भारतसँग भित्री आक्रोश, बाहिर अरुलाई गाली? किन बोल्न सक्दैनन् ओली?

डिसी नेपाल
२५ असोज २०८२ ७:१४
556
Shares

काठमाडौं। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्यूत भइसकेको एक महिनापछि पूर्ववत शैलीमै आक्रोशपूर्ण टिप्पणीसहित प्रकट हुन थालेका छन्। उनको बोलीमा सत्ताच्यूत हुनुको आक्रोश त छ नै पार्टीभित्रैबाट उनको राजीनामा माग्नेहरुप्रति दूराग्रहीभाव पनि प्रष्टै छ।

झण्डै दुई तिहाई जनमतको नेतृत्व गर्दै विगत डेढ बर्षदेखि मुलुकको सत्ता चलाएका निवर्तमान प्रधानमन्त्रीले यसरी अपमानपूर्वक सत्ताबाट हात धुनु पर्छ भन्ने कुरा शायदै सोचेका थिए होला।

चीनमा रातो कार्पेटको भव्य स्वागत पाएर फर्केकै हप्ता उनी दूधमा परेको झिंगो फालिएझैं फुत्त फालिए। चीनबाट फर्किने वित्तिकै भारत पूर्वनिर्धारित उनको भारत भ्रमण अनिश्चितकालका लागि रोकिदियो र जेन-जी युवाहरुको आह्वानमा शुरु भएको सामान्य प्रदर्शन हिंसात्मक बनेपछि उनले सत्ता छाडेर सुरक्षित स्थान खोज्न वाध्य हुनु पर्‍याे। मकवानपुरको चनवन व्यारेकमा लगिएका ओली ९ दिनपछिमात्र सार्वजानिक भएका थिए र गुण्डु भक्तपुरमा डेरा खोजेर बस्न थालेका थिए।

त्यसयता पार्टीका आफ्ना विश्वासपात्रहरुसँग ओलीले आफ्नो नेतृत्वको सरकारलाई भारतीय सत्ताले षड्यन्त्र र अपमानपूर्वक हटाउन खेल खेलेको र नेपालको सार्वभौमसत्ताबारे अडान लिँदा भारतको मोदी सरकार आफूविरुद्ध आक्रामक भएको सुनाउँदै आएका छन्।

जे सुकै भएपनि त्यो नारकीय शैलीको नरसंहार अर्थात् निहत्था युवाहरुमाथि गरेको भदौ २३ को कत्लेआमको जिम्मेवारी जति सुकै भागे पनि ओली र देउवाकै भागमा पर्छ। त्यसबाट भाग्न अब जीवनभर र इतिहासमा पनि उनीहरुले सक्ने छैनन्।

विश्वासपात्रहरुसँगको यो कुरा उनले जनतासमक्ष भने यस्सो कुरो चुहाएको जस्तो गरेर सांकेतिक भाषमा मात्र भन्दै भएका छन्। दुई दिनअघि गुण्डुमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका थिए, हामी जेल भोगेर आएका हौं। हाम्रालागि यो नयाँ कुरा होइन, देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौं, हामीलाई जिस्काइरहनु पर्दैन। हामीले जनताको शासन भनेर ल्याएका हौं, लडेका हौं।’

उनले देशको स्वाभिमानका लागि लड्दा सत्ता गएको तर्क गरेका छन्। तर उनले कसरी लडे, के के गरेका कारण उनको सत्ता गयो? को हो उनले भनेको षड्यन्त्रकारी? भन्नेबारे सार्वजानिकरुपमा केही भनेका छैनन्।

जनताको आँखाले हेर्दा राज्ययन्त्र उनको नियन्त्रणमा थियो। नेपाली सेनाका हालका सेनापति उनले नै नियुक्त गरेका थिए। नेपाल प्रहरीका प्रमुख पनि उनकै नियुक्ति हो। अझ प्रहरी महानिरीक्षक त झन् उनको जन्म जिल्ला तेह्रथुमकै लिम्बू हुन्।

सशस्त्र प्रहरी बलका प्रमुख पनि उनीसँग निकट नै मानिने व्यक्ति थिए भने गुप्तचर विभाग र त्यसका प्रमुखलाई उनी मातहत नै राखिएको थियो। उपत्यका प्रहरी प्रमुखहरु, बृत्त प्रमुखहरु, जिल्ला प्रहरी प्रमुखहरु पनि उनकै सरकारले खटाइएका व्यक्तिहरु थिए।

कुनै पनि कार्यालयको प्रमुख हुन् वा ओलीका सल्लाहकार विष्णु रिमाल कि ओलीका पीए राजेश बज्राचार्यलाई खुसी पार्नै पर्ने भन्ने भाष्य प्रहरी र सशस्त्र प्रहरीमा त गत बर्षदेखि नै बनेकै थियो।

नेपाली कांग्रेसले गृह मन्त्रालयको नेतृत्व पाएको भएकाले खुसी पार्नु पर्ने सूचीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी एवं ओली सरकारकी परराष्ट मन्त्री आरजु देउवा पनि थिइन्।

ओलीका यी दुई भाइ र भाउजू अर्थात आरजु देउवालाई प्रशन्न पारेपछि कहिँको पनि नियुुक्ति, पदस्थापन, सरुवा वा बढुवा रोकिँदैन भन्ने स्पष्ट लाइन बसेको थियो। त्यसैले पैसाको बिटो बोकेर यी तत्वहरुका निकटस्थसम्म पुग्ने प्रहरी एवं कर्मचारीहरुको लर्को लागेको सबैले अनुभव गरेकै विषय हो।

यसको सोझो र स्पष्ट अर्थ हो राज्ययन्त्र ओली र देउवाको नियन्त्रणमा थियो। यति बलियो राज्य यन्त्र हुँदा हुँदै सामान्य प्रदर्शनमा उत्रिएका युवामाथि गोलीका पर्रा छोड्नु पर्ने खण्ड कसरी आइलाग्यो? सत्ताच्यूत भएपछि यसबारे ओलीले स्पष्ट मुख खोलेका छैनन्।

ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले गोली हान्ने आदेश दिएको छैन भन्दै पन्छिदै आएका भने छन्। उनीहरुकै संयन्त्र चल्ने अनि आदेशचाहिँ विदेशीले दियो भन्ने तर्कमा दम छ? गोली प्रहरी, सशस्त्र प्रहरी र कारागारको हकमा सेनाले पनि चलाएको छ।

सोझो र स्पष्ट अर्थ हो राज्ययन्त्र ओली र देउवाको नियन्त्रणमा थियो। यति बलियो राज्य यन्त्र हुँदा हुँदै सामान्य प्रदर्शनमा उत्रिएका युवामाथि गोलीका पर्रा छोड्नु पर्ने खण्ड कसरी आइलाग्यो? सत्ताच्यूत भएपछि यसबारे ओलीले स्पष्ट मुख खोलेका छैनन्।

के निकाय ओली र देउवाको सत्ताको नियन्त्रमा थिएनन्? थिएनन् भने यत्रो समय शासन चलाउँदा नियन्त्रणमा लिने किन प्रयास गरेनन्? प्रधानमन्त्री हुने तर शासन अरुकै नियन्त्रणमा थियो भन्नु ओलीजस्ता नेताका लागि लज्जास्पद कुरा हो।

जनताले दिएको मतको अपमान हो र उनको शासकीय नालायकी हो। ओली र देउवाले बनाएको शासकीय संयन्त्र भारतले कसरी चलाउन सक्छ? के सत्तामा रहँदासम्म भारतीय इच्छा मुताविक नै उनीहरुले संयन्त्र बनाएका थिए?

यी र यस्ता प्रश्नको जवाफ नदिई ओलीले षडयन्त्रको शिकार भएको बन्नु बेकार हो भनेर जनताले बुझ्ने छन्। त्यसैले यी प्रश्नको जवाफ देऊ अनि भने षड्यन्त्र कसकाे हो? एउटा माहानगरको मेयर पदधारी व्यक्ति आर्थात् वालेन साहजस्तो कलिलो राजनीतिकर्मीले सत्ता पल्टाउने र ओलीजस्तो घाघडान राजनीतिकर्मीलाई घँडा टेकाउन सक्ला?

विगतका आन्दोलनहरुमा देखाएको भूमिका हेर्दा नेपाल प्रहरी अहिलेको जस्तो भीडलाई नियन्त्रण गर्नै नसक्ने स्तरको निकम्म भइसकेको संस्था होइन। यसपटक ओलीका सबै सुरक्षा निकाय, तिनका सुरक्षा विश्लेषणले सहजै हावा खाएको तथ्य त सत्ताच्यूत भएपछि ओलीले महसुस गरेकै होलान्।

जे सुकै भएपनि त्यो नारकीय शैलीको नरसंहार अर्थात् निहत्था युवाहरुमाथि गरेको भदौ २३ को कत्लेआमको जिम्मेवारी जति सुकै भागे पनि ओली र देउवाकै भागमा पर्छ। त्यसबाट भाग्न अब जीवनभर र इतिहासमा पनि उनीहरुले सक्ने छैनन्। त्यसैगरी ओलीले भन्दै आएको षड्यन्त्र बाहना होइन भने त्यो के हो? जनतलाई भन्ने पर्ने दायित्व पनि उनकै हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *