राष्ट्रलाई केन्द्रविन्दुमा राखेर सोच्न जरुरी, प्रेसले प्रदूषण सफा गर्नुपर्छ : माधव नेपाल

डिसी नेपाल
१४ भदौ २०८२ १५:२६
20
Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रहितलाई केन्द्रमा राखेर फराकिलो सोचसहित अघि बढ्न सबैलाई आग्रह गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाज, राजनीति र सञ्चारजगतमा फैलिरहेको विकृति–विसंगतिका विरुद्धमा व्यापक सामाजिक रूपान्तरणको अभियान चलाउनुपर्नेमा जोड दिए।

‘सानो चित्त नराखिकन राष्ट्रलाई केन्द्रविन्दुमा राखेर हामी सबैले सोच्न सक्नुपर्दछ,’ उनले भने, ‘यो फराकिलो सोच र मानसिकताको आवश्यकता हो, जसको अहिले अभाव खड्किरहेको छ।’

राजनीतिमा फैलिएको प्रदूषणको सफाइमा प्रेसको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै नेपालले भने, ‘मुल ठाउँबाटै सबै कुरा प्रदूषित भयो भने प्रदूषणको स्थिती बन्ने गर्छ। अरुले प्रदूषण सफा गर्दैमा समय बित्ने स्थिती रहन्छ। यो प्रदूषण सफा गर्ने जिम्मेवारी प्रेस जगतको पनि हो।’

उनले विकृति र विसंगतिका विरुद्ध आवाज उठाउने, जनतामा आत्मविश्वास पैदा गर्ने र निराशा चिर्ने काममा प्रेसले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे। उनले सबै आशावादी पत्रकारिताको पक्षमा रहेको समेत बताए।

यसैगरी उक्त कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष प्रकाश ज्वालाले पनि सहि बाटो रोज्नुपर्नेमा जोड दिए। उनले भने, ‘धेरै मान्छेहरुसँग गलत बाटो हिड्नु भन्दा कहिलेकाँही एक्लै तर सहि बाटो हिड्नुपर्छ।’

राजनीतिक निर्णयप्रति आत्ममूल्यांकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै ज्वालाले सहि दिशा पक्रियौं कि पक्रिएनौं ? लक्ष्य ठिक तय गर्यौं कि गरेनौं भन्ने कुरा मुख्य रुपमा सोच्नुपर्ने बताए।

उनले भने, ‘हामीले सहि निर्णय गर्यौं कि गरेनौं ? सहि बाटो हिड्यौं कि हिडेनौं ? सहि दिशा पक्रियौं कि पक्रिएनौं ? लक्ष्य ठिक तय गर्यौं कि गरेनौं भन्ने कुरा मुख्य रुपमा सोच्नुपर्छ।’

उनले प्रतिगमनका विरुद्ध पार्टीले विद्रोह गरेको दाबी गर्दै भने, ‘हामीले आँट नगरेको भए राष्ट्रको स्थिती अहिलेको अवस्थामा हुन्थ्यो हुँदैनथ्यो ? संसद त मारिएकै थियो, संविधान कुल्चियो, अहिले पनि कुल्चिँदै छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *