अविस्मरणीय यात्रा
यस यात्रारुपी जीवनका मोडहरु पार गर्ने क्रममा केही वियोगान्त त केही सुखान्त घटनाहरुले जीवनका केही क्षणलाई अविस्मरणीय र पछिसम्म पनि संस्मरणयोग्य बनाउने रहेछ। जीवनको संघर्षपूर्ण यात्रामा गन्तव्य खोज्न दौड्ने क्रममा एक अविस्मरणीय क्षण भनौँ या यात्र आज पनि मेरो मन मस्तिष्कमा ताजै रहेको आभाष हुन्छ।
आजभन्दा दुई दशक अगाडि अर्थात् २०६० साल चैत्र महिनाको हो। आइरन गेट मानिने प्रवेशिका परिक्षा ९एस.एल.सी.० को लागि मैले बुडर जानुपर्ने भएकोले म त्यसको तयारीमा थिए। एस. एल. सी. परीक्षालाई जो कोही विद्यार्थीले एक महत्वपूर्ण परीक्षाको रुपमा लिन्छन्।
त्यसो त अरु परीक्षा कम महत्वका छैनन् भन्न खोजेको हैन। त्यतिबेलाको देशको परस्थिति र वातावरणबारे मैले कोट्याइरहनु पर्ला जस्तो लाग्दैन। तपाईं हामी सबै नेपालीले त्यो समस्या भोग्दै र अनुभव गर्दै आएका हौँ। विद्रोही पक्ष ने.क.पा. माओवादी र नेपाल सरकारबीच युद्धको संघर्ष चलिरहेको थियो।
माओवादीबाट आफ्ना मागप्रति ध्यानाकर्षण गराउन सरकारका विरुद्ध विभिन्न संघर्षका कार्यक्रमहरु तय गरिएका थिए। कहिले नेपाल बन्द, कहिले चक्काजाम त कहिले शैक्षिक संस्था बन्द। जसका बाबजुद निर्दोष विद्यार्थी मात्र नभएर सम्पूर्ण नेपाली जनताहरु आजित थिए।
गाउँका स्कुलहरुमा विद्यार्थीको संख्या न्युन भइसकेको थियो। अभियानका नाममा विद्यार्थीलाई टाढा-टाढासम्म हिँडाउनाले विद्यार्थीहरु त्रसित थिए। गाउँबाट डरले सहरमा आफ्ना आफन्तहरु वा कोठा भाडामा लिएरै भए पनि बस्नु पर्ने बाध्य थिए।
धेरैजसो विद्यार्थीहरु पढाई छोडेर कामको खोजीमा विदेशिन बाध्य भएका थिए। हो, त्यस्तै भएको मेरो स्थिति। एस. एल. सी.को तयारीमा म गाउँ (पहाड) बाट सहर (धनगढी) झरेको थिए। चैत्र १४ गतेबाट थियो एस. एल. सी.को परिक्षा सुरु हुने भनेर रुटिन पनि आइसकेको थियो।
हाम्रो विद्यालय (नवोदय मा.वि. गडसेरा) को परीक्षा केन्द्र बुडर, डोटी हुने भएकाले मैले पनि बुडर जानुपर्ने भयो। ठिक त्यसै समयमा भनौं या चैत्र १० गते देखि माओवादीको आह्वानमा चक्का जामको निर्णय आयो। बुडर जान गाडीमा जानुपर्न भएकोले १० गतेबाट चक्काजाम हुन्छ भने हामीहरु ९ गते नै बुडर तिर प्रस्थान गर्यौँ।
१४ गतेबाट परीक्षा सुुरु भयो। परीक्षा पनि राम्रै भयो जसको प्रतिफल राम्रो नै पाइयो। २४ गते परिक्षा त सिद्धियो तर चक्काजाम भने खुलेन। २६ गते चक्काजाम खुल्ने भयो, जसको लागि हामीहरुले अझ ३ दिन बढी बस्नुपर्ने हुन्छ। होटलमै खाना, होटलमै बस्नुले हाम्रो साथमा लगेको पैसा सिद्धिन लागिसकेको थियो।
त्यसैले हामीहरुले अब घर आउनु भन्दा अरु कुनै विकल्प थिएन। गाउँ तिरको वातावरण त्यति ठिक नभएकोले मलगायत अन्य साथीहरु पुन ः धनगढी मै आउने योजनामा थियौँ। सबैको सर–सल्लाह अनुसार पैदल यात्रा नै गरेर धनगढी आउने निर्णय गर्यौँ।
बिहानीको प्रभातीकिरण सँगै अनि चिसो चिसो मन्दमन्द चलिरहेको हावाको गतिसँगै हामीहरुले २५ गते विहानै बुडर बाट विदा लिई धनगढीको लागि पैदल यात्रा सुरु गर्यौँ। वास्तवमा जहाँ बस्यो, त्यहाको माया लागिहाल्दो रहेछ।
बुडरमा करिब दुई हप्ता बस्दा नै त्यसठाउँ प्रति कता कता माया बसेर आउँथ्यो। त्यहाँका बोटवृक्ष, डाँडाकाँडा, ढुंगामाटो अनि चराचुरुङ्गीहरुले हामीलाई नववर्षको शुभकामनाका दिँदै परीक्षाको सफलताको कामनाका साथ बिदाइका हात हल्लाएको भान हुन्थ्यो।
हामीहरुले पनि नववर्षको शुभकामनाका साथ फेरि झेट्ने आशामा बाइबाइ र टाटा गर्दै आ-आफ्ना पोकापुन्टुराका साथ यात्रालाई अघि बढायौँ। बिहानीको शितल वातावरणमा सबैमा हिँड्ने जोश र जाँगर थियो, सबैलाई गर्मीको महसुस हुन थाल्यो।
विस्तार विस्तारै थकाइ र गर्मी अनि भोकले हामीहरुको यात्रामा केही बाधा सिर्जना गरेको भान हुन्थ्यो। यसरी यति लामो पैदल यात्राको यात्री भएर जीवनभरमा त्यस दिन मात्र हिँड्नु परेको थियो। प्रकृतिको काखमा रमाउँदै हाँसो, दिल्लगी गर्दै फल्टुडे पुगेको पत्तै भएन। केही छिनको आराम पछि फेरि हाम्रो यात्रा अघि बढ्यो। केही चिउरा, बिस्कुट अनि चाउचाउ टोक्दै आ-आफ्नो उर्जा शक्ति बढाउँदै हिड्यौँ।
पतझड मौसम सिद्धिएर बसन्तको आगवन भैसकेको कुरा त्यहाँका बोटवृक्ष अनि चराचुरुङ्गीले दिइरहेका हुन्थे। यदि मानव भई दिँदा हुन त वर्षमा अनेकौं नयाँ नायाँ लुगा लागाइ सक्दा हुन् तर वर्षमा एकै पटक भएपनि प्रकृतिले यिनीहरुलाई नयाँ पल्लव नयाँ पालुवा पहिराइ दिएको हुन्छ।
प्रकृतिको यस्तो शोभायमान दृश्यले जो कोही मान्छेको मन हरण नगर्ला भन्न सकिन्न। साथीहरुको मधुर स्वरबाट गुञ्जित गीतहरुलाई वनका चराचुरुङ्गीहरुले संगित भरेर वातावरण संगीतमय बनाइ दिएको थियो। यात्राको क्रममा ठाउँठाउँमा देखिने बेलालराहरुलाई घुम्टो ओढेर एक नव दुलही जस्ती लज्जित भएर निहुरिएको जस्तो लाग्थ्यो।
जसले वातावरणलाई रमणीय र हेर्न लायक बनाएको थियो। करिब ९ बजेतिर सहजपुर पुगियो। थकाईले गर्दा खुट्टा गलिसकेका थिए। अघि बढ्ने शुर कसैमा थिएन। पिठ्युँबाट झोला झिकेर सबैजना एउटा पसलतिर लाग्यौँ। चियानस्तासँगै मिठामिठा गफ गर्दै केही छिन पसलमै बितायौँ। हाम्रो सामु ठूलो पहाड खडा भएको थियो।
सहजपुर बजारबाट अब हामी ओकालो लाग्यौँ। केही छिनको विश्राम र चियानास्ताले हामीहरुमा ओकालो चढ्ने अलिकति हौसला र उत्साह थपेको थियो। क्रमशः थकान, गर्मी अनि प्यासले डेरा जमाउन थालिसकेको थियौं। पहाडको ओकालो चढ्दा शरीरको सम्पूर्ण चाप घुँडामा नै पथ्र्यो। उकालोमा कुरा गर्ने र गफ दिने कसैको मुड हुँदैन।
आ-आफ्नै मनका तानावाना बुन्दै पैतला सार्दै गैरहेका हुन्छौँ। बल्लतल्ल उकालो काटेर तेस्रो बाटो लाग्छ। डाँडाको टुप्पोबाट तल फेदीतिर हेर्दा सहजपुर बजारको रमणीय दृश्यावलोकनले यो मन कता कता आनन्दित हुन्थ्यो।
बाटोभरी हाँसो, ठट्टा, थोरबहुत चुट्किला तथा गाउँखाने कथा भन्दै हाम्रो पैदल यात्रालाई मनोरञ्जनपूर्ण, ज्ञानबर्दक तथा अविष्मरणीय बनाउँदै थियौँ। हिँड्दा हिँड्दै भासुमा पुगियो। सडकबाट तलदेखि माथिसम्म हेर्दा डरलागेर आउथ्यो भने अर्कोतिर हेरिरहुँजस्तो पनि लाग्थ्यो। यस्तो भिरमा कसरी सडक निर्माण गर्यो होला?
यो सडक निर्माण गर्ने बेला कसैको ज्यान पनि त गयो होला नी ? विज्ञान र प्रविधिको चमत्कारले यस्तो चट्टान पहाडमा सडक बनाएर कस्तो जादु देखाइदिएको होला? यस्ता यस्तै प्रश्नहरु मेरो मनमा खेलिरहेका थिए।
सडकको छेउछाउमा बनाइएका शिलालेखबाट विभिन्न समयमा त्यहाँ भएका दुर्घटनाहरुको स्पष्ट जानकारी पाउन सकिन्थ्यो। भसुको त्यो ओरालो सडकमा आफैँलाई नियन्त्रण गर्न गाह्रो पथ्र्यो। साथमा लिएको विस्कुट, चाउचाउ र चिउरा सिद्धिसकेको थियो। गर्मीमा सुख्खा खानेकुरा खाएकोले होला तिर्खा लागेर हिँड्नै गाह्रो पथ्र्यो।
न त त्यहाँ छेउछाउमा कुनै पसल थिए, न त पानीका मुहानहरु। भोक, तिर्खा अनि थकाई सँग जुज्धै हाम्रो यात्रा अघि बढ्दै थियो। हामी मध्यका दुई जना साथीहरु अलि अगाडि गएर खानीडाँडामा खाना खाने आशाले प्रकृतिको सुन्दर छटा अनि रमणीय दृश्यहरुलाई नियाल्दै, ठट्टा रमाइलो गर्दै पछि पछि लाग्यौं।
बल्लतल्ल एक बजेतिर खानीडाँडा बजारमा पुग्यौँ। सबैजना खाना खान आँतुर देखिन्थे। ‘‘ल हजुर तातो खाना, बस्नुहोस् हजुर, बस्नुहोस्, दाल, भात, तरकारी हजुर, रोटी खानेलाई रोटी पनि छ। हजुर आउनुहोस् हजुर” खानीडाँडाका प्रत्येक होटलबाट यस्ता यस्तै शब्दहरु सुनिन्थे।
धनगढीबाट जाने बसहरु प्राय : गरेर यसै ठाउँमा खाना खान्छन् तर यसबेला पनि चक्काजामको कारण त्यस्तो भिडभाड देखिने खानीडाँडा शून्य लाग्थ्यो। खानीडाँडाको चिसो पानीले हातमुख सफा गरेर फ्रेस बन्यौ। खाना बन्दै थियो। सबैजना थाकेकाले होला कुर्सीमा अढेस लगाएर हाई गाड्न लागिसकेका देखिन्थे।
मेरा आँखा भने केबल भान्सामा नै केन्द्रित थिए। ‘‘ल हजुर खाना तयार भयो, बसौँ खाना खान” एक जना अधबँैसे आमाले खाना तयार भएको संकेत गरिन्। सवैजना खाना खान बस्यौँ। भोकाएर होलान् सबैजना खाना खान नै बढी व्यस्त देखिन्थे।
तर एकजना साथी बिचैमा प्याच्च बोलिहाले – ‘‘अहो ! कस्तो बोर भो, तरकारीमा हो वा भातमा किरा पो आएछ।” सबैजना भातखान छोडेर उठिसकेका थिए। खाना खाने कार्यक्रम पनि सिद्धियो। केही छिनको आरामपछि त्यहाँबाट आफ्नो गन्तव्य अघि बढायौँ।
बाटोभरि हामीहरुमा एक किसिमको भित्रभित्रै डर पनि थियो ‘‘कहीँ कतै माओवादीले भेटे भने अभियानमा लग्यो भने त बबालै हुन्छ।” यस्ता यस्तै कुराहरुको डरले हामीहरु खुलेरै कुरा गर्न सकिरा थिएनौं। भोकाएकोले टन्न खाना खाइयो। अब भने हिँड्न अप्ठ्यारो भइसकेको थियो।
हिँड्नलाई लठ्ठीको जरुरत परेको महसुश हुन्थ्यो। आफूसँग भएको लठ्ठी साथीलाई दिई सकेको थिएँ। एक्कासी मेरो पेट दुख्न थाल्यो। हिँडाइमा केही सुस्तता आइसकेको थियो। सँगैका साथीहरु अघि बढिसकेका थिए। तैपनि सकिनसकी उनीहरुको पछि हिँड्दै थिए।
तर मेरो पेट झन् झन् बढी दुख्दै गयो। म हिँड्न नसकेर सडकको किनारमा थुचुक्क बसेँ। यसरी म नआएको देखेर एकजना साथी आएर मलाई उठाए। हात समाती अगाडि लगे। म साथीको हातको सहायतामा विस्तार विस्तारै अघि बढेँ। मेरो नजर बाटोको छेउ छाउमा केन्द्रित थिए केबल हिँड्नको लागि सहायता माग्न लठ्ठी खोज्नमा।
तर मैले कहीँ कतै भेट्टाइन। हो, त्यति बेला मेरो नजर माथि खेतमा काम गरिरहेका एकजना कृषक दाजुको लठ्ठीमा परे। मनमा केही आशा लिएर आफ्नो समस्यालाई उहाँसामु प्रस्तुत गरेँ तर उहाँबाट केवल निराशा र गालीको पोको बोकेर उही स्थितिमा आफ्नो गन्तव्यलाई अघी बढाएँ।
मुस्किल मुस्किलले हामी साढे तीन बजे बुढितोला पुग्यौँ। एउटा पसलमा केही छिन आराम गरी, चिसो पानी पिएँ। त्यसपछि मात्र मेरो स्वास्थ्यमा क्रमिक सुधार आयो। एकै छिनमा म उही स्थितिमा फर्किएँ। फेरि हामीबीच हाँसो दिल्लगी सुरु भयो।
हाँसो ठट्टा अनि प्रकृतिको रमणीय बगैचामा मिठा मिठा गफ गर्दै हाम्रो यात्रा अगाडि बढ्दै थियो। हाम्रो अगाडि एउटा सैनिकको गस्ती टोली टक्क उभिएर सुरक्षा जाँचमा तम्तयार भयो। हामीहरु सबैजना मौन भयौँ। आ–आफ्ना झोलाहरु खोल्दै उनीहरुलाई देखायौँ।
उनीहरुका आवश्यक प्रश्नहरुको जवाफ दिँदा सबैजना दिक्क भइसकेका थियौँ। त्यहाँबाट पनि आफ्नो गन्तव्यतिर थाकिएका पाइलाहरु सुस्त सुस्त अघि बढाउँदै गयौँ। यस्तै हाँसो, ठट्टा गर्दै आपसमा भित्रताको साइनोलाई सद्भावले कस्दै रमाइलो वातावरणमा उकाली ओराली, लेक बेंसी र द्यौराली भञ्ज्याङ गर्दै कतिबेला थकाई लाग्छ बस्छौँ, भोक लाग्छ चिउरा, चाउचाउ अनि विस्कुट टोकेर बात मार्दै गोदावरी डाँडाको टुप्पोमा पुग्छौँ।
सबैजना टक्क उभिएर तराईको सुन्दर दृश्यलाई दृश्यावलोकन गर्दै मौन हुन्छौँ। त्यहाँबाट देखिने तराईको समथर हरियाली मैदानी फाँटहरु अनि नागबेली भएर आफ्नै गतिमा निरन्तर बागिरहेका ती नदीनालाहरुले नेपाल साँच्चै नै स्वर्ग भन्दा कम छैन भन्ने भाव हुन्थ्यो।
एउटा बगैँचामा मालीले जसरी काँटछाँट, गोडमेल गरेर सुन्दर र हेर्नलायक बनाएको हुन्छ, त्यस्तै नै थियो, तराईको रमणीय दृश्य। जो प्रकृतिले दिएको थियो। हो, त्यसै प्रकृतिले दिएको उपहारलाई पृथ्वीकै एक सभ्य र विवेकी एंव सचेत प्राणी मानिने मानव जातिले प्राकृतिक वातावरणमा आफ्नो आधिपत्य जमाएको जस्तो आभास हुन्थ्यो। आफ्नो हितको लागि वातावरणमा भविष्यको ख्यालै नगरी फडानी गरीरहेको देखिन्थ्यो।
गोदावरीको डाँडाबाट देखिने तराईको दृश्यले हामीहरुलाई गन्तव्य नजिक पुर्याएको भान हुन्थ्यो। रोडबाट जाँदा ढिलो पुगिने तर डाँडाको ओरालो बाटोबाट जाँदा छिटो पुगिने हुनाले हामीहरु डाँडाको बाटो तिर लाग्यौँ। सालका रुखहरु हुनाले सालका स्याउँलामा चिप्लिदै डाँडाको टुप्पोबाट सिधै फेदतिर पुगिन्थ्यो।
कति साथीलाई त चोट पनि लाग्थ्यो। ओरालोमा आफैँलाई नियन्त्रण गर्न गाह्रो पथ्र्यौ। स्याउँलामा चिप्लिँदा गाउँमा गाई चराउँन जाँदा जंगलमा चिप्लेटी खेलेको सम्झना आउँथ्यो। ओरालो सिद्धियो। सबैजना गोदावरी नदीको पुलमा आईपुग्छौँ। घडीमा पौने छ बजिसकेको हुन्छ। सूर्य पनि क्षितिजमा पुगिसकेको हुन्छ।
चराचुरुङ्गीहरु पनि चिरबीर चिरबीर गर्दै आफ्नो बसेरामा फर्कन थालिसकेका हुन्छन्। हामीलाई पनि दिनभरको थकानबाट विश्राम लिने संकेत गरेको आभास हुन्छ। बास बस्ने तर्खरमा हामीहरु गोदावरी बजारमा रोकिन्छौँ। केही साथीहरुले त्यहाँ भन्दा टाढा अर्थात् अत्तरिया पुगिहाल्ने जनाए।
हुन त तेघरी ब्यारेकमा ६ बजेपछि आवतजावत बन्द गरिहाल्थ्यो। तर पनि उनीहरु मिलिहाल्छ भनेर हामीबाट बिदाभइ अत्तरिया नै पुग्ने अठोटका साथ गन्तव्य तिर लागे। अरु बाँकी रहेका साथीहरु सबैजना होटलतिर लाग्यौँ। होटेलमा खानाको अडर गरी कोठातर्फ लाग्छौँ।
थाकेका हुनाले सबैजना मौन र थकित मुद्रामा देखिन्छन्। अब त कुरा गर्ने समेत मुड कसैमा हुन्न। थकाई मेटाउन कुखुराको मासु खाने एकजना साथीको प्रस्ताव बमोजिम सबैले पैसा उठाई एउटा लोकल कुखुरा ल्याएर काटकुट गरी मासु बनायौँ। कुखुराको मासु र भात टन्न खाएर निन्द्रा देवीको काखमा गुट्मुटियौँ। समय समयमा मच्छरको मुँ मुँ आवाजले निद्रा खल्बलिन्थ्यो। थकाईले गर्दा सबैजना छिट्टै सुतिहाल्यौँ।
बिहानीको भालेको बसाइसँगै हामीहरु उठ्यौँ। नजिकैको गोदावरी नदीमा बिहानको सरसफाई सिध्याएर चियानास्ता गरेर फेरि आफ्नै गन्तव्यमा आ-आफ्ना पोकापुन्टुरा बोकी पैदल यात्रामा तराईको समथर मैदान भू-भागको बीचमा तेस्रो बाटो लाग्यौँ। अब भने ओकालो ओरालो नभई बाटो सरल र सम्म परेको थियो।
अघिल्लो दिनको दिनभरको ओकाली ओरालीले सबैजना थाकिसकेका थियौँ। प्रत्येकका खुट्टा दुख्न थालिसकेका हुन्छन्। हिजोको जस्तो हिँड्ने शुर आज कसैमा पनि हुन्न। तैपनि हाँसो दिल्लगी गर्दै यात्रालाई निरन्तरता दिँदै अघि बढ्छौँ।
साढे आठ बजेतिर अत्तरिया पुग्यौँ। त्यहाँबाट एउटा एउटा रिक्सा खोजेर महङ्गो भाडामा धनगढी तिर लाग्यौँ। एउटा रिक्सामा ३÷३ जना बसेर ४ रिक्सा रिजर्भ गरेर धनगढी तिर लाग्यौँ। धनगढीमा कोही साथी चौराहा त कोही साथी क्याम्पसरोड, कोही साथी भन्सार रोड त कोही साथी तारानगर, हसनपुर तिर लाग्यौँ, विदाईका हात हल्लाउँदै।
यसरी हाम्रो बुडर देखिको यात्रा धनगढी सम्म आएर रोकियो। हाँसो, दिल्लगी, ठट्टा रमाइलो गर्दै प्रकृतिको काखमा रमाउँदै हाम्रो पैदल यात्रा एकदमै छोटो जस्तो लागेको भान हुन्थ्यो। सायद अब यस्तो समय अब कहिल्यै पनि आउँदैन। त्यो अविस्मरणीय क्षण अर्थात् यात्रा आज पनि मेरो मन मस्तिष्कमा ताजै छ भन्दा फरक नपर्ला। पहाडको यात्रा गर्दा आज पनि त्यहि पैदल यात्राको झलझली सम्झना आउँछ।
गडसेरा, स्यालकोटीला, डोटी
















Facebook Comment