कर्णाली प्रदेश नघुमे पछि परिन्छ

भूमिका गैरे तिमिल्सिना
२९ साउन २०८२ १२:१९
100
Shares

नेपालको मध्यपश्चिमी भागमा रहेको कर्णाली प्रदेश नं. ६ सुन्दरतामा अब्बल धनी रहेको पाइन्छ। यसको उत्तरमा चीनको तिब्बत स्वशासित क्षेत्र, पूर्वमा गण्डकी प्रदेश, पश्चिममा सुदुरपश्चिमी प्रदेश र दक्षिणमा लुम्बिनी प्रदेश सिमाना रहेको छ। कर्णाली प्रदेशको नाम कर्णाली नदीसँगै जोडिएको छ। कर्णाली नदीसँगको इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको पाइन्छ।

तिब्बतको पठारमा पर्ने कैलाश पर्वतको फेदीमा रहेको मानसरोवरबाट शुरू हुने यो नदी भारतको गंगा नदीमा गएर मिसिन्छ। तीनवटा देश भएर बग्ने कर्णाली नदीका नाम पनि तीनवटै छन्। नेपालमा कर्णाली, भारतमा घाघरा र चीनमा कुङ् जिआआो नामले चिनिन्छ। यस नदीमा हिमाली माछादेखि गोहीसम्म पाइन्छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालको औसत आयु सबैभन्दा बढी भएको प्रदेश कर्णाली प्रदेश रहेको पाइन्छ। यस प्रदेशमा सबैभन्दा बढी जनघनत्व भएको जिल्ला सुर्खेत हो भने सबैभन्दा कम जनघनत्व रहेको जिल्ला डोल्पा हो। यस प्रदेशमा हिन्दुहरुको बाहुल्यता रहेको पाइन्छ।

कर्णाली प्रदेशमा बसोबास गर्ने मुख्य जातजातिहरुमा ब्राह्मण, क्षेत्री, ठकुरी, मगर, थारू, राउटे, राजी, वादी, गुरूङ र डोल्पो जाति रहेको पाइन्छ। यहाँ नेपाली, खस, मगर र थारू आदि भाषा बोलेको पाइन्छ। यस प्रदेशमा मनाइने चाडपर्वमा दशैं, तिहार, जनैपूर्णिमा, साउने सङ्क्रान्ति आदि मनाएको पाइन्छ।

यहाँका प्रमुख धार्मिक स्थलहरूमा बाला त्रिपुरासुन्दरी, चन्दननाथ, शे- गुम्वा,देउती बज्यै, पञ्चदेवल आदि रहेका छन्। त्यस्तै गरी पर्यटन उद्योगमा काँक्रेविहार,शे- फोक्सुण्डो, राराताल, चन्दननाथ, मानसरोवर पदयात्रा आदि रहेको पाइन्छ।

कर्णाली प्रदेशमा सडक यातायातको पूर्वाधार त्यति राम्रो नभएपनि त्यहाँ हवाई यातायातको सुविधा धेरै जिल्लाहरूमा पुगेको छ। नेपालगञ्ज र सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला लगायतका क्षेत्रमा हवाइयातायातबाट पुग्न सकिन्छ।

कर्णाली प्रदेशमा १० वटा जिल्लाहरू रहेका छन्। जसमा सुर्खेत, सल्याङ, दैलेख, जाजरकोट, रूकुम पश्चिम, कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्ला रहेका छन् भने यसको राजधानी सुर्खेत रहेको छ।

जुम्ला जिल्लाको प्रमुख अन्नबालीहरुमा मकै, कोदो जौँ, विश्वको उच्च स्थानमा फल्ने धान, गहूँ, कागुनो, चिनो, फापर, उवा हुन् भने फलफूलमा स्याऊ, ओखर, खुर्पानी आरू, आरूबखडा आदि पाइन्छ।

कान्जिरोवा हिमाल ६८८३ मीटरको उचाइमा रहेको छ। हिम नदीहरू मिसिएर बग्ने कर्णाली नदी समग्र सिन्जा क्षेत्र हुँदै दक्षिणतर्फ बग्ने एक प्रमुख नदी हो। यस नदीले सिन्जा क्षेत्रमा रहेका अधिकांश जमिनलाई सिंचित गरेको पाइन्छ। सिंचाइ खानेपानी तथा विद्धुत उत्पादनको दृष्टिले महत्वपूर्ण मानिने यो नदी सिन्जा सभ्यताको विकासको मूलभूत पक्ष पनि मानिन्छ।

चन्दननाथ मन्दिर जुम्ला जिल्लाको सदरमुकाममा जिल्ला प्रशासन कार्यालयको अगाडि रहेको छ। ब्रह्मा, विष्णु र शिवजीको स्वरूप दत्तात्रेयको चरण पादुका र चाँदीको त्रिमुखी मूर्ति भएको चन्दननाथ बाबाको मन्दिर प्रसिद्ध रुपमा रहेको छ। यसको ऐतिहासिक, धार्मिक, पैराणिक मान्यता रहेको गुरू दत्तात्रेय र भैरव स्थापना सत्ययुग देखि नै भएको मान्यता पाइन्छ।

अर्को मान्यता अनुसार द्वापर युगको समयमा जुम्ला जिल्लाको सिन्जा क्षेत्रमा अवस्थित हाल विराट गा. वि.स. को पश्चिम शिरको उत्तरतर्फको डाँडोमा विराट राजाको दरवारको दक्षिण पश्चिममा पाण्डव गुफा अवस्थित रहेको पाइन्छ। पाण्डव, कौरव युद्धको समयमा कौरव पक्षबाट लखेटिएका पाँच भाइ पाण्डवसहित पत्नी द्रोपदी यस गुफा/ विराट राजाको दरबारमा विभिन्न रूप धारण गरी गुप्त बास बसेका थिए भन्ने किंवदन्ती पाइन्छ। उक्त समयमा पाण्डव तथा विराट राजाले प्रयोग गर्ने विभिन्न पुरातात्त्विक महत्त्वका सामग्रीहरु फेला परेको पाइन्छ।

बाबा भैरवनाथको मन्दिर ब्रह्मा, विष्णु र शिवको स्वरूपधारी श्री दत्तात्रेयको सहयोगी तान्त्रिक देवताका रूपमा प्रतिष्ठित श्री भैरवनाथ बटुकको कोखबाट प्रकट भएको हुनाले बटुक भैरवनाथ भनिएको हो।

भगवान शिव, पार्वती र गंगाका जेष्ठ पुत्र कुमार कार्तिके नेपाल भूमिमा घुमफिरको लागि आउँदा जुम्ला जिल्ला स्थित कार्तिक स्वामी गा. वि. स. ४ का गैरा गाउँ भन्ने ठाउँमा बास बस्न पुगेका र त्यसक्रममा एकजना सुस्त मनस्थितिको गोठालोलाई भेटी वार्तालाप गरी लेकतर्फ प्रस्थान गरेका थिए। सोही समयमा जुम्ला जिल्ला र जाजरकोट जिल्लाको सीमा क्षेत्रमा अवस्थित कार्तिक कुमारद्वारमा पशु चौपायाको वर माग्दा पूर्ण हुने जनविश्वास रहेको पाइन्छ।

कर्णाली एउटा सभ्यता हो। ठूला-ठूला शहरहरूको मानव सभ्यताको विकास नदीसँग जोडिएको हुन्छ। एथेन्स, मेसोपोटोमिया, रोमन सभ्यता नदीसँग जोडिएको सभ्यता जस्तै नेपालको कर्णाली पनि नदीसँगै जोडिएको मानव सभ्यता र संस्कृतिसँग जोडिएको पुरानो सभ्यता रहेको पाइन्छ।

कर्णाली प्रदेश अन्तर्गतका १० जिल्लाहरुमध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो। परापूर्वकालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न नाग आउँदा स्वामी दत्तात्रेयको शक्तिले ती दुबै नाग भष्म भएका थिए।

यसरी भष्म भएका ती दुबै नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश भई त्यस जिल्लाको नाम जुम्ला रहन गएको किंवदन्ती पाइन्छ भने अर्को तर्फ तिला र जवा दुई जुम्ल्याहा नदीको संगम भएकाले यस जिल्लाको नाम जुम्ला रहेको हो, भन्ने भनाइ पनि पाइन्छ।

भौगोलिक रूपमा विकट भएता पनि जुम्ला जिल्लाको ऐतिहासिक महत्व रहेको छ। नेपाल एकिकरण हुनुभन्दा पूर्व बाइसे राज्यहरूको मुख्य केन्द्रका रुपमा रहेको जुम्ला नेपाली भाषा र संस्कृतिको उद्गम स्थल रहेको पाइन्छ।

इतिहासका पाना पल्टाएर हेर्ने हो, भने कर्णाली एक शक्तिशाली र समृद्ध राज्य थियो। एघारौं शताब्दीका राजा नागराजले नेपालको सपादलक्षयभूमिमा खस राज्यको स्थापना गरेका थिए।

यीनै नागराज तिब्बतको खारी प्रदेशबाट कर्णाली सिञ्चित भूमिमा आएर सिन्जालाई राजधानी बनाई शासन गरेको इतिहास पाइन्छ। कर्णाली नदीको आसपास हुँदै चीनको गुगे बराङ्गबाट हुम्ला, जुम्ला, दुल्लु, सुर्खेत हुँदै दक्षिणमा भारतसम्म व्यापारिक क्षेत्रमा समृद्धि प्राप्त गरेका थिए। वि. सं. १८४६ सालमा जुम्ला राज्य नेपाल एकिकरणमा गाभिएपछि केन्द्रीय सत्ताबाट ओझेलमा परी आर्थिक र सामाजिक रूपमा पछाडि परेको पाइन्छ।

खस राज्यले सिन्जालाई आर्थिक तथा व्यापारिक केन्द्र र दुल्लुलाई प्रशासनिक केन्द्रका रूपमा विकास गरेको पाइन्छ। कर्णालीमा सामुहिक विकास, सामुहिक पशुपालन, सामुहिक उत्पादन, व्यापार र आत्म निर्भरताका उदाहरणहरू प्रशस्त रहेको पाइन्छ

भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठुलो प्रदेश कर्णाली प्रदेशको क्षेत्रफल २७,९८४ वर्ग किलो मिटर रहेको छ। जसमा हिमाली क्षेत्र ४७% पहाडी क्षेत्र ४८% र चुरे क्षेत्र ५% ओगटेको छ।

समुन्द्री सतहबाट ७३४८ मीटरको सबैभन्दा अग्लो भू- भाग कर्णाली प्रदेशको चुरेन् हिमाल डोल्पामा रहेको छ भने समुन्द्री सतहबाट १८० मीटरको सबैभन्दा होचो भू-भाग कर्णाली भेरी नदीको दोभान जामु कुइने रहेको छ। त्यहाँको हावापानी लेकाली, टुन्ड्रा, समशीतोष्ण,शीतोष्ण रहेको पाइन्छ।

कर्णाली प्रदेशमा रहेका तालहरू

१. मुगु जिल्लामा रहेको रारा ताल समुन्द्री सतहबाट २९९० मीटरको उचाइमा अवस्थित नेपालको सबैभन्दा ठूलो ताल हो। यसलाई महेन्द्र ताल भनेर पनि चिनिन्छ। यो कचौरा आकारको रहेको छ।

२. डोल्पा जिल्लामा से. फोक्सुन्डो ताल समुन्द्री सतहबाट ३६१३ मीटरको उचाइमा रहेको यो ताल y आकारको रहेको छ। यस ताललाई सबैभन्दा गहिरो ताल भनेर चिनिन्छ।

३. सल्याङ जिल्लामा कुपिण्डे दह रहेको छ।

४. सुर्खेत जिल्ला बुलबुले ताल समुन्द्री सतहदेखि ६५७ मीटरको उचाइमा अवस्थित रहेको छ।

५. रुकुम पश्चिममा स्यार्पुताल रहेको छ। यो ताल हिउँदमा ९ देखि वर्षामा २३ मीटरसम्म गहिरो हुन्छ।

कर्णाली प्रदेशमा रहेका गुफाहरु

पाण्डु गुफा जुम्लामा, चाँदनी साततले गुफा सल्यानमा र चमेरो गुफा सुर्खेतमा रहेका छन्।

कर्णाली प्रदेश नेपालकै सबैभन्दा बढी घाँसे मैदान भएको प्रदेश हो। २००० देखि ३५०० मीटरसम्म ओखर, धुपी, गोब्रे सल्ला, देवदार ,भोजपत्र पाइन्छ। त्यसभन्दा माथि ३५०० देखि ५००० मीटर सम्ममा धुपी, जङ्‌गली गुराँस आदि पाइन्छ भने ५००० मीटरभन्दा माथि झ्याउ र लेउँ पाइन्छ।

कर्णाली प्रदेशमा पर्ने राष्ट्रिय निकुञ्जहरू

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज

रारा राष्ट्रिय निकुञ्ज

बाँके राष्ट्रिय निकुञ्ज

कर्णाली प्रदेश क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो प्रदेश, जनसङ्‌ख्याको आधारमा सबैभन्दा सानो र कम जनघनत्व भएको प्रदेश भनेर चिनिन्छ। चीनलाई छुने एकमात्र प्रदेश र जडिबुटीको राजधानी भनेर पनि चिनिन्छ।

बहुआयामिक गरिबी सबैभन्दा धेरै भएको, सबैभन्दा कम प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र भएको प्रदेश र कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा कम योगदान भएको प्रदेश भनेर पनि चिनिन्छ।

यातायात, सञ्चार र आधुनिकिकरणको दृष्टिकोणले विकट र दुर्गम भए तापनि अति सुन्दर, चम्किला हिमाल चुचुराहरू, तालहरू र मनमोहक अनगिन्ती प्राकृतिक नदीहरूले सिङ्गारिएको कर्णाली प्राकृतिक सम्पदा र संस्कृतिमा अत्यन्त अब्बल जिल्ला रहेको पाइन्छ।

भौगोलिक रूपमा अति सुन्दर र पर्यटकीय सम्भावना बोकेको स्वर्गतुल्य कर्णालीमा विकासका लहर पुर्याउन राजनीतिमा सर्वथा,कर्मचारीमा प्रतिबद्धता, विज्ञमा स्पष्टता, कानुनमा गतिशीलता र स्रोतसाधनमा सुनिश्चितता भए विकास अघि बढ्न सक्छ।

नेपाली भाषाको उद्गम बिन्दु, प्राकृतिक सुन्दरताले भरिपूर्ण, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाले सुसज्जित, पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेशमा सरोकारवालाको ध्यान जानु आवश्यक देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.