तिहार लगत्तै आन्दोलन गर्ने घोषणा गरेका दुर्गा प्रसाईं भारतमा
काठमाडौं। तिहार लगत्तै आन्दोलन गर्ने घोषणा गरेको मेडिकल व्यावसायी दुर्गा प्रसाईंले तीन दिन अगाडि भारत पुगेको खुलेको छ। मुलुकमा राजतन्त्र आवश्यक रहेको निष्कर्ष निकाल्दै प्रसाईंले तिहार लगत्तै आन्दोलन गर्ने घोषणा गरिसकेका छन्।
प्रसाईं मंगलबार झापाबाट बागडोरा हुँदै भारत भएका हुन्। प्रसाईं शुक्रबार नेपाल स्वदेश फर्किने बताइएको छ। स्रोतका अनुसार उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। योगीसँगको भेटपछि उत्साहित भएका प्रसाईं बिहीबार नयाँ दिल्ली गएको बताइएको छ। त्यहाँ उनले गृहमन्त्री अमित शाहसँग भेट गर्ने प्रयास गरिरहेका छन्।
नेपालमा जेनजी आन्दोलनपछि प्रसाईंले आफ्नो सक्रियता बढाएका थिए। उनले केही समय अगाडि पत्रकार सम्मेलन गर्दै तिहार लगत्तै आन्दोलन गर्ने चेतावनी दिएका थिए।
प्रसाईंले देशमा देशमा राजा, धर्म र संस्कृति नहुने हो भने त्यो देश दिशाहीन हुने दाबी गर्दै आएका छन्। ‘राजा राष्ट्रको प्रतीक हुन्, धर्म नैतिकताको आधार हो र संस्कृति हाम्रो पहिचान जब यी तत्व हराउँछन्, जनतामा अनुशासन, एकता र सम्मान हराउँछ। जसरी खेतमा धान माड्दा मियो नभए धान खेर जान्छ, त्यसै गरी देशमा राजा, धर्म र संस्कृति नभए समाज बिखण्डित र मूल्यहीन हुन्छ। हाम्रो परम्परा, संस्कार र आस्था नै हाम्रो वास्तविक शक्ति हुन्,’ बिहीबार उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्।
उनी आफ्नो आन्दोलनमा भारतीय समर्थन जुटाउन त्यसतर्फ गएको बताइएको छ।







डिसी नेपाल







Facebook Comment