परिणाममुखी योजना बनाऔं : मुख्यमन्त्री कँडेल
सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले परिणाममुखि योजना बनाउने र कार्यान्वयन गर्न सकेमात्र कर्णाली सरकारले लिएको समृद्ध कर्णालीको लक्ष्य हाँसिल गर्न सकिने बताएका छन्। प्रदेश समन्वय परिषद्को सचिवालय बैठकमा मुख्यमन्त्री कँडेलले दिगो विकास र आत्मनिर्भर नागरिक बनाउन कार्यान्वयनमुखी योजना आवश्यक रहेको बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा प्रतिफल दिने र कार्यान्वयनमा लैजान सकिने योजनाहरू छनौट गर्न निर्देशन दिए।
‘प्रदेश र स्थानीय तहलाई क्रमशः आत्मनिर्भर बनाउने बिकासका सम्भावनाहरुलाई प्राथमिकतामा राखेर अगाडि बढौं,’ उनले भने, ‘परम्परागत सोच र संरचनाबाट कर्णालीको विकास सम्भव छैन।’
कर्णालीमा आम्दानी स्रोत पहिचान गरी उपलब्ध स्रोतहरूको प्रभावकारी उपयोग गर्नुपर्ने उनको भनाई छ। संविधानले दिएको अधिकार र जिम्मेवारीअनुसार प्रदेश तथा स्थानीय तहले समन्वयमा काम गर्दै आर्थिक आधार बलियो बनाउन सकिने उनले बताए।
‘कृषि, पर्यटन, जलस्रोत, उद्योग र सेवा क्षेत्रलाई आयआर्जनको मुख्य आधारका रूपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव भएकोले साझा योजना निर्माण गर्दै कार्यान्वयनमा लैजानुपर्छ।’
प्रदेशको समग्र विकासका लागि वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुदृढ हुन नसकेको मुख्यमन्त्रीको स्वीकारोक्ति छ। ‘संघीयता कार्यान्वयनको मूल मर्मअनुसार तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वय आवश्यक रहेको छ,’ उनले भने, ‘यसले दिगो र प्रभावकारी विकास, पारदर्शिता, सुशासन र नागरिकलाई सेवा लगायतका बिषयहरुमा प्रभावकारी योजना बनाउन सकिन्छ।’
प्रदेश परिषद् बैठकमा दसौं बैठकका निर्णयहरूको पुनरावलोकन तथा समीक्षा, स्थानीय तहका कर्मचारीहरूको विवरण र कार्यसम्पादन, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना तथा साझा अधिकारका विषयमा समन्वय र अन्तरसम्बन्ध कायम गर्ने विषयमा छलफल भएको थियो। स्थानीय तहले प्रदेशलाई पठाउने राजस्व व्यवस्थापन, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा, प्रदेश र स्थानीय तहबीच समन्वय थप प्रभावकारी बनाउने उपायहरुबारे छलफल भएको छ।
बेरुजु फछ्र्यौट सम्बन्धी क्षमता विकास, स्थानीय तहले बनाएको कानूनको प्रदेशमा अभिलेखीकरण, कानून निर्माण प्रक्रिया तथा अन्य विविध विषयहरूमा समेत बैठकमा छलफल भएको थियो।







डिसी नेपाल







Facebook Comment