नक्कली भुटानी शरणार्थी प्रकरणः मुद्दाको अन्तिम सुनुवाइ न्यायाधीश कार्कीको इजलासमा

डिसी नेपाल
१८ भदौ २०८२ १३:०२
204
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा न्यायाधीश ध्रुवराज कार्कीकाे इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ। सो मुद्दा बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कार्कीको इजलासमा अन्तिम सुनुवाइका लागि पेशी तोकिएको हो।

अदालतले प्रमाण बुझ्ने तथा जाहेरकर्ता र अभियुक्तकातर्फबाट साक्षी बकपत्र गराएपछि मुद्दा दायरको करिब साढे २ वर्षपछि जिल्ला अदालतले सुनुवाइको चरणमा पुगेकाे हाे।

सरकारी साक्षी तथा जाहेरवालाहरूले बकपत्र गर्दा आफूहरुले कसैको पनि नाम नदिएको, बालकृष्ण खाणलाई पैसा नबुझाएको भन्दै पूर्वगृहमन्त्री खाण यो प्रकरणमा संलग्न नभएको बताएका छन्।

अदालत प्रशासनका अनुसार पछिल्लो समय मुद्दालाई साप्ताहिक रूपमा पेसी चढाएर साक्षी बुझ्ने र बकपत्र गराउने काम भएको थियो। अदालतले प्रमाण बुझ्ने तथा जाहेरकर्ता र अभियुक्तका तर्फबाट साक्षी बकपत्र गराएको हो। जिल्ला अदालतका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

पछि केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटे । केही भने जिल्ला र उच्चकै फैसला सदर भएर थुनामा छन्।

१० जेठ २०८० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जना जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्य विरुद्धको अपराधमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएकामा ९ वैशाख २०८१ मा पहिले नै प्रतिवादी बनाइएका केशव दुलालसहित ५ जना र ४ साउन २०८१ मा अर्का सन्दिग्ध पात्र बेचन झाविरुद्ध २९ साउन २०८१ मा पूरक मुद्दा अदालत पुगेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *