सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण
सल्यान। सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ। दार्मा, कुमाख र कालीमाटी गाउँपालिका तथा बागचौर नगरपालिकाका स्वास्थ्य शाखाले असोज ७, ८ र ९ गते सञ्चालन गरेको स्क्रबटाइफस स्वास्थ्य खोजपड्तालसम्बन्धीको शिविरमा ८८ जनामा सङ्क्रमण देखिएको हो।
तीन स्थानीय तहमध्ये दार्मा गाउँपालिकामा सबैभन्दा बढी ५४ जनामा उक्त रोगको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले जानकारी दिए।
उनले भने, “दार्मा गाउँपालिका–१ मा १६० जनाको जाँच गर्दा ३७ र वडा नं ५ मा १८१ जनाको स्वास्थ्य परीक्षण गर्दा १७ जनमा सङ्क्रमण भेटिएको छ। कुमाख गाउँपालिका–४ मा सात जनाको परीक्षणमा एक पुरुष, वडा नं ६ मा ५३ मध्ये छ र वडा ७ मा ३८ जनाको परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखियो।”
जनस्वास्थ्य अधिकृत रिजालका अनुसार कालीमाटी गाउँपालिका–४ धुरचौरमा २१ जनाको स्वास्थ्य परीक्षण गर्दा एक महिला र एक पुरुषमा स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएको पाइएको छ। बागचौर नगरपालिका–४ मा १११ जनाको जाँच गर्दा १० जना महिला सङ्क्रमित भेटिएका जनस्वास्थ्य अधिकृत रिजालले जानकारी दिए।
रोग फैलिँदै गएको र त्यसमा सङ्क्रमणको अवस्था भयावह बन्दै गएपछि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले यसअघि करिब ८०० थान कीटसहित आवश्यक औषधि पठाइसकेको उक्त निर्देशनालयका निर्देशक डा रविन खड्काले जानकारी दिए। उनका अनुसार आज प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट थप ४५० कीट स्वास्थ्य परीक्षणका लागि पठाइएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment