नेपालका ६ विद्युत् आयोजनामार्फत थप दुई सय मेगावाट बिजुली किन्दै भारत
काठमाडौं । भारत सरकारले नेपालका ६ वटा विद्युत आयोजनामार्फत थप करीब २०० मेगावाट बिजुली किन्ने भएको छ।
भारतले नेपालबाट थप १९९.७० मेगावाट विद्युत् (बिजुली) आयात गर्न स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता राजन कुमार ढकालका अनुसार अब नेपालले कुल ११४०.७० मेगावाट बिजुली भारत निर्यात गर्नेछ। यो निर्णय हरियाणा राज्यलाई लक्षित मध्यकालीन सम्झौता अन्र्तगत (चार वर्ष) का लागि गरिएको हो।
नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काबेली खोला जलविद्युत आयोजनाबाट ६.८१ मेगावाट बिजुली भारत निर्यात गर्ने छ।
यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गरिरहेको थियो। भारतले अब थप विद्युत आयात गर्ने भएसँगै नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यात हुनेछ। जसमा हरियाणा राज्यलाई ४३५.२ मेगावाट बिजुली बिक्री हुनेछ।
उक्त विद्युत आगामी अक्टोबरसम्म बिक्री गरिने छ र यसको बिक्रीदर प्रतियुनिट ८.७२ रुपैयाँ ७२ हुनेछ। यस बाहेक नेपालले बंगलादेशमा समेत ४० मेगावाट बिजुली विक्री गर्दै आएको छ।
नेपाल सरकारको ऊर्जा विकास मार्गचित्र अनुसार नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ। त्यसमध्ये १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र बाँकी १३ हजार ५ सय मेगावाट विद्युत देशभित्रै खपत गर्ने लक्ष्य राखिएको छ।
प्राधिकरणका अनुसार नेपालले आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात गरेको थियो भने २ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment