कविता :प्रश्न ?
“बा” को “बा”ले बालाई
गरेको प्रश्न-
उमेर भयो त केटा अब बिबाह गर्ने होइन?
बाले बाको प्रश्नलाई स्वीकार्दै
कसैको ज्वाईं-
कसैको पति बन्न
थुप्रै प्रश्नहरुको गरे सामना
बिबाह सम्पन्न भयो।
फेरि आर्को प्रश्न
अब के छ बिचार सन्तान बारे ?
मेरो हजुरबा-
बा को चाहिँ बा को नयाँ प्रश्न-
हजुर बा को प्रश्न को उत्तर हो म !
म जन्मनु मेरो रहर होइन ।
कसैले कोही माथि गरेको प्रश्नको
उपलब्धि हो क्यारे !
म जन्मनु , म हुर्कनुमा पनि छन् धेरै
अनगिन्ती प्रश्नहरु ?
मेरी आमाले पहिलोपटक लामालाई गरेको प्रश्न
गुरु कस्तो छ मेरो छोराको भाग्य ?
बिचरी मेरी आमा-
आफ्नै भाग्यको अत्तोपत्तो नभएको मान्छे सँग
छोरा को सुनिश्चित भाग्य को गर्दै थियो खोजी-
बुझ्ने भएको छु ।
प्रश्नै प्रश्नैको पर्खाल ले घेरेको हुँदा रहेछ जिन्दगी
00000
उमेर भन्दा धेरै ज्ञानको किताब बोकाएर
मस्तिष्कले पचाउन नसकिने
ज्ञान-गुणको कुरा थोपरेर
बाँचेको जीवन भन्दा भारी
प्रश्नहरु गर्छन् स्कुलले-
गृहकार्य गरेर ल्याइस् ?
घरमा गएर के के गरिस् ?
ठूलो भएर के बन्छस् ?
आफ्नै परिवारमा पक्का परिचित भैनसकेको कोपिलालाई
गर्नेछन् अनेकन प्रश्न ?
एउटा बालक वयस्क हुन्छ
पुनः ओइरो लाग्छ ।
प्रश्नहरु-
उच्चशिक्षा हासिल गरे लगत्तै
जागिर खोजेर खान्छौ कि?
परदेश जान्छौ ?
-अनि बिबाह कहिले गर्छौ ?
जीवन यात्राको टुंगो छैन
प्रश्नहरुको थाकले
हिरिक्कै बनाउँछ ।
लाग्छ निजी कारागार बनाएर थुनिदिउँ
उतै कतै –
अर्थहीन प्रश्नहरु झेल्नुको बदला
जिन्दगी प्रश्नै-प्रश्न को कुन्यौं जस्तो हुदो रहेछ-
0000
एक्लिएर एकान्तमा आफूजस्तै बन्न दिँदैनन्
सम्बन्धको जून हत्केलामा बोकी
मौन साँझलाई जिस्काउन आइपुग्छ
प्रश्न को बगैंचामा फक्रेकी
-बाटुली
बाटुलो अनुहार भएकी बाटुलिको
भयंकर प्रश्न !
-अब बा बन्ने बेला भएको छैन र?
मौनता भंग हुन्छ
मानौ शक्तिशाली भुकम्प को झट्का
खसेको छ जिन्दगीमाथी
बा बन्नु सँगै जिम्मेवारीको प्रश्नहरु
सनाई बजाएर
लर्को लागेर आइदिन्छ मेरो कल्पनापुरको
कल्पित सुन्दर गाम-बेंसिमा-
के-के गर्ने ?
के-के नगर्ने ?
बासी भएर बाँच्ने होकि ?
साजी भएर बाँच्ने ?
भरपुर आनन्द लिएर बाँच्ने होकि ?
जिउँदै मरेतुल्य बनेर मृत्यु कुर्ने ?
अधिकांश प्रश्न उत्तर बिनानै मृत्यु वर्ण गर्छन्
कतिपय प्रश्नहरु यति जटिल हुन्छ्की ?
जुन प्रश्नको गाँठो फुकाउन
एउटा सिंगो जिन्दगी
एउटा सिंगो युग अपुग हुन्छ ।
जिन्दगी-
प्रश्नै-प्रश्नको बिराट पर्खाल
















Facebook Comment