लघुकथा: लाटी
भैंसेपाटी क्वाटरमा सरेको दिन पवित्रा आफै रोमान्चित थिई।
“आम्मा, कति राम्रो घरमा सर्नुभएछ! कति ठूलो र सफा पनि! फूलबारी पनि कत्ति राम्रो! !…पहिले बसेको घर त, छ्या!” सर्वदाले कोठाचोटा सबैतिर दृष्टि दौडाएर भनी।
सयन कक्षमा सर्वदाको बखान हुबहु खोली-पवित्राले। र, थपी “पद खुस्किएको दिन फेरि डेरा खोज्दै हिँड्नु पर्यो भने त…”
“लाटी!” भावनाको कुनै खास स्तरमा पुगेपछि ऊ श्रीमतीलाई ‘लाटी’ भन्थ्यो; अहिले पनि त्यो दोहोर्यायो।
उसलाई पनि लाग्यो-‘पदमा पुगेर पनि केही जोड्न सकिएन भने सम्मृद्धि डाँडापारि नै रहन्छ; समाजले पनि हुतिहारा भन्छ। केही त गर्नै पर्छ।’
भोलिपल्ट बिहान पिएले भन्यो “एउटा राम्रो अवसर आएको छ। एउटा लाइसेन्स! जाबो, एउटा लाइसेन्स ! …त्यति । …मुद्धा परेछ भने पनि खारेजको फैसला आउँदासम्म यता के के पो भई सक्छ!”
पिएले भनेको कुरा उसले सबै बुझ्यो। अलिक कुनातिर लगेर थप स्पष्ट हुन खोज्यो। पवित्राले भनेको पनि सम्झियो- ‘पद खुस्किएको दिन फेरि डेरा खोज्दै हिड्नु पर्यो भने त…’
पवित्राको अनुहार पनि आयो- दृष्टिसामु। र, उसले उसैगरी मनमनै दोहोर्यायो- ‘लाटी!’







डिसी नेपाल








Facebook Comment