अठार दिनपछि सञ्चालनमा आयो कृष्णभिरको सडक: नयाँ ट्र्याकबाट दुईतर्फी यातायात सुरु
चितवन। बाढीका कारण अठार दिनदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा नयाँ ट्र्याक निर्माण गरी आज बिहानदेखि दुईतर्फी यातायात सेवा पुनः सञ्चालनमा आएको छ।
गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग बगाएपछि करिब १०० मिटर सडक पूरै भासिएर यातायात पूर्ण रूपमा ठप्प बनेको थियो। सडक अवरुद्ध भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक खोल्ने काम सुरु गरिएको थियो।
पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी बुधबार साँझसम्म काम सम्पन्न गरेपछि आजदेखि गाडीहरू नियमित सञ्चालनमा ल्याइएको नागढुंगा-मुग्लिन सडक योजना (पश्चिम खण्ड) का इन्जिनियर धीरज ढकालले जानकारी दिए।
कृष्णभिरमा सडक खुलेसँगै नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा सवारी रोक्ने काम तत्कालका लागि स्थगित गरिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार दुवैतर्फ रोकिएका सवारीसाधनलाई सहज रूपमा गन्तव्यतर्फ पठाउन यो निर्णय गरिएको हो।
दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने पृथ्वी राजमार्ग लामो समयसम्म ठप्प हुँदा ठूला सवारीसाधन सञ्चालन हुन नसक्दा संघीय राजधानी काठमाडौंमा एलपी ग्याससहितका अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको थियो। सडक सञ्चालनमा आएपछि यात्रु तथा मालवाहक सवारीलाई ठूलो राहत मिलेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment