भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर ऋचा: लोकसेवामा नाम निस्कियो, तर फर्किनन् घर

डिसी नेपाल
९ असोज २०८३ २०:३६

विराटनगर। लोकसेवा आयोगको लिखित परीक्षामा नाम निस्कँदा जोकोहीको परिवारमा खुसीयाली छाउँछ। तर विराटनगर महानगरपालिका–३ की २४ वर्षीया ऋचा निरौलाको परिवारका लागि भने बिहीबार सार्वजनिक लोकसेवाको नतिजाले खुसीभन्दा बढी गहिरो पीडा थपिदिएको छ। कारण, ऋचा पछिल्लो ३० दिनदेखि सम्पर्कविहीन छिन्।

अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत ऋचा गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर बेपत्ता भएकी हुन्। ६ महिनाअघि मात्रै इन्जिनियरिङ सेवाका लागि रसुवा पुगेकी उनले पहिलोपटक लोकसेवाको परीक्षा दिएकी थिइन्।

लोकसेवा आयोगले बिहीबार सार्वजनिक गरेको सब-इन्जिनियर पदको लिखित परीक्षाको नतिजामा ऋचा १२ औँ क्रमसङ्ख्यामा सफल भएकी छन्। उनले गत असार ६ गते उक्त परीक्षा दिएकी थिइन्।

छोरीले पहिलो प्रयासमै लोकसेवामा सफलता हात पारेको खबर सुन्दा पनि बुबा लीलाप्रसाद निरौलासहित सिङ्गो परिवार छोरीको बेपत्ताको शोकमा डुबेको छ। लीलाप्रसादका तीन सन्तानमध्ये ऋचा कान्छी हुन्।

प्रहरीका अनुसार बेपत्ता हुनुअघि ऋचाको मोबाइल लोकेसन रसुवाको उत्तरगया गाउँपालिका–१ स्थित तिरु आधारभूत विद्यालय आसपाससम्म देखिएको थियो, त्यसपछि उनको फोन निरन्तर स्विच अफ छ। छोरीको कुनै अत्तोपत्तो नहुँदा पनि परिवारजन भने कुनै चमत्कार भएर ऋचा सकुशल फर्किने आशामा प्रतीक्षारत छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *