प्रधानमन्त्री कार्कीलाई तत्काल ‘गेटआउट’ भन्न नागरिक समाजका अगुवा दीक्षितको सुझाव

डिसी नेपाल
२४ असोज २०८२ १४:३१
408
Shares

काठमाडौं। नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनको मुद्दा छाडेको टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब जेन–जीहरुले प्रधानमन्त्री कार्कीलाई तत्काल घेरेर ‘गेटआउट’ भन्न सक्नुपर्ने बताए।

प्रधानमन्त्री कार्की जेन-जीहरुको एजेण्डामा नै नरहेको चुनाव गराउनेतर्फ लागेको उनले बताए। जे्न–जीहरुको मुख्य माग नै शासकीय स्वरुपमा परिवर्तन रहेको भन्दै उनले चुनावभन्दा अरु केही पनि गराउन सक्दिनँ भन्ने प्रधानमन्त्री कार्कीलाई पदमा बसिराख्ने छुट नरहेको बताए। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको नाममा १७ हजार मान्छे मारेर जनतालाई धोका दिएजस्तैगरी जेन–जी आन्दोलनमा पनि धोका भएको उनको टिप्पणी छ।

‘जेन–जीको एजेण्डा चुनावमा जाने त कतै पनि छैन । तर, प्रधानमन्त्रीजीले सोझैं भन्दिनुभयो-मेरो सरकार चुनावी सरकार । अरु केही पनि सक्दिनँ, शासकीय स्वरुप पनि परिवर्तन गर्न सक्दिनँ रे । के खान बनेको त प्रधानमन्त्री ? जेन–जीले त्यो बेलामा उनलाई तत्काल घेरेर ‘प्रधानमन्त्री गेटआउट’ भन्न सक्नुपर्थ्यो । मुद्दा नै सम्बोधन गर्ने, यत्रो आन्दोलन, यतिका मान्छे मरे । फाइदा के भयो त । यो त उही प्रचण्डले १७ हजार मान्छे मारेर आए, हामीलाई फाइदा के भयो त ? यस्तो धोका दिन पाइन्छ ?’ प्रश्न गर्दै उनले भने ।

उनले जेन–जीको आन्दोलनमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई फाइदा भएको बताए । बालेनले समर्थन गरेको मान्छे प्रधानमन्त्री र आफ्नै कानूनी सल्लाहकार मन्त्री बनाएको डा.दीक्षितले बताए । जेन–जी आन्दोलनको कारण देश विध्वंशमा गएको, राजनीतिक अस्तव्यस्त भएको र जनताहरुले केही पनि नपाएको उनले बताए । अहिलेकै अवस्थामा चुनावमा गइयो भनेदेखि यिनै नेताहरु चु्निएर आउने र जेन–जीलगायत सबैलाई खत्तम पार्ने बताए ।

जेन–जी आन्दोलन शुद्धीकरणका लागि भएको भए पनि अन्तिममा गएर सत्ताप्राप्तिमा टुङ्गिएको उनले बताए । नागरिक समाजका अगुवा डा.दीक्षितले प्रधानमन्त्री कार्कीले जेन–जीको मुद्दा खत्तम पारिसकेको बताउँदै अब जेन–जी आन्दोलनको एजेण्डालाई बचाउनका लागि भए पनि ३ वटा मन्त्रालय उनीहरुलाई दिइनुपर्ने बताए । साथै, सेनाले मनोनित गरेको २ जना मान्छेलाई पनि मन्त्री बनाइनुपर्ने उनले बताए । अहिलेको सरकारले शान्ति सुरक्षा दिन नसक्ने उनको दाबी छ । जेन–जीले नै बनाएको सरकारले हिजो माइतीघर मण्डलामा भएको जेन–जीहरुको प्रदर्शनमा धरपटक र पक्राउ गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए ।

संसदीय व्यवस्था पूर्ण रुपमा असफल भइसकेको बताउँदै उनले अब कार्यकारी प्रधानमन्त्रीमा जानुको विकल्प नरहेको बताए । कुनै हालतमा पनि यही संसदीय व्यवस्थामा चुनावमा जान नहुने बताए । अब निर्वाचनमा जाने हो भने कार्यकारी निर्वाचन हुनुपर्ने र संसदीय चुनाव कुनै पनि हालतमा स्वीकार्य नरहेको बताए । ‘कार्यकारी बनाऔं, मन्त्रीहरु बाहिरबाट आउँछन् । सानो संसद् बनाएर अगाडि बढ्ने कोशिस गर्नुपर्यो । यिनीहरुले यो इलेक्सन जिते भनेदेखि सबैभन्दा पहिलो टार्गेट मिडिया नै हुन्छ,’– उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *