्तिमा ठोक्किँदै, हन्डर र ठक्कर खाँदै अगाडी बढ्नुपर्छ। यस्तो चाहनाले जीवनको नयाँ उचाइ कोरी दिन्छ। विशाल यात्रा तय गरिदिन्छ। र, मानिस जीवनमा सफलताका नयाँ नयाँ आयाम चुम्दै अगाडी बढ्न थाल्छ।

म पनि एक औषत मानिस हुँ। मभित्र पनि अतृप्त चाहना छन्। आदर्शको भंगालोमा रमाएर जीवनका रहरहरूमा ढक्कन लगाउने सामर्थ मसँग पनि छैन। त्यसैले पनि पनि अतृप्त चाहना बोकेर जीवनमा संघर्ष भरिएको सपनाको उडान भरिरहेको छु। न थाकेर, न रोकिएर जीवन संघर्षको मैदानमा होमिएको छु।

मलाई भाग्यमा धेर विश्वास लाग्दैन। नेपाली उखानै छ, भाग्यको फल आँखा तरि मर। कुनै वृक्षमा फलेको आफैँ खसेर मेरो पोल्टोमा पर्छ भन्ने मलाई विश्वास लाग्दैन। त्यसलाई प्राप्त गर्न त रुखमा उक्लिएर टिप्नैपर्छ। आफैँ खस्ला भनेर आँखा तरेर हेर्दा हेर्दै त्यो अरु कसैले टिपिदिन पनि सक्छ वा कुहिन पनि सक्छ। त्यसैले हामीले भाग्यमा होइन, पाखुरीमा विश्वास गर्नुपर्छ।

भाग्यरेखा आफ्नै कलकलाउँदा संघर्षशील औलाले कोर्दाको आनन्द नै बेग्लै हुन्छ। बसन्त ऋतुमा सल्लाले आफ्नो सुसेलीसँगै पहेँदो चन्दन पुष्पवृष्ट गरेजस्तै संघर्षपछिको सफलतालाई मलाई पनि त्यसरी नै समाजमा पुष्पवृष्ट गर्न मन छ। अहिले असहजतामा भएत के भो? कयौं असहजताका पहाँड फोर्दै त्यही कापमा उम्रिएर जीवन पक्कै झागिने छ मेरो।

खै किन मेरो मनमा क्रान्ति चलिरहन्छ। मन असान्त भइरहन्छ। केही न केही प्राप्तिका लागि छटपटाए झैँ लागिरहन्छ। कतै सिक्दै, कतै लड्दै, कतै झुक्दै अगाडि बढिराख भन्छ मनले र त्यसपछिको सफलता प्राप्तिले मन हर्षित हुन्छ। जीवनका कयौं पल दु:खका चिसा स्पर्श छोएर गएका छन्। कतिपलले तातो स्पर्श पनि दिएका छन्। तर, म दु:खबाट कहिले आत्तिएको छैन, खुसीसँग पनि मात्तिएको छैन। यहीबीचको मध्यस्तता नै जीवन हो झैँ लाग्छ।

जीवनको खोजी एउटा कला हो। यसको अर्थ जिउनु अर्थात् सार्थकताको खोजी हो। संघर्षको कुनै परिभाषा हुदैन। संघर्षबाट केवल प्राप्ति हुन्छ। त्यसैले त जीवन जिउने कला बटुल्दै यात्रा रौनक बनेको छ। जन्म संयोग मात्र होइन। यो संसारको आवश्यकता पनि हो। त्यसैले जीवन सुन्दर छ।

यसलाई सधैँ सुन्दर नै तुल्याइराख्नुपर्छ। यसको सुन्दरतामा दाग लाग्न दिनु हुँदैन। एक विद्वानले एक्लो रुख जब बढ्न थाल्छ तब बलियो बन्दै जान्छ भनेका छन्। हामी मानिस पनि बढ्दै गर्दा त्यही बलियो रुख जस्तै मजबुद हुँदै जानुपर्छ। एकलव्य भएरै भए पनि मानिसले आफ्नो जीवनलाई अगाडि बढाउनुपर्छ।

जीवनमा सकारात्मक सोच, दया, माया, क्षमा, करुणा, ज्ञान, बुद्धि र बिबेक सधैँ खुला राख्नुपर्छ। नकारात्मक सोच, घमण्ड, रिसराग, द्वेष, घृणा, अन्याय, अत्याचार, वेविचार, तृष्णा, लोभ, अज्ञानता, अविवेकी, दुष्कर्म र बुद्धिहीनतामा ढक्कन लगाउनुपर्छ। सकारात्मक सोच र विचारले जीवनको उज्यालोलाई झलमल्ल पार्छन्। तर, नकरात्मक भावले जीवनको रोषनीलाई निष्पट तुल्याइदिन्छन्। त्यसैले सद्‍भावका साथ सधैँ जीवनलाई सत्कर्ममा अगाडि बढाइरहौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.