हिलदेवीका ९० परिवार पहिरोको उच्च जोखिममा

डिसी नेपाल
३१ असोज २०८२ ११:४८
16
Shares

रामेछाप। रामेछापको सुनापति गाउँपालिका-३ हिलदेवीका ७७ घर परिवार पहिरोको उच्च जोखिममा परेका छन्। सो वडाका चार टोलका बासिन्दा पहिरोको उच्च जोखिममा परेका हुन्।

गत असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण बस्तीको मुनिबाट जमिन बग्न लागेपछि ती बस्ती जोखिममा परेका हुन्।

गाउँपालिका उपाध्यक्ष गीता विष्टका अनुसार हिलेदेवीको केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका ७७ परिवार पहिरोको जोखिममा परेका छन्।

निरन्तर खसिरहेको पहिरोका कारण कतिपय घर भत्किसकेका छन् भने धेरै घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन्। बस्तीको जमिन दिनदिनै तलतिर सर्दै जाँदा स्थानीयका घर चर्कने र भत्कने क्रम सुरु भएको छ।

घरहरू खानीखोलातर्फ बग्दै गएपछि गाउँपालिकाले पनि जोखिममा रहेका परिवारलाई राति बस्तीमा नबस्न आग्रह गरेको छ। तर वैकल्पिक बसोबासको व्यवस्था नहुँदा धेरै परिवार अझै जोखिममै बस्न बाध्य छन्।

सुनापति गाउँपालिका-३ साउनेका स्थानीय राम श्रेष्ठका अनुसार खानी खोलाबाट सुरु भएको पहिरो अहिले सुनापति डाँडासम्म फैलिँदै गएको छ।

‘यो ठाउँ पहिले पनि पहिरो चलेको थियो, यस वर्षको पहिरोले जमिन कमजोर बनायो, वर्षाले जताततै पानीका मूल फुटेका छन्, जसका कारण जमिन बिस्तारै बग्न थालेको छ , जमिन बग्न थालेपछि गाउँका घर चर्किन र भत्कन लागेका छन्’, उनले भने।

सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्टका अनुसार जोखिममा परेका बासिन्दालाई तत्काल राहत र अस्थायी पुनर्वासको व्यवस्था मिलाउन पहल सुरु गरिएको छ। ‘हामीले जोखिम क्षेत्रका परिवारहरूलाई सुरक्षित ठाउँमा सार्ने प्रक्रिया अघि बढाएका छौँ’, उनले भनिन्।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठका अनुसार वडा अध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा समिति गठन गरी जोखिमग्रस्त परिवारहरूको सूची तयार गरिएको छ। अब ती परिवारलाई राहत र बसाइसराइ दुवै व्यवस्था गर्न पालिका लागेको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *