कविता : के म नेपाली होइन र?

राजेन्द्रप्रसाद अर्याल
४ असोज २०८२ ७:५०
232
Shares

पुर्खाको रगत, पसिनाले रेखांकन गरेको
पहिलो बोली फुटेको
जीवन हुर्केको भूगोल र हावा-पानी
अमिट छाप बनेर रहेको बालापन
सदा दिलमा नाचिरहन्छ
यो जीवनमा प्यारो नेपाल
कहिले पराई हुन्छ र?

फूलवारीको विरूवा उखेलेझैँ
प्रिय माटोको माया र सुगन्ध
हृदयबाट कसरी उखेलिन सक्छ र?
हो, म भएँ परदेशी
तर, त्यो जन्मेको माटो मेरो हुँदैन र?
तिमी नै भन
के म नेपाली होइनँ र?

आमाको फाटेको गुन्यू फेर्न
बाबाको शिरको टोपी सिँगार्न
दशैंमा समेत लालाबालालाई
नाना हाल्न सकिएन

सत्ताको कुकर्मले
टाउको उठाउन र छाक टार्नसमेत नदिएपछि
अन्धो हरिण वैरीबाट बच्न
भिरबाट हामफाले झैँ
जीवन खोज्न
निधारमा नेपाली माटो लेपन गरी
आँखाबाट वर्षे भेल बहाउँदै
हामफालेको हुँ परदेश
मात्र म हैन
जन्मभूमि छाड्न बाध्य असङ्ख्य जनहरू
एयरपोर्टमा दैनिक देख्दा
देश नै विदेसिने त हैन भन्न सकिन्न र?

अर्कोतर्फ,
प्यारीको न्यानो अँगालोबाट हठात छुटाएर
अपमानयुक्त पेसा र पैसाको लागि
शासकहरूले विदेशी बनाई लखटेका देखेनौँ र ?

अपितु मलाई सन्देह नगर
जन्मस्थल प्रेम घाममा बिलाई जाने
फगत बरफजस्तो पनि त होइन
सर्पले काँचुली फेरेझैँ
नेपाल प्रेम र अनुराग पनि फेरिँदैन
म संसारको जुन कुनै भागमा रहे पनि
मेरो अस्तित्वको मुल जरा नेपालमा नै छैन र ?

छातीमा हात राखेर भन त-
के म नेपाली होईनँ र ?

यो पराई भूमिमा
आस्थाको मन्दिर बनेर रहेको छ देश
परदेशीको मुटुमा नेपाली झंकार छ
चहर्‍याएको दिलमा दल्ने
शीतल मलम भएर बसेको छ पितृभूमि
फाटेको हृदय सिलाउने सियो बनेर
रहेको छ जन्मस्थल

एकातिर स्वदेश उन्नति उन्मुख देखिँदैन
अर्कोतिर सुरताल बेगरको गीतजस्तो
अड्मिल्दो जिन्दगी छ परदेशमा
मचक्क उभिन र समस्याको थुप्रोबाट राहत पाउन
बाध्य भएर लिएको हुँ नागरिकताको चिर्कटो
तर त्यो नागरिकताको खोस्टोले
भावनामा रहेको नेपाली प्रेम खोस्न सक्दैन
पकेटमारले चोरेको थैलीजस्तो
चोरीने वस्तु पनि त होईन नेपाली आस्था
नशामा बगेको नेपाली रगत परिवर्तन हुन्छ र ?

मैले टाउकोमा बोकेर हिँडेको
नेपाली संस्कार, संस्कृति र पहिचान
कसरी मेटिन्छ र ?

नियमको दफाले मेरो जिब्रोमा गडेको
नेपाली स्वाद कसरी खोस्न सक्छ र ?
अन्तरहृदयबाट उब्जेको नेपाली मातृ भाषा
हरण गर्न सक्छ र ?

जीवनपर्यन्त मन र मस्तिष्कमा
फनफनि घुमिरहँदैन जन्मस्थल ?
जन्मदिने आमासँगको नाता
कानुनको हरफले पारपाचुके गर्न सक्छ र ?
यसरी-
एक पटकको नेपाली
सँधैको नेपाली हुन्न र ?
तिमी नै भन त-
के म नेपाली होइनँ र ?

गोरखा बजार
हाल: म्याडिसन अमेरिका

 

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.