कथा : चीउरीबोटमा एक रात
तराईको गर्मी। उफ! नबसी पनि नहुने, बस्न पनि मुस्किल। घरघरमा एसी जोडिदैँ गर्दाका दृश्यले मन अमिलो बनाउँथ्यो। कारण छोरीले निरन्तर एसीको तिब्र माग गरिरहेकी थिइन् केही दिन यता। तर आफूसँग त्यो बखत एसी खरिद गर्न सक्ने आर्थिक स्रोत थिएन। न त उधारै ल्याउन सक्ने आँट थियो।
पंखाको तातो हावा खाँदै फेसबुकका भित्तामा चहार्दै थिएँ। अफिसबाट फोन आयो। डडेल्धुरा जानुपर्ने भयो। बिहानको खाना खाएर बाइकमा डडेल्धुराको लागि रमाना भएँ। भिमदत्त राजमार्गको यात्रा थियो। तराइको गर्मीलाई बिट मार्दै गोदावरीको उकालो चढेँ। चिसो चिसो बतासले बाइकको यात्रा रोमान्चक बनाइरहेको थियो।
धनगढीको गर्मीमा उकुसमुकुस भएको मनुवा पहाडको सिर्सिरे पवनमा रमाउँदै यात्रा गरिरहेको थिएँ। बुढितोला, खानीडाँडा, भासु, सहजपुर हुँदै फल्टुडे पुग्नै लागेको थिएँ। आधा दिन ढल्किसकेको थियो सायद। स्कुले बिद्यार्थीहरु घर फर्किरहेको दृश्यले चार बजिसकेको स्पष्ट संकेत गरिसकेको थियो।
झट्ट याद आयो बिनोद सरको। फल्टुडेको आसपासकै स्कुलमा टिचिङ गर्छु भन्नुहुन्थ्यो। बाइक रोके सडक किनारमै। फोन डायल गरेँ। रिसिभ भो छिट्टै। फल्टुडे पुग्नुभन्दा करिब पाँच छ सय मिटर वर सडक किनारमै रहेको होटेल चिउरीबोट्मा छोटो भेटघाट गर्ने सल्लाह भयो। म अघि बढेँ। नभन्दै एउटा मोड कट्ने बित्तिकै हरियो रङको होटेलमा मेरो नजर अडियो।
सडकलाई साइड लगाएर एउटा चिउरीको बोट उभिएको थियो चौतारी बनाएर। र थियो छेवैमै होटेल चिउरीबोट। बाइक साइड लगाएर पार्किङ गरे।
मन लोभ्याउने सुन्दर बगैँचा। जताततै हरियाली। मन्द मन्द पवनको स्पर्शले चिमोठ्न सुरु गर्छ। शान्त वातावरण। न त गाडिको होहल्ला, न त यात्रुहरुको खचाखच भिडभाड। जस्तो बाहिरतिरको वातावरण छ, तेस्तै सफा छ भित्रतिर पनि।
बाहिर प्लास्टिकका कुर्र्सीहरु लहरै राखिएका थिए। झोला एउटा कुर्सीमा राखेर फ्रेस हुन भित्र वासरुम तिर छिरेँ। सफा थिए। चालिसको पुछारमा जस्ता लाग्ने एकजना दाइ बाथरुम सफा गर्दै थिए। छोटो कद, गहुँगोरो वर्ण। हँसिलो मुहार। छिटोछरिता लाग्ने हातखुट्टा।
बिनोद सर पुगिसक्नुभएको थिएन। एक कप चिया अर्डर गर्न काउन्टर तिर लम्किएँ। कोही देखिन। बोलाएँ। तिनै बाथरुम सफा गर्ने दाइ आइपुगे अर्डर लिन।
बाहिर सडक तिर निस्किएँ। गाडीहरु आफ्नै यात्रामा चलायमान थिए। मोबाइल खोलेँ र वाइफाइ कनेक्ट गरेँ। चिया आयो।
मौसम अलि ठण्डा भैरहेको थियो। चियाको चुस्की लिँदै गर्दा हस्याङ फस्याङ गर्दै मीठो मुस्कानसहित बिनोद सर आइपुग्नुभो। अभिभादन पश्चात् सामान्य गफगाफ भो। एउटा चिया अर्डर ग¥यौं। स्वर्गीय आनन्दको महसुस भैरहेको थियो। हावाको गति अलि बढ्दै थियो। शिरका कपालले नृत्य देखाउन सुरु गरे।
वरिपरीका बृक्षहरु पनि पवनको संगीत सँगैसँगै आफ्नो नृत्य देखाउन प्रतिस्पर्धा गर्दै थिए। केही छिनमै कुहिरो आइपुग्यो हामीलाई स्वागत गर्न। आफ्नै हतारो थियो सायद। हामी शीत नबोली आफ्नै गन्तव्य तिर लम्किरहेको थियो। जाडो महसुस भयो। झोलाबाट जाकेट निकालेर लगाएँ।
पाँच बजिसकेको थियो। बिनोद सरले नास्ता मगाउनुभयो। चिकेन चाउमिन खायौं। मीठो लाग्यो। एक्कैछिनमा झिमझिम वर्षा सुरु भयो। रेनकोट बोकेको थिएन। बिनोद सरले आजको रात होटेल चिउरीबोटमै बिताउन प्रस्ताव राख्नुभयो।
त्यहाँको सुरम्य वातावरण, प्रतिकुल मौसम र बिनोद सरसितको अनुपम भेटले प्रस्ताव अस्वीकार गर्ने मनै लागेन। एउटा कोठा बुक गरेर हामी घुम्न निस्कियौं। पानी पर्न कम भैसकेको थियो। होटेलको सामुन्ने दक्षिण तिरको डाँडामा कंक्रिटको पैदल मार्ग निर्माण गरिएको रहेछ।
तेसैलाई पछ्याएर सिर्सिरे बतास र पातलो कुहिरो सँग लुकामारी खेल्दै डाँडा उक्लियौँ। बिछट्टै आनन्द महसुस भयो। ती सुन्दर पलहरुलाई टिकटक र रिलमा अपलोड गर्न किन पो कन्जुस्याइँ गर्थे र? घित मरुन्जेल फोटो खिच्यौं। डाँडाको टुप्पोबाट बाँजिलेक तिरको दृष्य खुब सुन्दर देखिरहेको थियो। पश्चिम तिर बयला गाउँ थियो सुन्दर।
अँध्यारो हुनै लाग्दा होटेल तिर फर्कियौं। होटेलको लाइटिङले झनै रमाइलो बनाएको थियो। तिहारको आभास दिन्थ्यो। बगैंचाका फूलहरु मस्त थिए। जताततै झिलिमिली। मनमोहक थियो सन्ध्याकालीन दृश्य। सडक किनारैको चिउरीको बोटलाई दुलहीझैं सिँगारिएको थियो। लाग्थ्यो चिउरीको बोट दुलहाको प्रतीक्षामा छ।
सार्वजनिक यातायातका साधनहरु प्रायजसो यहाँ रोकिन्नन्। निजी गाडीहरु यहाँ नरोकीकन अघि बढ्दैनन्। होटेल चिउरीबोटको पारिवारिक वातावरण, स्वादिष्ट खाना र आरामदायी सफा आवासले प्रायजसो निजी गाडी, बाइकका यात्रुहरुको रोजाइमा पर्ने कुरो बिनोद सरले बताउनु भयो। नभन्दै निजी गाडीहरु रोक्किने र जाने क्रम निरन्तर चलिरहन्थ्यो।
पानी पर्न बन्द भइसकेको थियो। मौसम कुल कुल थियो। तराईको उखरमाउलो गर्मीबाट आएको म मनुवालाई स्वर्गानुभूती भइरहेको थियो। खाना तयार भएको संकेत पाएर खाना खान गयौं। लोकल कुखुराको झोल भात अर्डर गरेका रहेछन् बिनोद सरले। स्वादको कुरै नगरौँ। कतिपटक थपे हिसाब गरिन। न त गरे थप्ने दाइले।
अन्तिम पटक हुन सक्छ, जब पेटले अरु थप नलिने संकेत ग¥यो, भात थप्दै गर्ने दाइतिर आँखा जुघ्यो। मुस्कुराइरहनु भएको थियो। बेग्लै सन्तुष्टि रहेको प्रतीत हुन्थ्यो उहाँमा। सम्झिएँ, अघि टेबुल सफा गर्ने, शौचालय सफा गर्ने दाइको अनुहार र उहाँको अनुहार उस्तै पाएँ।
हातको इसाराले नथप्ने संकेत गर्ने बित्तिकै उहाँ अर्को टेबुलमा पुगिसक्नुभएको थियो। टेबुलहरु खचाखच थिए। सबै अतिथिहरु बात मार्दै चिउरीबोटको भोजनमा ब्यस्त थिए। सायद अरु दिन भन्दा धित मरुन्जेल खाइरहेका थिए। थप्नेलाइै भ्याइनभ्याइ थियो। दौडादौड थियो।
खाना खाइसकेर बाहिर तिर निस्क्यौँ। गन्तव्यमा निस्केका गाडीहरु होटेल चिउरीबोटको अगाडि पुग्ने बित्तिकै हाइ हेलो गर्दै अघि बढिरहेका देखिन्थे। बसका सिसाहरुबाट यात्रुहरु पहाडको चिसो बतासको आनन्द लिँदै निद्रादेवीको काखमा लुट्पुटिरहेका दृश्य मधुरो प्रकाशमा देखिन्थ्यो।
सडक किनारैको चिउरीबोटको चौतारीमा बस्तै रात्रिकालीन पवनको स्वाद लिन किन पो कन्जुस्याइँ गर्थे र? एकाध घन्टा चिउरीबोटको चौतारीमा सडकका दृश्यहरु नियाल्दै गफियौं बिनोद सर म। अर्कै ग्रहमा पुगेको आभास हुन्थ्यो। हिजो अस्तिको तराइको खप्नै नसकिने गर्मी, आज चिउरीबोटको शितल छहारी।
बिबिधतायुक्त छ नेपालको भूगोल। एकाध किलोमिटरमा बिबिधता छ हावापानीमा। बिबिधता छ भूगोल र जनजीवनमा। कस्तो मिलेको सुन्दर भूगोल! लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ?’ निबन्धको याद आयो। खुब गफियौँ त्यो साँझ चिउरीबोटमा। पुराना स्मृतिहरु कोट्यायौँ दुबैजनाले। राजनीतिका गफ गर्यौं।
कहिले आफै गफिन्थ्यौँ त कहिले नजिकै बसेका अन्य अतिथिका गफमा झुम्थ्यौँ। दश बजेको पत्तै भएन। तराइबाट गर्मी छल्न भन्दै रात बिताउने गरि आएका पाहुनाको भिडभाड बेग्लै थियो होटेल चिउरीबोटमा। कोही हामीजस्तै चौतारीमा सुस्ताइरहेका थिए त कोही होटेलको छतमा।
कोही संगीतको आनन्द लिरहेका देखिन्थे त कोही चिउरीबोटको मन्द बतासको। सबै आ-आफ्नै दुनियाँमा रमाइरहेको आभास हुन्थ्यो। कोही चुरोटको धुवाँमा रमाइरहेका देखिन्थे त कोही मदिरापानमा। लाग्थ्यो, यहाँ कसैलाई पनि कसैको प्रवाह छैन। सबैको आआफ्नै रमाइलो छ, आ-आफ्नै दुनियाँ छ।
होटेलको पर, बगैंचाका नजिकै, एउटा युगल जोडी आफ्नै प्रेमिल संसारमा रमाइरहेको दृश्यले मन तान्छ। मधुरो प्रकाश, फिक्का छाँया परेको देखिन्थ्यो। दृश्य स्पस्ट त देखिन्थेन। तरपनि घाँटी तानी तानी विभिन्न बहाना गर्दै त्यो जोडीलाई नियालिरहेको हुन्थे म। बिनोद सर जिस्क्याउनु हुन्थ्यो। कहिले एकअर्खाको अँगालोमा प्रेम साट्थे त कहिले प्रेमिल चुम्बन।
बेलुकीले बिट मार्दै रात्रिकालीन प्रहरले आफ्नो प्रभुत्व जमाउँदै हुन्छ। हाम्रा नयनहरु पनि सनै सनै लोलाउन थाल्छन। सायद निद्रादेवीले आमन्त्रण गरिसकेकी हुनुपर्छ। बिनोद सरले शयनकक्षमा जानको लागि संकेत गर्नुहुन्छ। बाहिरको रंगीन दुनियाँलाई छोड्दै हामी आफ्नो कोठातिर अघि बढ्छौँ।
कोठाभित्र पुग्दा बेग्लै स्वर्गीय आनन्दको आभास हुन्छ। न त कृत्रिम एसी छ, न त पंखा नै। तरपनि बेग्लै शितलता अनुभूति हुन्छ। सफा कोठा, सफेद बेडसिटहरु। शान्त र सुरम्य वातावरण। अलग्गै ग्रहमा पुगेको भान हुन्छ।
हिजोको धनगढीको रात र आजको चिउरीबोटको रातलाई तुलना गर्छु। कहाँ तराइको उखरमाउलो गर्मी, चिटचिट पसिना, तातो हावा, गाडीको कोलाहल। कहाँ चिउरीबोटको शान्त र ठण्डा वातावरण। न कुनै होहल्ला छ, न त कुनै कृत्रिम हावा। अलग्गै संसार।
बेडमा पल्टिएका मात्रै के थियौं, निद्रादेवीले आफ्नो जादुमय छटा फिँजाएर हामीलाई आफ्नै दुनियाँमा अपहरण गरेर अलप भइसक्छिन्।
बिहानीको सूर्योदयका पारिला किरणले झ्यालको सिसाबाट हामीलाई जिस्क्याइरहेको हुन्छ। ओहो! कस्तो निद्रा परेको। मोबाइल हेरेँ, सात बजिसकेको हुन्छ। शरीरमा कुनै अलग्गै स्फुर्ती थियो। नयाँ रक्तसञ्चार।
एट्याच बाथरुम थियो, फ्रेस भयौँ। एकछिन् मर्निङ वाकमा निस्किने प्रस्तावलाई बिनोद सरले नकार्ने कुरै भएन। निस्क्यौँ होटेलको सामुन्ने दक्षिण तिरको डाँडामा जहाँ कंक्रिटको पैदल मार्ग निर्माण गरिएको छ। बनैया बोटबृक्षको मन्द मन्द पवन, चराचुरुङ्गीको संगीतमय गुनगुनाहटमा हाम्रा मिठासपूर्ण आत्मिक वार्तालापले छुट्टै स्वाद दिरहेको थियो। सल्ला, बाँज, काफल, साल इत्यादि बोटबृक्षसँग साक्षात्कार गर्दै उकाली ओरालीको पैदल मार्ग छिचोल्दै गडीबजार निस्किन्छौँ।
टिकटकले गुनासो नगरोस् भनेर दुइचार थान टिकटक बनाउन किन पो कन्जुस्याइँ गथ्र्यौं र? न त रिल सक्किने, न त सेल नै। मोबाइलको फोटो ग्यालरीमा एक दर्जन जति फोटोहरु थपिदियौँ फेरि।
गोडाहरु मनभन्दा चन्चल थिए। हामीभन्दा पहिला उनीहरु सडक नाप्न आँतुर देखिन्थे। र फर्कियौँ सडकै सडक होटेल चिउरीबोटतिर।
पसिना ग्रन्थीले आफ्नो भूमिका फेरि सम्जिएछ क्यारे! नुहाउन उत्प्रेरित गरायो। बाथरुम भित्र पसेँ। सावर अन गरेँ। कुनै छहरा भन्दा कम थिएन। अघिल्लो बर्स छतिवन झरनामा नुहाएको स्मरण ताजा गरायो।
बिनोद सरले चिया नास्ता अर्डर गरिसक्नुभएछ। मीठो चिया। जुनस्वाद मैले त्यो चियाको पहिलो चुस्कीमा अनुभव गरेँ, जीवनकै अलौलिक आनन्द महसुस भयो। मेरा यी फितला शब्दहरुमा त्यो आनन्द महसुस झल्काउने भाव व्यक्त हुनसक्ला र?
नास्तामा सादा रोटी र हरियो साग थियो। साथमा थियो दही, टमाटरको अचार र ग्रीन सलाद। कति रोटी थपे, गन्नै बिर्सिए म। न त गन्नुभो थप्न आउने दाइले। पेटले पनि त्यो दिन इन्कार गरेन। अलग्गै सन्तुष्टि मिलिरहेको थियो। छेउमै एकजना दाइ हामीलाई हेरेर मुस्कुराइरहनुभएको थियो। सायद ग्राहकको सन्तुष्टि नै उहाँहरुको सन्तुष्टि सम्झेर होला।
समय घर्किसकेको थियो। भित्तामा झुण्ड्याइएको घडीमा नजर पुगे। छोटो सुइ नौमा पुग्दै हुन्छ भने लामो सुइ एघारमा पुगिसकेको हुन्छ। अब भने हिड्नै पर्ने हुन्थ्यो। बाह्र बजे डडेल्धुरा नपुगी हुन्थेन।
कोठा गएर झोला ल्याएँ। काउन्टरमा गएँ। अचम्म पर्छु। तिनै दाइ, जो काउन्टरदेखि बेडसम्म, शौचालय सरसफाइदेखिा टेबुलमा अडर लिने दिनेसम्म झुल्किरहनुहुन्थ्यो, उहाँलाई नै देखेपछि मनमा खुल्दुली हुन्छ। उहाँको बहुभूमिका र बहुजिम्मेवारी देखेर केही प्रश्नहरु उठ्न जान्छन्।
जहाँ जुन भुमिकामा देखेपनि उत्तिकै निपूर्ण र सकृय हुनुहुन्छ। बिल पेमेन्ट गरेर मनमा लागेका केही जिज्ञासाहरु नमेटाइ रहन सकिन। थोरै कुरो सोधे। हतारमा थिए। फर्किँदा बिस्तृत रुपमा गफिने भन्दै डडेल्धुरातिर लागे।
















Facebook Comment