लघुकथा : शक्ति

भूमिका गैरे तिमिल्सिना
१ कार्तिक २०८२ ७:५२
32
Shares

अराजकता मौलायो।

देवताहरूमा खैलाबैला मच्चियो। उनीहरूको दौनिकी खल्बलियो। यज्ञ हवन सफल हुन सकेन। नत राक्षसहरूको प्रतिकार गर्न सके, नत रोक्न नै! चारैतिर सन्नाटा छायो।

राक्षसहरू आँफूलाई सर्वशक्तिमान सावित गर्न कुनै कसर छोडेनन्। दु:ख दिने, खल्बल्याउने, दबाउने जस्ता कार्यले उनीहरूलाई प्रशन्नता दिलायो।

उनीहरूको मनोबल दिनप्रतिदिन बढेकाले देवगण चिन्तित बने र एकैठाउँमा भेला भए। एउटाले भने, ” अब हामी सृष्टिकर्ता ब्रह्मा कहाँ जाऊ, किन विध्वंस मच्चियो? प्रश्न गरौं, उपाय खोजौं।”

सबै उपस्थित भए, ब्रह्माले भने, ” म त सृष्टि मात्र गर्ने हो, पालनकर्ता विष्णु भगवान कहाँ जाँऊ? बरू म पनिसँगै जान्छु भनी त्यतै लागे।

विष्णु भगवानसँग बिन्ति बिसाए, ” है प्रभु ! हाम्रो समस्याको निराकरण गर्नुहोस् ।” भगवान मुसुमुसु हाँस्दै, ” यस्को निराकरणको उपाय केवल संहारकर्ता महेश्वरसँग छ।” म पनिसँगै जान्छु भन्दै सबै त्यतैतिर लागे।

महेश्वरसँग निवेदन गरे, उनले भने, “शक्तिबिना शिव अपुरो छ, तसर्थ कालीद्वारा दुष्टताको विनाश सम्भव छ ।” उनको संहारपछि देवगणले विजयउत्सव मनाए, विजयादशमी!

देवताले मनन गरे, “असत्यको अन्त्य स्त्रीबाटै सम्भव हुनेछ, चाहे सीता हरण होस्, द्रोपदीको वस्त्र हरण, दानवी प्रवृत्ति या बेथिति!

लघुकथा : वर्षा

लौ, आरी घोप्टे वर्षा सुरू भएछ।
मौसमविद्हरूले जोखिमको पूर्वानुमान लगाए र सबैलाई सुरक्षित रहन भने।

सुरक्षाकर्मीले माइकिङ गरे र उच्च सतर्कता अपनाउँन आह्वान गरे। वर्षा सुरू भए लगत्तै कहाँ-कहाँ, के-के हुने हो, भन्ने सबैमा कुतुहलता थियो ? एकाएक प्रकृतिको वितण्डा मच्चियो।

प्रकृतिले धनी, गरिब, मैहुम भन्नेलाई पनि छाडेन। घर, गाडी, समान लगायत मानवीय एवम् भौतिक क्षति अगाध भयो । कतै नदीको बहावसँगै तैरिएको देखियो त कतै पहिरोले पुरेका खबर सुनियो ? पत्रकार समाचार सम्प्रेषणमा व्यस्त देखिन्थे। सबै नियाली रहेका प्रत्यक्षदर्शीबाट आवाज सुनियो । पहिलोले चर्किएर बोल्यो, ” एकपछि अर्को के को विध्वंस हो ? के हुन लागेको हो, नेपालाआ ?”

अर्कोले, “प्रकृतिसँग त कस्को के लाग्छ र ? यो प्रकोपले कति छारस्ट गर्ने हो, पत्तो छैन ? मानवीय क्षति कम गर्न आफैं सुरक्षित रहनु नै हितकर हुनेछ।” उसले नम्र भावमा भन्यो।

पहिलोले, ” पहिलाको घाउ ओभानो भएको छैन, दसैंको समय, बाढी, पहिरोले बाटो अवरुद्ध छ। कस्को कुदृष्टि लागेछ क्यार ।” विरक्तिएको स्वरमा उसले फेरि थप्यो ।

दोस्रोले सहानुभूति देखाउँदै, “दशा बाजा बजाएर आउँदैन भन्थे, हो रहेछ । सायद ! सहनशीलताको परीक्षा लिएका छन् भगवानले पनि ।” उनले लामो सुस्केरा तान्दै भन्यो

दुबैका कुरा सुनिरहेको तेस्रोले आशावादी स्वरमा भन्यो, ” दु:खमा नआत्तिनु सुखमा नमात्तिनु भन्थे बुढापाकाले, एकदिन कसो काँचुली नफेर्ला त देशले ?”

लघुकथा : बिजुली

उफ ! गर्मीले बसिखानु भएन।

“औधी चलाख छिन्। तल्लाघरे बिजुली नानी कतिखेर आउँछिन्, कतिखेर जान्छिन, केही अत्तोपत्तो हुँदैन ? मिलिक्क- मिलिक्क !” समूहका बीचबाट आवाज आयो।
“काम परेर होला नि हिडेको, कति कुरा गर्छौ अर्काको, भो छोड ?” एक बृद्ध आमाले चुप गराइन्।

अर्कीले, “ती बिजुली नानी निकै महँगी भइछन् रेन्त! बोलीचाली पनि खासै छैन, व्यस्त पनि के साह्रो हो त्यस्तो ?” बृद्ध आमाको मुखमा पुलुक्क हेर्दै उनले थपिन्।

एक्कासी ! के छ, दिदीबहिनीहरू भन्दै बिजुली आइपुगिन्? सबैले पर्ल्याकपुर्लुक हेरे, बृद्ध आमा हाँस्दै, ” आयु त लामो छ केटीको मर्दिनस् चाँडै भन्दै छेड हानिन्।”

समूहले दशैंको अवसरमा सरसफाइ कार्यक्रम राखेको थियो। पहिला आ-आफ्नो घर, वरिपरि बाटो हुँदै नजिकैको मन्दिरसम्म सफा गरी कार्यक्रम समापन गर्ने निर्णय गर्यो । उपस्थित सबैले सहमति जनाए।

सबै खटिए। निर्धारित समयमै काम सकियो। सबै आ-आफ्नै धुनमा थिए। कोही टिकटक बनाउँदै थिए त कोही फोटा र भिडिया क्यामरामा कैद गर्नमा व्यस्त देखिन्थे।

बबिताले सोधी, ” खोई त बिजुली नानी !” बृद्ध आमाले थपिन्, ” अहिलेसम्म बस्छिन् तिम्री बिजुली, अगेर मिल्किसकिन् ।”

अर्कीले व्यङ्ग्य कसेर भनिन्, “सालोले नियुक्ति पाएँदेखि छिन- छिनमा बिजुली गायब भएर हैरान भएको छ, यिनी फेरि कता…. ?”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.