प्रधानमन्त्री बालेनको राष्ट्रसंघीय सम्बोधनमा ‘जेनजी’ को साथ-कुरा राम्रो भयो, अब नतिजा देखाउने काम सुरु भयो
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको प्रभावकारी सम्बोधनप्रति ‘जेनजी’ नेतृत्व तहका युवाहरूले उत्साहजनक र सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
युवा अभियन्ताहरूले नेपालको राष्ट्रिय हित, जलवायु न्याय, प्राकृतिक विपद् तथा विश्वव्यापी शासन प्रणालीमा विद्यमान विरोधाभास र दोहोरो मापदण्डलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट र निर्भीकताका साथ उठाइएको भन्दै प्रधानमन्त्रीको सराहना गरेका छन्।
साथै, उनीहरूले अब ती प्रतिबद्धता र अडानहरूलाई केवल भाषणमा सीमित नराखी ठोस कार्य र परिणाममा रूपान्तरण गर्नुपर्ने जोडदार मागसमेत गरेका छन्।
जेनजी नेता रवि किरण हमालले प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको उच्च मञ्चमा उठाउनुपर्ने अति महत्त्वपूर्ण विषयवस्तुहरू सम्बोधनमा समेटिएको भन्दै बालेन्द्र शाहलाई धन्यवाद दिएका छन्।
“विश्वको सबैभन्दा कान्छो सरकार प्रमुखका रूपमा नेपालको प्रतिनिधित्व गर्नु देशका सम्पूर्ण युवाहरूका लागि अत्यन्तै सुखद, गर्विलो र आनन्ददायक विषय हो,” हमालले भनेका छन्।
हमालले नेपालले विश्वमञ्चमा उठाएका गम्भीर मुद्दाहरूलाई अब प्रभावकारी कूटनीति, व्यापक संस्थागत सुधार, आर्थिक विकास र राष्ट्रिय क्षमता अभिवृद्धिमा रूपान्तरण गर्नुपर्नेमा विशेष जोड दिए।
“कुरा राखियो, वक्तव्य सकियो भन्दैमा जिम्मेवारी पूरा हुँदैन। अब बल्ल वास्तविक कामको सुरुआत भएको छ। यो त केवल सुरुवात मात्रै हो, हामी अब ठोस परिणामको पर्खाइमा छौँ,” उनले थपे।
त्यस्तै, अर्का जेनजी नेता मिराज ढुङ्गानाले प्रधानमन्त्रीले विदेशमा गएर देशको प्रतिनिधित्व गर्दा आफूहरूको पूर्ण समर्थन र हृदयदेखि नै शुभकामना रहने बताएका छन्।
उनले भाषणको बाहिरी शैली वा हाउभाउभन्दा पनि त्यसमा उठाइएका गम्भीर विषयवस्तुहरू महत्त्वपूर्ण रहेको उल्लेख गरे। ढुङ्गानाका अनुसार प्रधानमन्त्रीले हालै नेपालमा परेको बाढी-पहिरोजस्ता विपद्को मर्म र देशको वर्तमान यथार्थलाई गहिराइ र संवेदनशीलताका साथ अन्तर्राष्ट्रिय समुदायसामु प्रस्तुत गरेका छन्।
“आफ्नो घरभित्र हामी सरकारका कामकारबाहीको समीक्षा गरौँला, कडा आलोचना गरौँला र प्रश्न पनि गरौँला, तर ती सबै कुरा घरभित्रै सीमित रहन्छन्। जब हाम्रो देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चमा जानुहुन्छ, तब हाम्रो हृदयदेखि नै सधैँ शुभकामना रहन्छ,” ढुङ्गानाले भने।
यसैगरी, जेनजी नेतृ तनुजा पाण्डेले प्रधानमन्त्री शाहले राष्ट्रिय हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राख्दै नेपालको वास्तविक भावना, पीडा र आवाजलाई विश्वमञ्चमा जोडदार रूपमा प्रस्तुत गरेको बताइन्।
उनले जलवायु न्यायको साझा यात्रालाई निष्कर्षमा पुर्याउन निरन्तर अन्तर्राष्ट्रिय संवाद र दबाब आवश्यक रहेको उल्लेख गर्दै नेपालले आफ्ना आन्तरिक नीति, योजना र कार्यान्वयन तहलाई समेत सोहीअनुरूप सशक्त र व्यवस्थित बनाउनुपर्नेमा जोड दिइन्।
यसैबीच, अर्का जेनजी नेता माजिद अन्सारीले प्रधानमन्त्री शाहको सम्बोधन अत्यन्तै स्पष्ट, संयमित, परिपक्व र सन्तुलित रहेको टिप्पणी गरेका छन्। उनका अनुसार प्रधानमन्त्रीले विश्वव्यापी शासन प्रणालीमा रहेका विभेद र विरोधाभासलाई निकै विनम्र तर सूक्ष्म ढंगले उजागर गरेका थिए।
विशेष गरी जलवायु सुरक्षाको विषयलाई बेवास्ता गरेर गरिने विश्वव्यापी सुरक्षाका ठूला दाबीहरूमा निहित दोहोरोपनलाई प्रधानमन्त्रीले अत्यन्तै प्रभावकारी ढङ्गले मञ्चसामु ल्याएको उनको भनाइ छ।
“जलवायु सुरक्षाको विषयमा गम्भीर छलफल नै नगरी गरिने विश्वव्यापी सुरक्षाका दाबीहरूमा कति ठूलो दोहोरोपन छ भन्ने कुरालाई प्रधानमन्त्रीज्यूले मिठो र तिखो शैलीमा उदाङ्गो पार्नुभयो। उत्कृष्ट कार्य, सम्माननीय प्रधानमन्त्रीज्यू,” अन्सारीले भनेका छन्।
समग्रमा, जेनजी नेताहरूले प्रधानमन्त्रीको यस अन्तर्राष्ट्रिय सम्बोधनलाई सकारात्मक रूपमा लिँदै अब राष्ट्रसंघमा उठाइएका विषयहरूलाई कूटनीतिक पहल, राष्ट्रिय नीति निर्माण, संस्थागत सुधार परिणाममा रूपान्तरण गर्न सरकारसँग माग गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment