राप्रपा मकवानपुर क्षेत्र नं. १ को अध्यक्ष पदका लागि उमेश थापाको दावेदार

डिसी नेपाल
१८ भदौ २०८२ १२:४८
140
Shares

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ को भदौ २१ गते हुने क्षेत्रीय अधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको प्रक्रिया प्रारम्भिक चरणमै चासोको विषय बनेको छ। अधिवेशनमा अध्यक्ष पदका लागि हेटौंडा–४ निवासी उमेश थापा दावेदारका रूपमा अघि आएका छन्।

विगत दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय थापा हाल बागमती प्रदेश सभामुखको स्वकीय सचिवका रूपमा कार्यरत छन्। उनले सामाजिक क्षेत्रमा समेत गतिविधि गर्दै आएका छन्। खेलकुद प्रवद्र्धन, विपन्न समुदायलाई सहयोग र संघ–संस्थामा संलग्नता थापाको पृष्ठभूमिमा रहेको छ।

२०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थापा परिचित राजनीतिक तथा सामाजिक व्यक्तित्वका रूपमा चिनिन्छन्। उनले युवालाई संगठनमा समेटेर राप्रपालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन्।

स्थानीय राजनीतिक वृत्तमा थापाको दाबीबारे चर्चा सुरु भएको छ। अधिवेशनपछि पार्टीभित्र नेतृत्वको स्वरूपबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट राप्रपाका दिपक बहादुर सिंह विजयी भएका थिए। आगामी २०८४ को निर्वाचनमा उमेदवार छनोट प्रक्रियामा समेत थापाको नाम चर्चामा आउन सक्ने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *