कथा : दुर्घटना 

सुभाष सङ्कल्प भण्डारी
१४ भदौ २०८२ ६:५१
104
Shares

बिहानभर घरमै थिएँ। स्कुलको कामले गर्दा बिहानभर कोठामै व्यस्त रहेँ। बसन्त ऋतुको आगमनी भैसकेको थियो क्यार। वातावरण हराभरा थियो। वृक्षहरुले नयाँ पालुवाहरु पहिरिसकेका थिए।

मानिस हु्ँदा हुन त वर्षादिनमा हजारौं पटक वस्त्र पहिरिसकेका हुन्थे होलान्। तर यी त वनैया वृक्ष पो भए। तैपनि प्रकृतिले यिनीहरुलाई वर्ष दिनमा एक पटक भए पनि नयाँ वस्त्र यानी कि पालुवा फेर्ने अवसर दिएको छ।

बैशाखको टन्टनापुर घाम। कोठाभित्र पनि बसिनसक्नु छ। कृत्रिम हावाको भरमा मुस्किलैले ज्यान बचिरहेको भान हुन्छ। सायद पहाडमा हुँदो हुँ त, हरियो रुखको छहारीमा काफल गेडी खाँदै हुन्थे होला। बनैया चरीहरुको संगीतकमा स्वर मिसाएर गित गाउँदै हुन्थे होला।

खोलामा गएर पौडी खेल्दै प्रकृतिमा सुन्दर उपहारहरुलाई सदुपयोग गरिरहेको हुन्थे होला। बाख्रा चराउँदा ऐसेलुँ र त्रिफुलाको स्वादसँगै लुकामारी खेलिरहेको हुन्थे होला।

अहो! म त भावनाको दुनियाँमा धेरै टाढा गएँछु। त्यही बाल्यकालको मिठो अतितले चिमोठ्न थाल्छ। काउगुती लाग्छ। हाँस्न थाल्छु। एफ. एम बजिरहेको छ। संयोग मान्नुपर्छ, पहाडकी माया बिर्साउने गीत गुन्जिन थाल्छ।

आज धेरै लेखिएछ क्यार। बिहारभरको लेखन कार्यलाई एकछिन ओझेल राख्दै मोवाइल चलाउन थाल्छु। मोबाइलमा कसैको घण्टी बज्छ।
“हलो”

“हलो, म सरिता”

“अँ, भन सरिता के छ ?”

“सुभाष, यता आउ न। हेर न कस्तो गर्मी छ बरु यसो घुम्न जाउँ न।”

“घुम्न, तर म त आज अलि व्यस्त छु नि”

“के रे नजाने, ल ठिक छ।”

सरिताले फोन काटिन्।

हेर्नुहोस् न मित्र यो केटीको जातै कस्तो भन्या सानो कुरामा रिसाइहाल्ने। फेरि फकाएपछि मानिहाल्ने। के व्यस्त भन्या थिएँ, रिसाइहालिन्। प्रेममा परेपछि आफ्नो दुःख सुख बिर्सेर प्रेमी वा प्रेमिकाको दुःख-सुखमा साथ दिनुपर्ने। कस्तो क्या। प्रेम गरेपछि पनि छटपटी नगरेपछि पनि छटपटी। सरिता  र म एक अर्कालाई मन पराउन थालेको ठ्याक्कै एक वर्ष भयो। त्यसको पनि रमाइलो कथा छ। कुनै दिन भनौला। हुन्न र?

सरिताले फोन काटेपछि मलाई कताकता छटपटी भयो। हुन त मेरो गल्ती केही थिएन। तर पनि आफूले गल्ती गरेजस्तो भान भो। मोवाइलमा कल रिडायल गरे। मोवाइल स्विच अफ रे। क्या बोर भो भन्या। के गर्ने? सरिता रिसाइन् भने त बर्वादै हुन्छ। ल, मैले जानुपर्छ। लुगा लगाएर बाइक निकालेँ। मध्यान्नको गर्मी खपिनसक्नु थियो।

तारानगरबाट बोराडाँडी व्यारेकनिर मिल्ने सडकमा एउटा साथी भेटियो। २÷४ मिनेटको भलाकुसारीपछि म आफ्नो गन्तव्य तर्फ हुइँकिए। मिठो कल्पनामा रम्दै।
त्यही कल्पना, जहाँ म मेरी सरितासँग थिएँ। प्रकृतिको काखमा एकअर्काको न्यानो अँगालोमा कसिएर जिन्दगीका मिठा सपना बुन्दै हुन्छौं।

पहाडको हरियो फेदीमा खोलाको कलकल आवाजमा बनैया चरीहरुको मिठो संगीतमा म उनलाई सुन्दर भविष्यको आशामा मिठा सपनाहरु देखाइरहेको हुन्छु। जुनीजुनीसम्मलाई सँगसँगै मर्ने, सँगै जिउने कसम खाँदै जिस्किरहेका हुन्छौँ।

भौतिक संसारको बन्धनबाट एकैदिन पनि मुक्त भएर स्वतन्त्रतापूर्वक भावनात्मक अभिव्यक्तिहरु साटासाट गरिरहेका हुन्छौं। धेरैदिन पछि कालो बादल फाटेर मेघ गर्जे झैं सरिताको भावनाको बाँध पनि फुट्छ, जोडले निरन्तर। गुम्सिएका भावनाहरु पोखिन्छन् छताछ्ुल्ल। म सम्हालेर राख्ने प्रयासमा हुन्छु।

तर अपसोच, यो जिन्दगी सोचेजस्तो, रोजेजस्तो कहाँ पो छ र? जिन्दगीको कुन मोडमा कहाँनेर ठेस लाग्ने हो, थाहा पाइन नसकिँदो रहेछ। यो जिन्दगी अनिश्चित छ। यो यात्रा अप्ठ्यारो छ, सोचेभन्दा पनि।

हाम्रो सोच र विचारभन्दा टाढा भइदिन्छ जिन्दगीका खुट्किलाहरु। प्रत्येक पाइला पिच्छे चुनौती र काँडाहरुको खात छ। जति अवसरहरु छन्, त्यति नै चुनौतीहरु पनि। जिन्दगीका प्रत्येक पलपलले महत्व राख्दो रहेछ। एक एक सेकेन्डको महत्व रहेछ, हाम्रो जीवनमा।

त्यो दिन, अहँ म चाहेर पनि बिर्सन सक्दिन। म स्वर्ग पुगेर फर्केको दिन। अझ भनौं नयाँ जिन्दगी ल्याएर वा पाएर आएको दिन। कसरी र्बिन सक्छु, म त्यो क्षण। जतिबेला म स्वर्गका राजा यमराजसँग भेटेर फर्किएँ।

कुनै योजना थिएन, कुनै तयारी थिएन। कुनै गल्ती थिएन तर, अचानक यमदूत आए, लगेर गए सम्मानपूर्वक। मैले अनइच्छा प्रकट गरिन। सहर्ष स्विकार गरेँ, पृथ्वीका दुःखबाट मुक्ति पाउन। तर अपसोच! यमराजको एकैमिनेटको निर्णयले मलाई पुन पृथ्वीमा नै फर्काइयो। किन त? मैले लामो प्रश्न तेर्साएँ। पृथ्वीमा मेरो अझै धेरै कर्तव्य छ।

मैले गर्नुपर्ने कामहरु अझै अधुरै छन्। यो रंगमञ्चरुपी पृथवीमा मेरो भूमिका सिद्धिएको छैन अरे। त्यसैले मलाई स्वर्गलोकबाट फर्काइयो। सजिलै स्विकारेँ यमराजको आग्रहलाई।

सायद मित्रहरु, अचम्म पर्नुभयो होला? गफ दियो भनेर सोच्नुभयो। तर धरोधर्म यही हो यथार्थ। वास्तबमै म पुर्नजिवित मान्छे हुँ। मृत्युलाई बुझेर नयाँ चोला फेरेर आएको प्राणी। तपाईंहरुको माया र मेरो अपूरो कर्तव्यले ल्याएको एक मान्छे।

यस्तै मध्यान्हको सवा बाह्र बजेको हुनुपर्छ। २०६८ बैशाख ७ गतेको दिन। मेरो जिन्दगीकै एक नयाँ मोड। फरक अनुभव। दुःख र सुखको समिश्रण। आँशु र हाँसोको संगम।

सधैँ अरुलाई शिक्षा दिने दिने व्यक्ति न्युन गतिमा मोटरसाइकल हाँकीरहेको थिएँ। अचानक ढल्न पुगेँ। मेनरोडमा पल्टिरहेको हुन्छु। दिमागले काम गर्न छोड्छ। अचेत हुन्छु। एकैछिनको गहिरो निद्राबाट व्युँझन्छु। मध्यान्नको टन्टनापुर गर्मीमा मेनरोडमा पल्टिरहेको पाउँछु। सपनाजस्तै लाग्छ।

आफ्ना कम्पायमान नेत्रलाई चारैतिर घुमाउँछु। मान्छेहरुको भिडमा म एक्लो जिउँदो लाश। मैले सोच्नै सकिन। मौन भएर पल्टिरहेँ। मनले मानिन। उठ्न खोजेँ। तर असमर्थ। फेरि ढलेँ। त्यही भिडबाट दुई जना भलाद्मीले मलाई उठाए। मेरो अघिल्तिर ठूलो ट्रक विराजमान थियो। यो सब के भयो, मैले सोच्नै सकिन। टाउको भारी भयो। छामे, हेलमेट रहेछ। म अनि हेलमेट। कसरी?

ओ माइ गड म त दुर्घटनामा पो परेको रहेछु। मेरो बाइक? नजर चारैतिर दगुराएँ। ट्रकको मुनि कच्याककुचिङ अवस्थामा थियो। डाँको छोडेर रुन मन लाग्यो। तर मान्छेको भिडमा सकिन। यो सब कसरी भयो? सबैजना मुखामुख गरिरहेका थिए।

सबै कौतुहलमा थिए। सबैका नजर म माथि थिए। तर मेरा नजर, त्यो विशाल ट्रक र सानो बाइकमा। आखिर कसरी भयो दुर्घटना? म कसरी बाँचे? अहँ, कसैले पनि लख काट्न सकेनन्। सबै अनुत्तरित थिए।

त्यो भिडमा मेरा कोही थिएनन् तर सबैको म थिएँ। मेरो पछाडिबाट ट्रकले मलाई हानेको रहेछ। म उछिट्टिएर सडकको दाँया साइडतिर परेँ। तर ट्रकले मोटरसाईकलाई कुल्चेर अघि बढ्यो। करिब ४०-५० मिटर अगाडि गएर ट्रक रोकियो। जहाँ सबैका आँखा दौडिए। कसैले पत्पाएनन् म बाँचिरहेछु भनेर।

एकै मिनेटमा मानिसहरुको भिड बढ्यो। सबैका नजर ट्रकमुनि रहेको बाइकमा थिएँ। मान्छे खै त? सबैको विश्वास म जिउँदो छैन  भन्ने थियो। तर कस्तो अचम्म। म यी सारा गतिविधि नियालीरहेको थिएँ।

म जुरुक्क उठेँ। सट र पाइन्ट च्यतिएको थियो। घाउहरुको प्रवाह नै भएन। हेल्मेट फुकालेँ। मोबाइल सकुशल रहेछ। सम्पूर्ण जानकारी आफन्तजनलाई गर्न व्यस्त रहेँ। कस्तो नियति ? ट्रकबाट ड्राइभर ओर्लियो? मेरो हेलमेट समातेर त्यो कुल्चिएको बाईकको लेगगार्डमा झुन्ड्यादियो र चिच्याउन थाल्यो। मैले हेलमेट लगाएको थिएन अरे।

म यो सब चर्तिकला एककुनाबाट नियालीरहेको थिएँ। एक जना बुढा बाको पारो तातेछ क्यारे, “हेलमेट नलगाएपछि यत्रो दुर्घटनामा टाउको फुट्दैन, ए मुर्ख ड्राइभर?” मेरो भलाइका खातिर ती बुढा बा गर्जिए। सलाम छ, ती बुढा बालाई। ड्राइभरको मुखमा बुझो लाग्यो।

आलो घाउ भएर होला शारीरिक दुःखाई केही थिएन। शरीरभरि घाउ लागेको देखिन्थ्यो। लुगाहरु धुजाबुजा भएका थिए। तर पनि कुनै दुःख लाएन। बरु अचम्म लाग्यो। यत्रो ट्रकले हान्दा पनि म कसरी जिउँदो ? प्रायःजसो भएका यस्ता ठूला दुर्घटनामा बाइकवाला बाँचेको उदाहरण कम छन्।

तर म कस्तो भाग्यमानी! चोटपटक लागेपनि ज्यानमा कुनै खास ठूलो धक्का पुगेन। दुःख भित्र पनि खुसी थियो। आँशुभित्र पनि हाँसोे। मानौं म कुनै युद्ध जितेर आएको सिपाही हुँ। शत्रुलाई पराजित गरेर आएको एक विजयी सिपाही हुँ। कुनै पीडाबोध थिएन मभित्र।

बाँच्नुको महत्वले घाउपीडाको चोट छाँयामा परेको थियो। मृत्युको मुखमा पुगेर पनि बाँचेको हर्षको सीमा थिएन। त्यसैले पनि शरीरबाट जति नै रगत वगेपनि पीडाबोध भइरहेको थिएन।

त्यो विशाल भिडबाट कसैले मेरो नाम लिएर पुका¥यो। “भण्डारी सर ल ल नआत्तिनुहोस्, सब ठिक हुन्छ, बरु चाँडो गर्नुहोस् अस्पताल जाऔँ। ” त्यो परिचित आवाज उनै भट्टराई सरको थियो। विनोद भट्टराई ओलानीमा टिचिङ गर्नुहुन्छ। गत चैत्रको एसएलसीको परीक्षामा उहाँ हाम्रो विद्यालयमा सुपरिटेन्ट भएर आउनुभएको थियो।

ठेकराज मा. वि. घोडसुवा परीक्षा केन्द्रमा उहाँसँग १ हप्ता सँगै काम गरेका थियौं। त्यही परिचय, त्यो दिन अकस्मात् काम लाग्यो। म ऋणी छु भट्टराई सरप्रति। त्यो दिन उहाँले आफ्नो बाइकमा राखेर मलाई अस्पालत पुर्‍याउनु भयो।

अब उहाँको त्यो गुनलाई जीवनभर कसरी बिर्सन सकुँला र? तर अपसोच, त्यो दिनबाट उहाँसँग न त भेट भयो, न त फोन सम्पर्क नै। धन्यवाद पनि भन्न नपाउँदै छुट्टिनुभयो त्यो दिन भट्टराई सर। तैपनि उहाँलाई सम्झिरहेछु आजसम्म।

अस्पतालको शैयामा पुगेपछि दुःखाई सुरु भइसकेको थियो। खुट्टा सुन्निसकेको थियो। हिड्न असमर्थ थिएँ अब। आफन्तजन र साथीहरुको भिड लाग्न थालिसकेको थियो। फोनमा घण्टी निरन्तर बजिरहेको थियो। सबै फोन रिसिभ गर्न सकिरा थिइन। घाउहरु सफा गरेर मलम पट्टी गरियो।

चोट लागेको ठाउँहरुको एक्स्रे गर्दा दाँया खुट्टामा क्रयाक  भएको रहेछ। सबैजना आत्तिरहेका थिए। भित्री चोट कहीँ कतै लागेनछ। घुँडा र कुहिनाहरुमा बढी घाउ लागेको थियो। दुःखाई क्रमशः बढ्दै गइरहेको थियो। दुईदिनको सामान्य उपचारपछि दाँया खुट्ट प्लास्टर गरेर घर फर्किएँ।

ती क्षणहरु म कसरी बिर्सन सक्छु र? जतिबेला म अस्पतालको शैयामा मृत्युलाई जितेर नयाँ जिन्दगी लिएर फर्किएको थिएँ। आफन्तजन र साथीहरुको भिडभाडले मलाई एकातिर सन्त्वना र खुसी दिइरहेको थियो भने अर्कातिर कताकता नरमाइलो पनि।

मेरो दुर्घटनाको खबर सुनेलगत्तै आफन्तजन र साथीहरुको भेटघाट बाक्लिँदै गइरहेको थियो। मेरो स्वास्थ्य स्थिति बुझ्न उहाँहरु आतुर हुनुहुन्थ्यो। सबै जना आत्तिएका थिए। तर भगवानको कृपाले त्यस्तो कुनै गम्भिर चोट लाग्न पाएन।

यस अर्थमा आँशुभित्र पनि हाँसो लुकेको थियो। सबैका आँखाका डिलमा आँशु रसाइरहेका थिए। मैले पनि थाम्न सकिन। म रोएँ, खुब रोएँ। अस्पताभित्र एक मिनेट मौनता छायो। त्यो रुवाई हारको नभई जितको थियो।

घरमा पनि मलाई भेटघाट गर्ने आफन्तजन र साथीहरुको भिडभाड थियो। सबै जनाभित्र हाँसो र आँशुको समिश्रण थियो। कलेजका सरहरुदेखि लिएर विद्यालयका शिक्षक स्टाफहरुको घुँइचो थियो। मोबाइलमा फोनकलहरु निरन्तर बजिरहेका हुन्थे। यो सब दृश्यले मलाई झन् दुःखित बनाइरहेको हुन्थ्यो।

करिब तीन घण्टा अगाडि सुनसान थियो यो घर, तर अहिले मान्छेको भिडले भरिएको छ। बिहान खुसी थियो यो घर, तर अहिले म संगै घर पनि रोइरहेछ। मन भित्र नानाथारिका कुराहरु खेल्न थाले। म टोलाइरहेँ। कसैसँग बोल्न मन लागेन। सबैजना मसँग जिस्किरहेको भान हुन्थ्यो। रुँदारुँदा आँखा सुन्निसकेका थिए। मृत्युसँग विजय  हासिल गर्दा हाँस्नुपर्ने म रोइरहेको थिएँ। तर किन ? प्रश्न अनुत्तरित थियो।

साँच्चै जीवन न हावा भरिएको बेलुन रहेछ, जो कुनै बेला पनि फुट्न सक्छ। जीवन हावाको माझमा पिल्सिएको बत्ती रहेछ, जो एक झोक्कामा निभ्न सक्छ। यसको कुनै निश्चितता छैन, अस्तित्व छैन, स्थिरता छैन। भविष्य अनिश्चित छ। तैपनि हामीले त्यही अनिश्चित भविष्यप्रति आशापूर्ण हुँदै सुन्दर सपना र मिठा कल्पना बुनिरहेका हुन्छौ। जीवनको कुन घुम्तीमा कुन घटना घट्ने हो थाहा पाउन नसकिदो रहेछ। सायद थाँहा पाइँदो हो त जीवन यदि दुःखपूर्ण नहुँदो हो। जीवनका प्रत्येक खुड्किलामा एक एक सेकेन्डले ठूलो प्रभाव पार्दो रहेछ।

मैले चिताएको पनि थिइन त्यो दिन त्यसरी दुर्घटनामा परिएला भनेर। अकस्मात्को त्यो घटनाले मलाई जीवनभर चिमोठिरहनेछ। म भगवानप्रति त्यति धेरै विश्वास नगर्ने मान्छे। तर त्यो दिनको घटनाले मलाई भगवानप्रति पूर्ण विश्वास दिलायो। भौतिकताको  आँखामा हेर्दा त्यो घटनाबाट म बाँच्ने सम्भावना क्षिण थियो।

म कसरी बाँचे अहँ कसैले भन्न सक्दैनन्। त्यो घटनाको परिवेश र प्रकृति हेर्दा म बाँचेको भनेर कसैले पत्याउँदैनन्। सबैले भन्छन् भगवानले बचायो अरे। हुन पनि अचम्म लाग्दो दृश्य छ त्यहाँ। त्यत्रो ट्रकले पछाडिबाट ठोक्दा पनि बाइक कच्याककुचिङ हुँदासम्म मलाई साधारण चोटपटक बाहेक खासै गहिरो चोट केही लागेन। त्यसैले पनि भगवानप्रति पूर्ण विश्वास हुने आधार प्रशस्त छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.