मनोहरा खोलामा बाढी : बोडे–मूलपानी जोड्ने पुल जोखिममा

डिसी नेपाल
९ असोज २०८३ २१:२१

भक्तपुर । निरन्तरको वर्षासँगै मनोहरा खोलामा आएको भीषण बाढीका कारण मध्यपुर थिमीको बोडे र काठमाडौंको मूलपानी जोड्ने पुलनजिकैको जमिन तथा सडक कटान भई भासिएको छ। पुल नै जोखिममा परेपछि सुरक्षाका कारण उक्त सडकखण्डमा सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार बाढीले पुलसँगै जोडिएको सडक कटान गरेपछि दुर्घटनाको जोखिम बढेकाले सवारी आवागमन ठप्प पारिएको हो।

लगातारको वर्षाले भक्तपुरका खोला तथा नदीमा पानीको बहाव खतरनाक मोडमा पुगेपछि प्रमुख जिल्ला अधिकारी खड्का र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्कासहितको टोलीले मनोहरा तथा हनुमन्ते खोलालगायत बाढीप्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ।

अविरल वर्षाका कारण हनुमन्ते, खस्याङखुसुङ र गोदावरी खोलामा समेत पानीको सतह अनियन्त्रित रूपमा बढेको छ। डेकोचा र पिखेल हुँदै चाँगुनारायणतर्फ जाने सडकमा खोला सोझिएर बग्न थालेपछि सो क्षेत्रमा पनि यातायात सञ्चालनमा सास्ती भएको छ।

यसैगरी बालकोट, कौशलटार, लोकन्थली र सागबारी क्षेत्रमा हनुमन्ते खोलाको पानी पसेर किनारका अस्थायी टहराहरू डुबानमा परेका छन्। जोखिममा परेका बासिन्दालाई प्रहरी टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार विस्थापितहरूलाई कौशलटारस्थित आदर्श जनप्रेमी स्कुलमा आश्रय दिइएको छ।

बालकोट र लोकन्थलीको सीमामा पर्ने सागबारी क्षेत्रमा हनुमन्ते, मनोहरा र गोदावरी गरी तीनवटा खोला एकै ठाउँमा मिसिने भएकाले वर्षायाममा यो क्षेत्र बर्सेनि डुबान र बाढीको उच्च जोखिममा पर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *